दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा चट्टान आरोहण महोत्सव हुने भएको छ । गण्डकी अल्पाइन क्लब पोखराको आयोजनामा पुस ७ गतेदेखि १२ गतेसम्म चट्टान आरोहण महोत्सव हुन लागेको हो । विमलनगर चट्टान आरोहणका लागि उपयुक्त गन्तव्य हो ।
पृथ्वीराजमार्ग विस्तारका क्रममा यो ठाउँ भत्किने भएकाले यसको संरक्षण गर्न माग गर्दै चट्टान आरोहण महोत्सव हुन लागेको क्लबका अध्यक्ष नरेन्द्र शाहीले बताए । ‘साहसिक पर्यटनको प्रवर्द्धन गरौं : विमलनगर चुनपहरा जोगाऔं’ भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवमा पुरूष र महिलालाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ ।
उक्त प्रतिस्पर्धामा प्रथम हुनेलाई रू. ५० हजार प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ । द्वितीय हुनेलाई रू. २० हजार र तृतीय हुनेलाई रू. १० हजार प्रदान गरिनेछ । चुनपहरा बचाउ अभियानका अभियानकर्मी एवं सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चट्टान आरोहणको प्रशिक्षणस्थल बनेको यस ठाउँको संरक्षण गर्नुपर्ने बताए । अरू पनि केही स्थानमा चट्टान आरोहण हुने भए पनि विमलनगरको चुनपहरा सबैभन्दा उपयुक्त रहेको बताइन्छ । हालसम्म आरोहणका लागि पत्ता लागेको पहरामध्ये सबैभन्दा धेरै २७ ओटा रूट भएको यही मात्र चट्टान हो ।
यहाँका स्थानीय बासिन्दाले पनि यस ठाउँको संरक्षण हुनुपर्ने भन्दै आवाज उठाइरहेका छन् । राजमार्ग विस्तार योजनाअनुरूप सडकको मापदण्डअनुसार मध्यविन्दुबाट दायाँ र बायाँ २५/२५ मीटर विस्तार गर्न चिह्न लगाउने कार्य सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको सडक विस्तार अति आवश्यक रहेको भए पनि पृथ्वी राजमार्गसँगै जोडिएको यस क्षेत्रको संरक्षण हुनुपर्ने स्थानीय बासिन्दाको माग छ ।
चुनपहरा संरक्षण समितिले हाल कायम गरिएको सडक मापदण्डलाई आवश्यकताअनुसार घटाउन, आरोहण क्षेत्रपट्टिको मापदण्ड घटाई खोलापट्टिको मापदण्ड बढाउन र विमलनगरको पुलबाट पारि करीब १.५ किमीको वैकल्पिक ट्र्याक खोली नयाँपुल हुँदै निस्कने सडक बनाउने विकल्प अगाडि सारेको छ । पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न स्थान तथा विदेशबाट समेत पर्यटक चट्टान आरोहणका लागि आउने गरेका छन् । रासस