बजेट अभावमा महानगरको मुख्य बजार क्षेत्रमा निर्माणाधिन छ लेन सडक अलपत्र

चितवन । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको छ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको थियो । भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा नै सडक भत्काएर अलपत्र अवस्थामा रोकिएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. रमेश पौडेलका अनुसार हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको छ । सडकको धेरै काम कालोपत्र (अस्फाल्ट)को छ । पूरै सडक कालोपत्र अन्तिम रुप दिन बाँकी छ । सडक सम्पन्न गर्न थप रु ४५ करोड हाराहारी खर्च हुने भन्दै सडक विभागमा बजेट माग गरिएको उनले जानकारी दिए । उनको भनाइमा फुटपाथ, बिबिएम, सर्भिस लेनजस्ता कामका लागि रु १५ करोड हाराहारी खर्च हुनेछ भने बाँकी कालोपत्रको काम हुनेछ । यस आर्थिक वर्षमा रु ५ करोड बजेट निकासा भएकामा दसैँअघि त्यस बराबरको बिल भुक्तानी भइसकेको छ । बजेट अभावमा काम रोकिएको उनले जानकारी दिए । निरन्तररुपमा बजेट निकासाका लागि पत्र पठाएसँगै विभागमा आग्रह गरिएको उनले बताए । यस सडक निर्माणका लागि पहल गर्दै आएको भरतपुर महानगरपालिकाले पनि बजेट निकासा गरेर तयारीमा जुटेको भ्रमण वर्ष २०२४ सफल पार्न सहयोग पु्र्‍याउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले सडक विभागका महानिर्देशक, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालयका सचिवलाई पटकपटक आग्रह गरिएको बताइन् ।  उनका अनुसार सडक विभागबाट थप बजेट माग भई मन्त्रालय पठाउने तयारी भइरहेको छ । दाहालले भनिन्, “मलाई विश्वास छ, बजेट निकासा भएर काम छिटै सम्पन्न हुन्छ ।” सडक निर्माण सम्पन्न गर्नुपर्ने समय थप गरिएको मिति यसै महिना सकिँदै छ । निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका प्रमुख सहदेव खड्काले सरकारले बजेट दिए तीन महिनाभित्र सबै कामसक्ने दाबी गरे । उनले सरकारले बजेट पर्याप्त नदिएकै कारणले द्रुतगतिमा काम गर्न नसकिएकाले ठेक्काको म्याद थपका लागि प्रक्रियासमेत अगाडि बढाएको बताए । कालोपत्रको काम धेरै भएकाले बजेट निकासा भएमा काम गर्न धेरै समय नलाग्ने उनको भनाइ छ । रु एक अर्ब २३ करोडको कूल लागतमा विस्तार गर्न लागिएको सडकको हालसम्म निर्माण कम्पनीले झण्डै रु ८० करोड रकम भुक्तानी लिइसकेको छ । समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रमा व्यवसायी मर्कामा परेका छन् । उद्योग वाणिज्य सङ्घ चितवनले सडक विस्तारले व्यवसाय प्रभावित भएको भन्दै डिभिजन सडक कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालयमा दबाब दिँदै आएका छन् । सडकको काम रोकिँदा यात्रु र स्थानीयले पनि सास्ती भोगेका छन् । स्थानीय र सडक हुँदै यात्रा गर्नेले धुलोको समस्या व्यहोर्नु परेको छ । रासस

सम्बन्धित सामग्री

रुपन्देहीको निर्माणाधीन चार लेन सडक अलपत्र

अन्तर सरकारी निकायबिचको समन्वय अभावमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको लाइफलाइन मानिएको चारलेन सडक निर्माण अलपत्र परेको छ।

रूख कटान नहुँदा मर्चवारस्थित चार लेन सडक अलपत्र

सडकको मध्य भागमा रहेका रूख कटान नहुँदा रूपन्देहीको मर्चवारस्थित चार लेन सडक अलपत्र बनेको छ । सडकको बीच र किनारमा रहेका रूख कुन निकायले कटान गर्ने भन्ने स्पष्ट नहुँदा बेलबास–बेथरी–मर्चवार सडकअन्तर्गत वनगाई–सेमरा–खैराघाट खण्ड अलपत्र परेको हो ।

घोराही-तुलसीपुर चार लेन सडक निर्माणसम्बन्धी भारतीय कम्पनीसँगको सम्झौता खारेज

रुपन्देही । निर्माण सुरु भएको ६ वर्षदेखि अलपत्र दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता खारेज भएको छ । निर्माणको ठेक्का पाएको भारतीय कम्पनीले लामो समयदेखि सडक अलपत्र पारेपछि सरकारले सम्झौता खारेज गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्झौता खारेज भएको र अब नयाँ ढंगले निर्माण प्रक्रिया अघि बढ्ने जनाएकी छन् । […]

दाङको सडक कार्यालयमा स्थानीयले लगाए ताला

८ फागुन, दाङ। दाङमा सडक अलपत्र छोडेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालयको मूल गेटमा ताला लगाएका छन् । घोराहीको चार लेन सडक लामो समयदेखि अलपत्र हुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयले सोमबार दिउँसो कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । सडक नबनाएको विरोधमा कार्यालय प्रमुख र कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाए । उनीहरुले […]

दाङको चार लेन सडकमा स्थानीयको प्रदर्शन

२६ माघ, दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डको चार लेन सडक नबनेको विरोधमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले बिहीबार दिउँसो घोराही–तुलसीपुर सडकखण्डको नारायणपुरमा करिब आधा घण्टा सडक अवरुद्ध गरेका हुन् । चार वर्षअघि सुरु भएको उक्त सडकखण्ड लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् । चार वर्षयता सडक अलपत्र हुँदा सास्ती खेप्नुपरेको […]

घोराही–तुलसीपुर सडक अलपत्र

ठेकेदारको मनोमानीले घोराही–तुलसीपुर उपमहानगर जोड्ने चार लेन सडक अलपत्र परेको छ । दुई वर्षमा निर्माण हुनुपर्ने जिल्लाको मुख्य सडक अलपत्र बनेपछि सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । २०७६ असारबाट निर्माण सुरु भएको यस खण्डको अहिलेसम्म ७ प्रतिशतमात्र काम भएको छ । सम्झौताअनुसार २०७८ वैशाखमा यसको निर्माण पूरा भइसक्नुपर्ने हो । सडक निर्माणका लागि निकासा भएको रकम खर्च हुन सकेको छैन ।