प्रदेश १ का १४ र मधेस प्रदेशका सप्तरी र सिरहालाई अनुदानको मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनीको प्रदेश कार्यालय विराटनगर गोदाममा बर्खे धान खेतीका लागि डीएपी र युरिया मौज्दात छैन । कम्पनीले चैते धानका लागि आयात गरेको ५ हजार टन डीएपी अहिले वितरण भइरहेको छ । प्रदेश कृषि मन्त्रालयले सबै जिल्लाका स्थानीय तहलाई कोटा निर्धारण गरेर मल वितरण गर्छ । त्यसपछि पालिकाको सिफारिस लिएर सहकारी संस्थामा मल लिन आउँछन् । ‘चैतमा आएको डीएपी पालिकाले धमाधम उठाउँदै छन् तर कम्पनीले बर्खे धानका लागि एक गेडो पनि डीएपी र युरिया मौज्दात राखेको छैन,’ सामग्रीको प्रदेश कार्यालयका निमित्त प्रमुख होम पराजुलीले भने ।