डँडेलधुरा । २०६३ सालमा डँडेलधुरास्थित रंगुन खोलामा ठूलो बाढी आयो । बाढीले परशुरामको जोगबुढा लगायत नदी तटीय क्षेत्र आसपासको खेतीयोग्य अधिकांश जमीन बगरमा परिणत भयो । परशुराम नगरपालिका–३ ठण्डजालाका स्थानीय कृष्णबहादुर साउदको जमीन बाढीले बगरमा परिणत भएपछि वर्षौंदेखि उपयोगमा आएको थिएन । तर अहिले भने साउदले बगरमै माछा पालन शुरू गरेका छन् ।
उनले गतवर्षबाट पोखरी निर्माण गरी मत्स्य व्यवसाय शुरू गरेका हुन् । ‘लामो समयदेखि भारतमै काम गर्दै आएको थिएँ,’ उनले भने, ‘कोराना महामारीले जागीर छुटेपछि घर फर्किएको हुँ । जमीन बाढीले बगर बनाइदिएपछि जीविकोपार्जनका लागि भारतमै भर पर्नुपर्ने अवस्था थियो, अहिले बगरमै माछा पालन शुरू गरेको छु ।’ प्रतिपोखरी आठ सय भुरा हालेर छ ओटा पोखरीमा साउदले माछा पालन गरिरहेका छन् ।
नगरपालिका र दातृ निकायबाट पोखरी निर्माण र भुरा सहयोग पाएपछि माछा पालन शुरू गरेको साउदले बताए । निड्स नेपालले विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभका लागि समुदायको सबलीकरण (स्कोप आर थ्री) परियोजनामार्फत परशुरामका किसानले कृषि, मत्स्य र कुखुरा पालनमा सहयोग पाएका छन् ।
परशुराम नगरपालिकाले पोखरी निर्माण र निड्स नेपालले भुरासहित प्राविधिक सहयोग गरेपछि स्थानीयले व्यावसायिक रूपमा मत्स्यपालन शुरू गरेका हुन् । अहिले यहाँका नौ परिवार व्यावसायिक मत्स्यपालन व्यवसायमा जोडिएका छन् । उनीहरूले खोला बगरको सिमसार क्षेत्रलाई जीविकोपार्जनको माध्यम बनाएका छन् ।
‘बाढीले खेत बगाएपछि खेत बगरमा परिणत भएको थियो, बगरको लालपुर्जा भए पनि उब्जनी थिएन् ।’ ठण्डजालाका मत्स्य पालनमा लागेका अर्का किसान दिपकबहादुर साउदले भने ‘परियोजना र नगरपालिकाले सहयोग गरेपछि बगरमै माछा पालन शुरू गरेका छौं । अहिले गाउँमै माछा विक्री भइरहेको छ ।’
प्रतिकेजी चारदेखि साढे चार सय रुपैयाँमा माछा पोखरीबाटै विक्री हुने गरेको उनको भनाइ छ । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बगरलाई सदुपयोग गरी स्थानीयलाई उद्यमी बनाउन कार्यक्रम शुरू गरिएको बताए । उनका अनुसार नदी प्रभावित विपन्न क्षेत्र स्थानीयको जीविकोपार्जनमा परियोजनाले सहयोग गरेको छ । परशुराममा मत्स्य व्यवसाय फष्टाउन सके यहाँको उत्पादन स्थानीय बजार जोगबुढादेखि धनगढी र महेन्द्रनगरसम्म खपत हुने किसानको आशा छ ।