चैत ८, काठमाडौं । सन्दर्भ विश्व पानी दिवस । विश्वभरले सन् १९९३ मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउँदै आएको छ ।
जलस्रोतको दोस्रो धनी देश भएर पनि विगत केही वर्षयता नेपालको सहरी क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमा समेत खानेपानीको समस्या उत्पन्न भइरहेको छ । हुन पनि हो, पानी प्रकृतिले दिएको निर्विकल्प अमूल्य उपहार हो ।
विश्व पानी दिवसको प्रसंगमा काठमाडौं
उपत्यकामा पानीको अवस्थालाई यहाँ चर्चा गर्न खोजिएको छ । पहिले उपत्यकाको पानीको स्रोत भनेको खोला, कुवा, इनार, सार्वजनिक धारा नै थिए । तर ती विस्तारै सुक्दै गए । जनघनत्व बढेसंगै पानीको स्रोतमा चाप बढ्यो । पर्याप्त मात्रामा पानीको मुहान संरक्षण हुन सकेन । फोहोर र प्रदुषण फैलियो । ती अतिक्रमणको चपेटा पनि परे ।
हुन त काठमाडौं उपत्यकाको पानीको स्रोत भनेको भूमिगत पानी नै हो । एक तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक ११ करोड लिटर पानी जमीनमुनिबाट निकाल्ने गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत विभिन्न पानी सेवाप्रदायकले भूमिगत पानी निकाली नागरिकसमक्ष पुर्याउँदै आएका छन् ।
निरन्तर जनसंख्या खेपिरहेको काठमाडौं उपत्यकामा पोहोरपरारजस्तै यो गर्मी याममा पनि पानीको अभाव हुन थालेको छ।सरकारी वितरण प्रणालीमा मनग्गे पानी उपलब्ध छैन । धेरै नगरवासीहरू घरमा प्रयोग गर्नको लागि ट्याङ्करको पानी र पिउनको लागि जारको पानी किन्न बाध्य छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार आधारभूत आवश्यकताहरू पूर्ति गरी स्वस्थ रहनका लागि प्रत्येक व्यक्तिलाई दैनिक ५० देखि १०० लिटर पानी आवश्यक पर्छ। पिउने, खाना पकाउने, सरसफाइ गर्ने आदि काममा त्यति पानी आवश्यक पर्छ। तर काठमाडौं उपत्यकाको व्यथा अर्कै छ।मेलम्ची खानेपानी आयोजना अझै अपूरै रहेकोले उपत्यकाबासीहरू पानीको वैकल्पिक उपाय खोज्न बाध्य छन् ।
भूमिगत पानीको जथाभावी अत्यधिक दोहन अव रोकिनु पर्छ । पानीको स्रोतमा पुनर्भरण, पानीको मुहान तथा तालतलैयाको संरक्षणको अभावमा मानव सभ्यतासँग जोडिएको पानीको उपलब्धतामा संकट हुन सक्नेतर्फ समयमै सचेत हुनपर्ने बेला आएको छ । बढ्दो जनसंख्या सिंंचाइ, कृषि उत्पादन, औद्योगिकीकरणलगायत कारण उपत्यकामा पानीको प्रयोगमा बढोत्तरी आएको छ ।
हुन त, वैज्ञानिक खोज अनुसन्धानमा विश्व धेरै अगाडि बढिसक्दा हालसम्म पानीको कुनै विकल्प पत्ता लागेको छैन । सम्पूर्ण प्राणी र वनस्पति जगतको जीवनयापनको आधारशीलाका रुपमा पानीको आवश्यक छ । यसका लागि दिगो एवं बुद्धिमत्तापूर्व प्रयोग गर्दै भावी पुस्ताका लागि पानीको स्रोत हस्तान्तरण गर्नुपर्ने आवश्यकता टड्कारो हुँदै गएको छ ।
यस्तो यथार्थलाई ध्यानमा राख्दै पानीको उपयोगमा चुक्ने हो भने भविष्यमा आउन सक्ने जल संकटले मानव जातिलाई भयावह अवस्थामा पुर्याउन सक्ने कुरामा दुई मत छैन ।
स्वच्छ जलको आवश्यकता पूर्ति गर्ने भूमिगत जलको विषयमा सचेतना फैलाउन अब ढिला गर्नुहुँदैन । यसको समुचित संरक्षण्, पुनर्भरण, दिगो, किफायती र सन्तुलित उपयोगलाई जनमानसमा पुरयाउन पनि जरुरि भइसकेको छ । भूमिगत जलको उत्पादकत्व बढाउनका लागि कृत्रिम जलाशय निर्माण, पुनर्भरण, सन्तुलित दोहन, प्रदूषण न्यूनीकरणलगायतका योजनालाई प्राथमिकतामा राख्न सरोकारवालाहरुले ध्यान दिनै पर्छ ।
अझ पानीसँग सम्वन्धित विज्ञहरु त पानी संकट कम गर्ने विभिन्न उपायहरुलाई मुलुकको सवै शहर र गाउँमा सबैतिर व्यक्तिव्यक्ति र समुदायहरूलाई सिकाउनुपर्छ भन्न थालेका छन् । समृद्धि र समस्त प्राणी जगतकोआधार तथा पर्यावरणको आधारका रुपमा लिएर पानीको महत्वलाई आत्मसात गर्न अव ढिला गर्नुहुँदैन ।
तसर्थ बढ्दो जलवायु परिवर्तनको प्रभाव भूमिगत पानीमा परिरहेको अवस्थामा सवैले आ आफ्नातर्फबाट भुमिका निर्वाह गर्न आवश्यक छ ।
तस्वीरहरु : सुनिल शर्मा आर्थिक अभियान