काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) विक्री खुला गर्दै छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।
साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थासँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनेका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशनबमोजिम कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीको एफपीओ विक्री अवधि जेठ १६ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा जेठ २५ गतेसम्म विक्री समय लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूणर् कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
एफपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्तापूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । एफपीओपछि कम्पनीको संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व कायम हुनेछ ।
गत आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार ७ करोड ६७ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३२१ दशमलव २३ रहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनी ५ करोड ९८ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्