काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन हुनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएको छ ।
ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले ओलीलाई हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको हो । प्रतिनिधि सभा विघटन भएपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले त्यसलगत्तै पनि ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो । त्यतिबेला सो पक्षले ओलीलाई हटाएर उनको ठाउँमा प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको थियो ।
सो समूहका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठकमा बहुमत सदस्यहरु उपस्थित थिए । बैठकमा १११ जना सांसदले हस्ताक्षर गरेका र चार जनाले हस्ताक्षर गर्ने प्रतिवद्धता व्यक्र गरेका नेकपाले जनाएको छ । बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदहरुको उपस्थिति रहेको थियो ।