साउन २८, चितवन । भरतपुर महानगरले महानगर भित्रका पाँच ओटा सरकारी बिद्यालयलाई स्कुल बस प्रदान गरेको छ ।
सामुदायिक बिद्यालयको शिक्षाको स्तर विकास गरी बिद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उद्धेष्यसहित उक्त बस बुधवार हस्तान्तरण गरिएको हो ।
ती बस नारायणी नमूना माध्यमिक विद्यालय, कविलास माध्यमिक विद्यालय,भिमनगर माध्यमिक विद्यालय प्रभात माध्यमिक विद्यालय लक्ष्मी माध्यमिक विद्यालयलाई प्रदान गरिएको हो ।
महानगर प्रमुख रेनु दाहालले बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई एक समारोहका बीच बसको साँचो हस्तान्तरण गरेकी हुन् । रुट पर्मिट र बीमासहित प्रतिबस १९ लाख ९८ हजार रुपियाँको खर्चेर महानगरले बिद्यालयलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण पछि बोल्दै दाहालले महानगरको शिक्षाको गुणस्तर र सेवा सुविधा दिने उद्धेश्यले महानगरले शिक्षा विकासको कार्यक्रम अन्त्रगत यस पटक पाँच ओटा बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको बताइन् ।
स्कुलको पूर्वाधार निर्माण, स्तरोन्नतिदेखि शैक्षिक पुर्वाधार विकास गर्दै प्रबिधिमैत्रि शिक्षण सिकाईमा महानगरले जोड दिएको भन्दै उनले महानगरका निजी बिद्यालयभन्दा धेरै गुणा बढी सामुदायिक विद्यालय पनि अघि बढ्न सक्ने बताइन् ।
भरतपुर महानगरलाई अब महानगर शैक्षिक शहरका रुपमा विकास गर्ने आफनो योजना रहेको दाहालको भनाई छ । महानगरमा त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतको ,आंगिक ईन्जिनियरिंग कलेज ,प्रहरी स्कुल , भरतपुर बहुप्राविधिक शिक्षालय ल्याउन सफल भएको र खुल्ला विश्वबिद्यालय पनि ल्याउन पहल गरिरहेको दाहालले बताईन् ।
अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले बिद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए । चालू आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।