२७ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । साताको तेस्रो कारोबार नेप्सेको वेवसाइट र टिएमएसको वेवसाइटमा कारोबार तथ्यांक नै फरक देखिएको छ ।
कारोबार प्रणालीमा समस्यादेखिए पछि ब्रोकर कम्पनीबाट ‘टिएमएस’ …
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणालीबारे शेयरबजारका सरोकारवालाले विभिन्न कालखण्डमा विभिन्न किसिमका आशंका व्यक्त गर्दै आएका छन् । यस विषयमा सरोकारवालाले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन), अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालयसम्म उजुरी र गुनासो पनि गर्दै आएका छन् ।
नेप्सेले २०७५ कात्तिकदेखि अनलाइन कारोबार सञ्चालन गर्न नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा ल्याएको थियो । अहिले लगानीकर्ताले नट्स प्रणालीअन्तर्गतको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोग गरी नेपाली शेयरबजारमा शेयर किनबेच गर्दै आएका छन् ।
नट्सका साथै नट्स प्रणालीअन्तर्गतको टीएमएसको निर्माण वाइको प्रालिले गरेको छ । नट्स र टीएमएस दुवैको मर्मतसम्भार अहिले यही कम्पनीले गर्दै आएको छ । लगानीकर्ताका साथै ब्रोकरहरूले पनि वाइकोले प्रणालीमा अनधिकृत प्रवेश गरेर बजारमा चलखेल गरेको भनेर विभिन्न नियामक निकायमा उजुरी गर्दै आएका छन् । नेप्सेले पनि वाइकोलाई यस विषयमा पटकपटक स्पष्टीकरण सोधिसकेको छ ।
वाइकोले नेप्सेको अनलाइन प्रणाली बनाउने जिम्मा पाएको समयबाटै सरोकारवालाले वाइकोबारे प्रश्न गर्दै आएका छन् । नेप्सेका अधिकारीहरू उक्त समयमा सार्वजनिक खरीद प्रक्रियाअनुसार नै नेप्सेले अनलाइन प्रणाली निर्माणको जिम्मा वाइकोलाई दिएको बताउँछन् । ‘सार्वजनिक खरीद प्रक्रियाअनुसार नै नेप्सेको अनलाइन प्रणाली बनाउने जिम्मा वाइकोले २०७४ सालमा पाएको थियो । वाइकोले मापदण्डअनुसार नै प्रणाली बनाएर सम्झौतामा भएअनुरूप नेप्सेलाई १ वर्षमा प्रणाली हस्तान्तरण पनि गरिसकेको छ,’ नेप्सेका एक उच्च अधिकारी भन्छन्, ‘अहिले वाइकोले एनुअल मेन्टेनेन्स कन्ट्र्याक्ट (एएमसी) अन्तर्गत प्रणाली मर्मतसम्भारको काम मात्रै गर्दै आएको छ ।’
विभिन्न निकायमा बजारमा वाइकोको शेयर स्वामित्वबारे पनि प्रश्न उठ्दै आएको छ । सेबोनले नेप्सेलाई उक्त विषयमा स्पष्टीकरण पनि सोधेको थियो । नेप्सेले सेबोनलाई वाइकोसँग सम्झौता हुँदाको स्वामित्व विवरण पनि पठाएको थियो । तर, अहिले वाइकोको शेयर संरचनामा धेरैपटक परिवर्तन भइसकेको छ । वाइकोमा अहिले स्वार्थको द्वन्द्व हुने लगानीकर्ताको लगानी रहेको भन्दै पटकपटक उजुरी परेको छ ।
