अपि पावरको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म ४० प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर असोज १७ गतेदेखि २४ गतेसम्म लिलामी प्रक्रियाबाट विक्री गरेको हो ।  तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र असोज ३० गते खोली कात्तिक ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो । अपि पावरको अवितरित हकप्रद शेयरको कटअप मूल्य प्रतिकित्ता १५१ रूपैयाँ १० पैसा रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षित भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यो अवितरित हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम कात्तिक १० गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रूपैयाँ चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अवितरित सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख रूपैयाँभन्दा बढी पुगेको छ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गरेको हो । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १७१ रूपैयाँ ९० पैसा रहेको छ । कम्पनीले विक्री गरेको हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि कारोबारयोग्य हुनेछ ।

सम्बन्धित सामग्री

अपि पावरको ४ लाख ५२ हजारभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउँदै

जेठ ८, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको ४ लाख ५२ हजार १८५ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्ने भएको हो । चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँट गरिएको छ । कम्पनीका अनुसार रितपूर्वक आवेदन दिने १ लाख १३ हजार १५३ जनालाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको हो । बाँडफाँटमा नपरेको हकभन्दा बढी शेयर माग गर्ने आवेदकहरुको हकप्रद शेयर वापतको रकम जेठ ९ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा प्रतिशेयर रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । अवितरित हकप्रद शेयर समेत बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको पुग्नेछ । कम्पनीले निर्माणाधीन  ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गरेको हो ।