जेठ ८, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको ४ लाख ५२ हजार १८५ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ ।
कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्ने भएको हो ।
चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँट गरिएको छ ।
कम्पनीका अनुसार रितपूर्वक आवेदन दिने १ लाख १३ हजार १५३ जनालाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको हो ।
बाँडफाँटमा नपरेको हकभन्दा बढी शेयर माग गर्ने आवेदकहरुको हकप्रद शेयर वापतको रकम जेठ ९ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजारको आधारमा प्रतिशेयर रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।
अवितरित हकप्रद शेयर समेत बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको पुग्नेछ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गरेको हो ।