वाइकोको शेयर स्वामित्व परिवर्तनबारे नेप्सेका उच्च अधिकारीलाई प्रश्न गर्दा त्यस विषयमा आफू अनभिज्ञ भएको बताउँछन् । ‘सीडीएससीले प्रणाली ल्याउँदा बम्बई स्टक एक्सचेन्जको सीडीएसएलको आईटी कम्पनीले निर्माण गरेको प्रणाली ल्याएको थियो । उक्त प्रणाली मर्मतसम्भारको काम पनि उक्त आईटी कम्पनीले नै गर्दै आएको थियो,’ नेप्सेका ती अधिकारी भन्छन्, ‘अहिले उक्त कम्पनी टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) ले खरीद गरेको छ । त्यसैले सीडीएससीको मर्मतसम्भारको काम पनि टीसीएसले नै गर्दै आएको छ । आफूसँग भएको सम्पत्ति बेच्ने अधिकार त सबैसँग हुन्छ । त्यसैले वाइकोलाई पनि आफ्नो सम्पत्ति बेच्ने अधिकार छ ।’
ती अधिकारीका अनुसार नेप्सेको प्रणालीको साँचो अर्थात् आईडी, पासवर्ड नेप्सेसँग मात्र छ । त्यसैले वाइकोले प्रणालीमा अनधिकृत प्रवेश गर्न सम्भव छैन । ‘यस्तै प्रत्येक २ वर्षमा हामीले सिस्टम अडिट पनि गर्नुपर्छ । त्यसैले त्यस्तो प्रवेश भएको विषय अडिट गर्दा पनि थाहा हुन्छ,’ ती अधिकारीले भने ।
नेप्से प्रणालीमा कुनै एउटा कर्मचारीले अनधिकृत प्रवेश गरी चलखेल गर्न कत्तिको सम्भव छ त ? जवाफमा ती अधिकारी भन्छन्, ‘नेप्सेको आईटी पोलिसीमा सबै विषय स्पष्टसँग भनिएको छ । नेप्से प्रणालीअन्तर्गतको नट्समा २० ओटा फरकफरक मोड्युलहरू छन् । पोलिसीमा नै स्पष्टसँग कुनै एउटा कर्मचारीसँग सबै मोड्युलहरू एक्सेस हुँदैन भनेर भनिएको छ । त्यसैले कर्मचारीले प्रणालीमा अनधिकृत प्रवेश गरेर बजारमा चलखेल गर्नु भनेको असम्भव जस्तै हो ।’
कामाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा ल्याएको वर्षौं भइसकेको छ । तर यो प्रणालीबारे थोरै लगानीकर्ता मात्र जानकार छन् । नेप्सेका अनुसार नेप्सेको स्वचालित अनलाइन कारोबार प्रणालीको सबैभन्दा महत्त्वपूर्ण हिस्सा नै नट्स रहेको छ । इन्टरनेटको माध्यमबाट संसारका जुनसुकै ठाउँबाट लगानीकर्ताले विभिन्न धितोपत्र खरीदविक्री आदेश प्रविष्ट गरी कारोबार गर्ने प्रणाली नै नट्स हो ।
नेप्सेले २०७२ सालदेखि कागजी शेयर प्रमाणपत्रलाई विद्युतीय स्वरूपमा ढालेर कागजरहित कारोबार राफसाफ तथा फछ्र्योटको थालनी गरेको थियो । नेप्सेले अहिले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्यनमा ल्याएको छ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएसँगै अहिले लगानीकर्ता र ब्रोकरका साथै नियामकलाई समेत सहज भएको छ । यसले ब्रोकरलाई लगानीकर्ताको आदेश अनुसार कारोबार सञ्चालन गर्न, लगानीकर्तालाई धितोपत्रको कारोबार गर्न र नियामकलाई बजारमा हुने गतिविधि नियमन गर्न सहज भएको हो ।
