पुस २१, काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया सम्पन्न गरी पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।
ती दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्जर प्रक्रियामा जाने प्रारम्भिक सम्झौता भएको थियो । घोडीघोडा लघुवित्तका १०० कित्ता शेयर बराबर युनिक लघुवित्तको ५० कित्ता शेयर शेयर आदान प्रदान गर्ने सहमति अनुसार ती दुई कम्पनी मर्र्जरमा गएका हुन् ।
घोडीघोडा लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा शेयर जारी गरेको छैन । मर्जर सम्झौता भएसँगै घोडीघोडा लघुवित्तको शेयर कारोबार २०७७ साल कात्तिक २३ गतेदेखि नेप्सेमा रोक्का रहेको छ ।
घोडीघोडा लघुवित्तको असोज १६ गते र युनिक नेपाल लघुवित्तको असोज ८ गते सम्पन विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकबाट असोज २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्राप्त गरेका कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस २० गते स्वीकृति पाएसँगै ती कम्पनीहरुले एकीकृत कारोबारको मिति तय गरेका हुन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने छ । मर्जर पश्चात बन्ने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय साविककै कोहलपुर नगरपालिका ११ न्यूरोड, बाँकेमा नै रहनेछ । एकीकृत कारोबार शुरु हुने दिन दुबै कम्पनीको सवै कार्यालयहरुमा कार्य सञ्चालन भने हुने छैन ।