साउन १२, काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुको संगठन स्टक ब्रोकर एशोसिएशन अफ नेपालले अर्थमन्त्री जनार्दन शर्मा समक्ष १७ बुदे सुझाब पेश गरेका छन् ।
संघका पदाधिकारिहरुले अर्थमन्त्रीलाई भेटी धितोपत्र दोस्रो बजारमा मध्यस्थकर्ताको रुपमा महत्वपूर्ण भूमिका खेल्दै आएका ब्रोकरहरुले बजारको थप विकासका लागि आफ्ना १७ बुदे सुझाब पेश गरेका हुन् । संघले अर्थमन्त्री समक्ष ब्रोकरहरुले सर्बसाधारणमा शेयर जारी गर्न पाउने सुनिश्चित गरी व्यवसायीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन् ।
हाल पूर्ण अनलाईन प्रणालीमार्फत कारोबारमा सहभागी भई खरीद गरेको रकम तथा विक्री गरेको धितोपत्र जानाजान हस्तान्तरण नगर्ने लगानीकर्ताहरुलाई कानूनी कारबाहि हुन व्यवस्था गर्न पनि संघले अर्थमन्त्री लाई सुझाब दिएका छन् । लगानीकर्ताहरुलाई आवश्यक पर्ने सबै किसिमका सेवा एकद्धार प्रणालीबाट प्रवाह हुने वातावरण मिलाउन पनि ब्रोकरहरुले आग्रह गरेका छन् ।
यसका लागि ब्रोकर सेवा अन्तरराष्ट्रिय स्तरको बनाउन, धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरुको प्रवेश सहज गराउन तथा बजार प्रति लगानीकर्ताहरुको विश्वसनियता अझ अभिवृद्धि गर्न धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गरी लगानी व्यवस्थापन, परामर्स सेवा, स्टक डिलर र मार्जिन ट्रेडिङलाई कार्यान्वयन योग्य बनाउनु पर्ने माग उनिहरुको छ ।
दोस्रो बजारमा हुने कारोबारको सम्पन्नता सुनिश्चित गर्न लगानीकर्ताहरुले धितोपत्र दलाल व्यवसायिहरुलाई पावर अप अटोर्नि दिन सक्ने कानूनी व्यवस्था गर्ने तथा अक्सन मार्केट यथाशिघ्र सुरुवात गर्नुपर्ने माग पनि ब्रोकरहरुले अर्थमन्त्री समक्ष राखेका छन् । बजारमा भइरहेका अवान्छित गतिबिधिहरुलाई नियन्त्रण तथा निरुन्साहित गर्न बोर्ड वा नेप्सेबाट प्रमाणपत्र प्राप्त विश्लषकहरुले मात्र सार्वजनिक रुपमा समग्र बजारको मूल्य प्रक्षेपण प्रेसिन गर्न पाउने व्यवस्था गर्न समेत ब्रोकरहरुको सुझाव छ ।
धितोपत्र सम्बन्धी कसुरहरुको व्याख्या तथा त्यसता कसुरहरु गर्दा हुने दण्ड सजायलाई विस्तृत बनाई कसुर गर्ने जोकोहिलाई कानूनी दायरामा ल्याउन र कारवाही गर्न सक्ने गरी छुट्टै नियमावली तर्जुमा गर्नुपर्ने माग समेत ब्रोकरहरुको छ ।
ब्रोकरहरुले अर्थमन्त्रीसमक्ष बुझाएका १७ बुदे सुझावहरु :