नेप्सेका अनुसार नट्समा कम्पनी सूचीकरण, सदस्य दलाल दर्ता, सुपरिवेक्षण, जोखिम व्यवस्थापन, इन्डेक्स व्यवस्थापन, कारोबार सञ्चालन लगायत कार्य स्वचालित रूपमा हुन्छन् । वाइको प्रालिद्वारा निर्मित नट्समा २० ओटा छुट्टाछुट्टै मोड्युल र अन्य सहायक मोड्युल छन् । नट्स अन्तर्गत ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)को निर्माण पनि वाइकोले नै गरेको हो । नट्स र टीएमएस दुवैको मर्मतसम्भार यही कम्पनीले गर्दै आएको छ । नेप्सेका अनुसार टीएमएस र नट्सबीच भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)बाट कनेक्सन गरी उच्चतम सुरक्षा व्यवस्था गरिएको छ ।
नट्सका प्रमुख विशेषता
नट्समा पूर्ण स्वचालित सूचीकरण, ब्रोकर व्यवस्थापन, इन्डेक्स, सुपरिवेक्षण र धितो तथा भुक्तानी प्रणाली छन् । यस्तै यसमा शेयर ऋणपत्र, डेरिभेटिभ्स लगायत वित्तीय औजारको पनि कारोबार गर्न सकिन्छ । आवश्यकता अनुसार नट्सको आकार विस्तार गर्न सकिन्छ । भविष्यमा बढ्ने कारोबार नट्समार्फत सजिलै व्यवस्थापन गरी सञ्चालन गर्न सकिन्छ ।
इन्टरनेटको माध्यमबाट कारोबार गर्न सकिने नट्समा ५० माइक्रो सेकेन्ड प्रतिकारोबार म्याचिङ सिस्टम छ ।
नट्सका मोड्युल र विशेषता
नट्समा २० ओटा छुट्टाछुट्टै मोड्युल र अन्य सहायक मोड्युल छन् । शेयर बजारमा उक्त मोड्युलको पृथक् विशेषता र महत्त्व छ ।
संगठन तथा कारोबार व्यवस्थापन
आन्तरिक तथा बाह्य प्रयोगकर्ता र संगठन व्यवस्थापनका लागि यस मोड्युलको प्रयोग हुन्छ ।
कर्तव्य तथा अधिकार व्यवस्थापन
आन्तरिक तथा बाह्य प्रयोगकर्ताका कर्तव्य र अधिकार व्यवस्थापन गरी प्रणालीमा पहुँच दिने कार्य यो मोड्युलबाट गरिन्छ ।
सूचीकरण व्यवस्थापन
नेप्सेमा सूचीकृत सबै प्रकारका कम्पनी तथा वित्तीय औजारको सूचीकरण प्रक्रिया पूर्णरूपमा स्वचालित गर्न यो मोड्युलको प्रयोग गरिन्छ । सूचना तथा अन्य वित्तीय विवरणहरू सूचीकृत कम्पनी स्वयंले राख्न मिल्नेगरी प्रक्रिया पूर्ण स्वचालित गर्ने काम यो मोड्युलबाट हुन्छ ।
धरौटी व्यवस्थापन
ब्रोकर र लगानीकर्ताले धितोपत्र कारोबार गर्न राख्नुपर्ने धरौटीको व्यवस्थापन यस मोड्युलले गर्छ ।
ब्रोकर व्यवस्थापन
ब्रोकरहरूको दर्ता, लाइसेन्स लगायतका कार्यका लागि यो मोड्युलको प्रयोग गरिन्छ ।
बजार निर्माता
बजार निर्माता दर्ता, कारोबार तथा बजार निर्माताले कुन कुन धितोपत्रमा निर्माता भएर कार्य गर्न सक्छ/सक्दैन लगायत कार्य यस मोड्युलद्वारा गरिन्छ ।
सूचकांक व्यवस्थापन
नेप्से सूचकांक लगायत अन्य सूचकांक थप्ने/हटाउने तथा सूचकांकको परिमार्जन समायोजनका लागि यो मोड्युलको प्रयोग गरिन्छ ।
मूल्यसम्बन्धी जानकारी प्रवाह
दोस्रो बजार कारोबारको रियल टाइम विवरण प्रसारण गर्न तथा तेस्रो पक्षको प्रणालीसँग एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई)द्वारा अन्तरआबद्धता गरी विवरणको आदान गर्न यो मोड्युलको प्रयोग गरिएको छ ।
