काठमाडौं । राष्ट्रियसभाको बिहीवार बसेको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि उक्त विधेयक ल्याइएको हो । अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकोमा बिहीवार राष्ट्रियसभाले संशोधन स्वीकार गरी पारित गरेको हो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकमाथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव दर्ता गराएका थिए । बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । अब विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।