१.धितोपत्रको दोस्रो बजारमा सर्बसाधारणको पहुँच सहज बनाउन तथा बजारलाई भौगोलिक रुपमा अझ बिस्तार गर्न अन्तराष्ट्रिय अभ्यासमा रहेको तर नेपालमा कानूनमा व्यवस्था भएर पनि कार्यान्वयनमा नल्याईएको आधिकारीक प्रतिनिधी वा सव–ब्रोकरको अवधारणा लागु गर्ने । यसबाट सहज रुममा दूरदराजका सर्वसाधरण जनताले सहजै धितोपत्र बजारमा पहुँच प्राप्त गर्ने र हजारौको संख्यामा नयाँ व्यवसाय वा रोजगारीको अवसर श्रृजना हुनेछ । धितोपत्र दलाल व्यवसायको संख्या वृद्धि भन्दा अन्तरराष्ट्रिय प्रचलनमा रहेका यस्ता संरचना वा व्यवस्था ले हामिले परिकल्पना गरेको पहुँच विस्तारको उदेश्य अझ प्रभावकारी रुपमा प्राप्त गर्न सकिने कुरा सुनिश्चित हुन्छ ।
२.लगानिकर्ताहरुलाई आवश्यक पर्ने विभिन्न किसिमका सेवाहरु एकद्वार प्रणालीबाट प्रवाह गरि ब्रोकर सेवा अन्तरराष्ट्रिय स्तरको बनाउन, धितोपत्रको दोस्रो बजारमा लगानिकर्ताहरुको प्रवेश सहज गराउन तथा बजार प्रति लगानिकर्ताहरुको बिश्वसनियता अझ अभिवृद्धि गर्न धितोपत्र दलाल ब्यवसायिहरुको कार्यक्षेत्र विस्तार गरि लगानी व्यवस्थापन, लगानी परामर्श सेवा, स्टक डिलर, धितोपत्रको कारोबार सम्बन्धमा आवश्यक तालिम दिन सक्ने व्यवस्था गरिनु पर्ने । हाल व्यवस्था भएको मार्जिन ट्रेडिङलाई कार्यान्वयन योग्य बनाउने ।
३.प्रत्यक्ष भौतिक उपस्थिति बिनानै विद्युतिय माध्यमबाटै नयाँ लगानिकर्ताहरुको पहिचान स्थपित गरि डिम्याट र कारोबार खाता खोल्न, मेरोशेयर र अनलाइन कारोबारको सम्झौतागरि उक्त सेवाहरु उपलब्ध गराउनसक्ने कानूनी व्यवस्था गर्ने ।
४.दोस्रो बजारलाई अझ गतिशील तथा चलायमान बनाउन विदेशी संस्थागत लगानिकर्ताहरुलाइ दोस्रो बजार कारोबारमा सहभागी गराउने; इन्ट्राडेट्रेडिङ, सेक्युरिटीज लेन्डिङ एन्ड बरोइङ (SLB), सर्ट सेलिङको सुरुवात गर्ने; इक्विटिमा आधारीत फ्युचर्स र अप्सन जस्ता डेरिभेटिभ्सको कारोबार गराउने; राइट्सको कारोबार गराउने ।
५.ऋणपत्रको दोस्रो बजार कारोबारलाई अझै गति प्रदान गर्न दैनिक रुपमा आवश्यक पर्ने ऋणपत्रसग सम्बन्धित सूचनाहरु सार्वजनिक रुपमा प्रेसित गर्ने व्यवस्था मिलाउने । ऋणपत्र जारी गरेका सूचीकृत संस्थाहरुले प्रकाशन गर्ने त्रैमासिक वित्तीय विवरणमा ऋणपत्रसग सम्बन्धित सूचना तथा तथ्यांकहरु विस्तृत रुपमा समावेश गर्नुपर्ने व्यवस्था गर्ने ।
६.दोस्रो बजारमा हुने कारोबारको सम्पन्नता सुनिस्चित गर्न लगानिकर्ताहरुले धितोपत्र दलाल ब्यवसायिहरुलाई पावर अफ अटोर्नि दिन सक्ने कानूनि व्यवस्था गर्ने तथा अक्सन मार्केटको यथासिघ्र शुरुवात गर्ने ।
७.लगानी सम्बन्धी निर्णय गर्न आवश्यक पर्ने तथा धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्भाव्य सम्पूर्ण सूचना तथा तथ्यांकहरु समावेश हुनेगरी त्रैमासिक वित्तीय विवरणको ढाचालाई अझ विस्तृत बनाउने तथा यस्ता विवरणहरु तोकिएको समय भित्रै सार्वजनिक हुने सुनिस्चितता गर्ने ।