जोखिम व्यवस्थापन प्रणाली
दोस्रो बजार कारोबारमा नियमित कारोबार हुँदा र कारोबारपछि हुने कुनै जोखिम व्यवस्थापन गर्न यस प्रणालीको प्रयोग गरिएको छ । ब्रोकर तथा लगानीकर्ता दुवैको जोखिम व्यवस्थापनमा यो मोड्युलको प्रयोग हुन्छ ।
सुपरिवेक्षण प्रणाली
दोस्रो बजार कारोबारमा हुने हेरफेर ब्रोकर तथा लगानीकर्ताको कारोबारमा निरीक्षण तथा निगरानी गर्न यो मोड्युलको प्रयोग गरिन्छ ।
ब्रोकर ब्याक अफिस व्यवस्थापन
ब्रोकरले दोस्रो बजारमा गरेको कारोबार हिसाब किताब गर्न तथा प्रयोगकर्ताको अभिलेख राख्न यो मोड्युलको प्रयोग गरिन्छ ।
आदेश मार्ग व्यवस्थापन
ब्रोकर तथा लगानीकर्ताले प्रविष्ट गरेका आदेशहरू व्यवस्थापन गरी नेप्सेको म्याचिङ प्रणालीसँग समन्वय गर्न यस मोड्युलको प्रयोग हुन्छ ।
सदस्य एडमिन टर्मिनल
टीएमएस प्रणालीका सुपर एड्मिनिस्ट्रेसन कार्यहरू, जस्तै– ‘युजर रोल प्रिभिलेज क्रियसन’ यस मोड्युलबाट गरिन्छ ।
ट्रेडर वर्क स्टेशन लगानीकर्ता
लगानीकर्तालाई कारोबार गर्न चाहिने आदेश विन्डोज, कारोबार विवरण लगायतको कार्यका लागि यो मोड्युलको प्रयोग हुन्छ ।
ट्रेडर वर्क स्टेशन ब्रोकर
क्लाइन्ट दर्ता, युजर दर्ता, आदेश प्रविष्टि, जोखिम व्यवस्थापन र पोर्टफोलियो व्यवस्थापनका लागि यो मोड्युलको प्रयोग गरिन्छ ।
नियन्त्रण वर्क स्टेशन
धितोपत्रको कारोबार प्यारामिटरको सेटिङ, बजारको समय सेट गर्ने लगायत कार्यका लागि यो मोड्युल प्रयोग हुन्छ ।
म्याचिङ इन्जिन
यो धितोपत्र कारोबारको मुख्य प्रणाली हो । सम्पूर्ण ब्रोकर तथा लगानीकर्ताले प्रविष्ट गरेको आदेश ‘प्राइस टाइम प्रायोरिटी’मा म्याचिङ गर्ने कार्य यस मोड्युलले गर्छ ।
एक्सचेन्ज म्यासेजिङ प्रणाली
दोस्रो कारोबारको क्रममा रियल टाइममा सृजना हुने सूचना आदान प्रदान, ईमेल/एसएमएसका लागि यो मोड्युलको प्रयोग हुन्छ ।
सदस्य पोर्टल
ब्रोकर सदस्यहरूको इन्ड अफ द डे (ईओडी) रिपोर्ट, क्लाइन्ट क्रियसन फाइल लगायत पेइन–पेआउट फाइलहरू अपलोड/डाउनलोडका लागि यो मोड्युल प्रयोगमा आउँछ ।
म्यानेजमेन्ट इन्फरमेसन सिस्टम रिपोर्ट
दोस्रो बजारमा भएका कारोबार लगायत अन्य कार्यसम्बन्धी सम्पूर्ण रिपोर्ट तयार पार्ने कार्य यस मोड्युलबाट गरिन्छ ।
काठमाडौं । नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या देखिँदा सेयर कारोबार रोकिएको छ । १२ बजेर ५२ मिनेटदेखि बजारमा कारोबार रोकिएको हो ।
टीएमएसमा समस्या आएकाले केही समय कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए । “टीएमएसमा ब्रोकरको स्टोरेजमा केही समस्या आएकाले र धेरै ब्रोकरको सिस्टम नचलेकाले बन्द गरेर समस्या...
.पूँजीबजार पछिल्लो समय पूँजी बढाउने बजारको रूपमा सावित भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण अर्थतन्त्रका सबैजसो क्षेत्र अस्तव्यस्त बनेको छ । २०७६ चैत ११ गतेदेखि शुरू भएको बन्दाबन्दीपछि अर्थतन्त्रमा समस्या देखिन थालेको छ । अहिले पनि देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी छ । कोरोनाका कारण नेपालको मात्र नभई विश्वकै अर्थतन्त्रमा नकारात्मक असर परेको छ । किसानदेखि देशका ठूला व्यापारीहरूको आम्दानीमा असर परेको छ । किसानहरूको उत्पादन बारीमै कुहिएको अवस्था छ । ठूला व्यापारीहरू साना आम्दानीमै सीमित भई अर्बौं घाटा बेहोरेर बस्न बाध्य भएका छन् । तर, पूँजीबजार भने यसको विपरीत गतिमा देखिएको छ ।
नेपालमा कोरोना संक्रमण भित्रिएलगत्तै पूँजीबजारले गति लिएको पाइन्छ । त्यसअघिका निरन्तर ३ वर्षभन्दा बढी समय घटेको नेपालको पूँजीबजार कोरोनाकालमा भने निरन्तर बढिरहेको छ । २०७५ फागुन १९ गतेदेखि बजार बढ्न थालेको देखिन्छ । उक्त दिन बजार १ हजार १०० दशमलव ५८ विन्दुमा थियो । साउन ३२ गतेसम्मको तथ्यांक हेर्दा नेपालको शेयर बजार ३ हजार १६० दशमलव शून्य ५ विन्दुमा पुगेको छ । यो बीचमा बजार २ हजार ६० अंक बढिसकेको छ । कोभिड जोखिमका बीच पूँजीबजारलाई निरन्तर चलायमान बनाउनका लागि नियामक निकाय र बजार सम्बद्ध निकायहरूले पूर्ण अनलाइन कारोबार प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सकारात्मक कदम चालेको देखिन्छ । खाता खोल्ने, शेयर किनबेच तथा रकम भुक्तानी जस्ता सबैजसो काम घरमै बसेर अनलाइनमार्फत नै गर्ने व्यवस्था गरिएको छ ।
प्राथमिक बजारमा आईपीओ खरीद गर्नका लागि होस् या दोस्रो बजारमा शेयर खरीदविक्रीका लागि अनलाइन कारोबार प्रणालीमा आबद्ध हुन लगानीकर्ताले घरबाटै सबै प्रक्रिया पूरा गर्न सक्ने अवस्था छ । यही सहज वातावरणकै कारण देशभित्र र देशभन्दा बाहिरका नेपाली नागरिकले पूँजीबजारमा आफ्नो पहुँच पु¥याउन सफल भएका छन् ।
पूँजीबजारको आकार (साउन मसान्तसम्म)
नेपालको शेयर बजारको आकार २०७८ साउन ३२ गतेसम्मको तथ्याङ्क अनुसार रू. ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख रहेको छ । धितोपत्र दोस्रो बजारमा २०० भन्दा बढी कम्पनीहरू सूचीकृत रहेका छन् । विगत एक वर्षको तथ्यांक हेर्ने हो भने कुल बजार पूँजीकरण करीब रू. २७ खर्बले बढेको छ । २०७७ साउन ३२ गते नेपालको पूँजीबजारको कुल पूँजीकरण रू. १७ खर्ब ३६ अर्ब ७९ करोड ४० लाख थियो । कुल बजार पूँजीकरणमा वाणिज्य बैंकहरूको सर्वाधिक हिस्सा छ । २७ वाणिज्य बैंकहरू सञ्चालनमा रहे तापनि राष्ट्रिय वाणिज्य बैंक बाहेक २६ वाणिज्य बैंकहरू सूचीकृत छन् । कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकले ओगटेको छ । साउन मसान्तसम्ममा नबिलको प्रतिकित्ता अन्तिम शेयरमूल्य रू. १ हजार ५०७ दशमलव ४० रहेको छ । बैंकको १३ करोड ८४ लाख ४४ हजार ५१२ कित्ता शेयर सूचीकृत रहेको छ । उक्त दिनसम्म यस बैंकको कुल बजार पूँजीकरण रू. २ खर्ब ८ अर्ब ६९ करोड १२ लाख ५७ हजार रहेको छ । कुल बजार पूँजीकरणमा नबिलको हिस्सा ५ दशमलव ४३ प्रतिशत रहेको छ ।
एक वर्षमा २५ कम्पनीले पाए आईपीओ विक्रीको अनुमति
पछिल्लो एक वर्षमा मात्र नेपाल धितोपत्र बोर्डबाट २५ कम्पनीले आईपीओ निष्कासनका लागि स्वीकृति पाएका छन् । २०७७ साउनदेखि २०७८ साल साउन मसान्तसम्ममा ती कम्पनीहरूले आईपीओ विक्रीका लागि बोर्डबाट अनुमति पाएका हुन् । एक वर्षमा अनुमति पाएका २५ कम्पनीहरूमध्ये १६ कम्पनीहरू धितोपत्र दोस्रो बजारमा आईपीओ विक्रीपश्चात् सूचीकृत भइसकेका छन् । दोस्रो बजारमा थपिने यी कम्पनीहरूमा ६ बीमा कम्पनी, चार लघुवित्त कम्पनी, दुई अन्य समूह अन्तर्गतका कम्पनी, एक लगानी कम्पनी र तीन जलविद्युत् कम्पनी छन् । २०७७ साउनदेखि २०७८ साउन असार मसान्तसम्ममा नेपाल धितोपत्र बोर्डले २५ कम्पनीलाई रू. १५ अर्ब १७ करोड ८३ लाख २८ हजार ७०० बराबरको आईपीओ विक्री गर्न अनुमति दिएको छ । साउनमा थप ३ जलविद्युत् कम्पनीले रू. १ अर्ब ५७ करोड ५० लाख बराबरको आईपीओ विक्रीको अनुमति बोर्डबाट पाएका हुन् ।
पूँजीबजारमा पहुँच विस्तारको अवस्था
पूँजीबजारको आकार दिनप्रतिदिन बढ्दै जानुको एउटा मुख्य कारण यस क्षेत्रमा नयाँ लगानी थपिँदै जानु पनि हो । कोभिडका कारण जनजीवन घरभित्रै सीमित हुन थालेसँगै घरबाटै कारोबार गर्न सकिने पूँजीबजारमा लगानी बढ्न थालेको हो । नेपालभित्रबाट मात्र होइन, विदेशका विभिन्न ठाउँबाट पनि पूँजीबजारमा लगानी भित्रिएको नेप्सेको भनाइ छ । एक वर्षअघिसम्म दोस्रो बजारमा करीब २ लाख लगानीकर्ता सहभागी भई कारोबार गरिरहेकोमा अहिले ८ लाखभन्दा बढी लगानीकर्ता सक्रिय रूपमा सहभागी भइरहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । विगत १ वर्षमा पूँजी बजारमा भित्रिएका नयाँ कम्पनीहरूको शेयरबाट लगानीकर्ताले राम्रो आम्दानी गरेकाले पनि बजारप्रति लगानीकर्ता सकारात्मक देखिएको प्रवक्ता पराजुलीको भनाइ छ । प्रविधिमैत्री लगानी वातावरणले ६ लाखभन्दा बढी लगानीकर्ता १ वर्षमा दोस्रो बजारमा थपिएकाले पनि बजारले सकारात्मक गति लिएको बुझाइ उनको छ । दोस्रो बजारसँगै प्राथमिक बजारमा पनि लगानीकर्ताको सहभागिता २४ लाख नाघेको छ । पछिल्लो समय मानुषी लघुवित्तको आईपीओ खरीदका लागि २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साउन मसान्तसम्ममा ४० लाख ७३ हजार ९१० ले हितग्राही खाता खोलेका छन् भने ३१ लाख ६८ हजार ४८४ मेरो शेयर प्रयोगकर्ता छन् ।
चालू आवमा पूँजीबजारका लागि भएका नयाँ व्यवस्था
चालू आर्थिक वर्षदेखि पूँजीबजार धितोपत्र कारोबारमा केही नयाँ व्यवस्थाहरू लागू भएका छन् । साउन १ गतदेखि नै लागू हुनेगरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले संशोधित धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन ) विनियमावली, २०७८ को व्यवस्था बमोजिम प्रारम्भिक कारोबार सत्रको मूल्य सीमा र धितोपत्र कारोबारमा न्यूनतम मूल्य परिवर्तनको सीमा घटाएर लागू गरेको छ । यसअघि ५ प्रतिशत रहेको मूल्य परिवर्तनको सीमा साउन १ गतेदेखि २ प्रतिशतमा झारेको हो । त्यस्तै धितोपत्र कारोबार हुँदा यसअघिको न्यूनतम एक रुपैयाँको सीमालाई घटाएर १० पैसामा झारिएको छ । प्रारम्भिक र नियमित सत्रमा लागू हुनेगरी यसै वर्षदेखि यी नयाँ व्यवस्था थप भएका हुन् ।
त्यस्तै, गत साउन १ गतेदेखि व्यक्तिगत लगानीकर्ताका लागि फरक फरक पूँजीगत लाभकर लागू भएको छ । यसअघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताले साउन १ गतेदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था लागू भएको हो । सरकारले यस वर्षको बजेटमा धितोपत्र कारोबारमा सहभागी व्यक्तिगत लगानीकर्ताका लागि दुई प्रकारको पूँजीगत लाभकरको व्यवस्था गरेको हो । दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप सरकारले दीर्घकालीन लगानीकर्ताको हकमा ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । अब ३६५ दिनभन्दा अघि खरीद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । यस वर्षदेखि सामूहिक लगानीकोषहरूलाई भने पूँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ ।
यस वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जाको सीमा ७० प्रतिशत यथावत् राखिए पनि यस प्रकारको कर्जा रकमको सीमा भने रू. १२ करोडमा सीमित गरिएको छ ।
यस वर्षको मौद्रिक नीतिले यस प्रकारको कर्जा एक व्यक्ति वा एक संस्थाले बढीमा रू. १२ करोडसम्म लिन सक्ने व्यवस्था गरेको छ । यो कर्जा एक वित्तीय संस्थाबाट अधिकतम रू. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रू. १२ करोडसम्म लिन सक्ने व्यवस्था गरिएको हो ।
बजार सुधारका आगामी महत्वपूर्ण योजनाहरू :
पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड आगामी दिनमा पूँजीबजारको विकास र विस्तारका लागि महत्वपूर्ण कार्ययोजना सहित अघि बढेको छ । बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने, ऋणपत्र बजारलाई गतिशील बनाउने, नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने, संस्थागत व्यवसायलाई प्रवद्र्धन गरी सेवालाई प्रतिस्पर्धी एवम् सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको बोर्डले यी कुराहरूलाई प्राथमिकतामा राखेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको भनाइ छ ।
उनका अनुसार दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र केन्द्रीय निक्षेप सेवा तथा कारोबारको राफसाफ तथा फछ्र्योट सेवा प्रदायक सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को संरचनात्मक सुधार गरी क्षमता अभिवृद्धि गर्दै राफसाफ कोष समेत शीघ्र सञ्चालनमा ल्याउने व्यवस्था बोर्डले गर्नेछ । समग्रमा धितोपत्र बजारलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने, स्टक एक्सचेञ्जमा कारोबारका लागि एसएमईका लागि छुट्टै प्लेटफर्मको स्थापना गर्ने, नेप्से परिसूचक तथा बजार परिसूचकहरूको गणना विधिमा सुधार गरी बढी यथार्थपरक बनाउने, वस्तु विनिमय बजार सञ्चालन गर्ने, इक्विटी डेरिभेटिभ्स लगायतका लगानीका उपकरणहरू थप्ने र समग्रमा पूँजी बजारसम्बन्धी सेवाहरूलाई प्रविधिसँग जोड्ने रणनीतिक योजनाका साथ बोर्ड अघि बढेको अध्यक्ष ढुंगानाको भनाइ छ ।