८.बजारमा भइरहेका अवाञ्छित गतिविधिहरुलाई नियन्त्रण तथा निरुत्साहित गर्न नेपाल धितोपत्र बोर्ड वा नेप्सेबाट प्रमाण पत्र प्राप्त विश्लेसकहरुले मात्र सार्वजनिक रुपमा धितोपत्र तथा समग्र बजारको मूल्य प्रक्षेपण प्रेसित गर्न पाउने व्यवस्था गर्ने, धितोपत्र सम्बन्धि कसुरहरुको ब्याख्या तथा त्यस्ता कसुरहरु गर्दा हुने दन्ड सजायलाई अझ विस्तृत बनाइ कसुर गर्ने जोकोहिलाइ कानूनी दायराभित्र ल्याउन र कारवाही गर्न सक्ने गरि छुट्टै नियमावली तर्जुमा गर्ने ।
९. खरीद गरेको रकम तथा विक्री गरेको धितोपत्र जानाजान हस्तान्तरण नगर्ने लगानिकर्ताहरुलाई कानूनी कारबाहि हुने व्यवस्था मिलाउने । यस्ता क्रियाकलापहरुलाई धितोपत्र सम्बन्धि कसुर गरेको मानिने र छुट्टै नियमावली तर्जुमा गरी कानूनी कारबाही हुने व्यवस्था गर्ने ।
१०.भित्री कारोबार, सर्कुलर कारोबार, पम्प एन्ड डम्प जस्ता अवाञ्छित गतिविधिहरुको निगरानी गर्न सुचिकृत संस्थाका शेयरधनि, सञ्चालक, कर्मचारी, तिनका एकाघर परिवार सदस्य, नातागोता, सबैको बैंक विवरण लगायत अन्य विवरणको डेटाबेस स्थापना गर्ने तथा यस्ता गतिविधिको शंका तथा प्रमाणित गर्न सक्ने सूचना प्रविधिमा आधारीत ससक्त अनुगमन प्रणालिको स्थापना गर्ने ।
११.सूचीकृत संस्था तथा धितोपत्र दलाल व्यवसायिहरुबाट कुनै नियम वा प्रक्रियाको परिपालना नभएको अवस्थामा सूचीकृत संस्थाको कारोबार वा व्यासायीको कारोबारलाई निलम्बन गर्दा लगानिकर्ताहरु बिना कारण मारमा पर्ने हुँदा वैकल्पिक कारबाहीको व्यवस्था गर्ने ।
१२.रियल स्टेट क्षेत्रलाई बजार प्रवेश गराउन रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट नियमावली तथा लगानि विश्लेसकहरुलाइ जवाफदेहि बनाउन लगानी विश्लेसक नियमावली तर्जुमा गरी लागू गर्ने ।
१३.ओपन आउट क्राइ प्रणाली मार्फत कारोबार हुँदा लगानिकर्ताले पेश गरेको आदेश कार्यान्वयन भयो वा भएन भन्ने जानकारि दिने उद्देश्यले हरेक कारोबारमा सम्लग्न खरीद तथा विक्री गर्ने कारोबार सदस्यको सदस्यता नम्बर खुल्ने गरि दैनिक कारोबार फ्लोर सिटको व्यवस्था गरि दैनिक रुपमा सार्वजनिक गर्ने व्यवस्था गरिएको हो । सो प्रणालीमा लगानिकर्ताको नामबाट नभई सदस्य ब्यवसायिको नामबाट आदेशहरु प्रबिस्टि हुनेहुदा यस्तो सुचना प्रवाह गर्नु अतिनै जरुरी थियो । तर हाल प्रचलनमा रहेको अनलाइन कारोबार प्रणालीमा लगानीकर्ताको नामबाट मात्र प्रणालीमा आदेश प्रबिस्टि गर्न मिल्ने हुदा कारोबारमा सम्लग्न सदस्य नम्बर उल्लेख गर्न जरुरी देखिदैन । यसरी कुनै ठोस उद्देश पूरा नगर्ने व्यवस्था प्रचलनमा रहिरहदा यसको दुरुपयोग बढ्दै गएको देखिन्छ । बजारमा मुल्यमा चलखेल गर्ने, अरुको लगानि निर्णयलाई आफ्नो पक्षमा पार्ने उद्देश्यले अरुलाइ प्रभावित पार्ने जस्ता अवाञ्छित गतिविधि गर्न यसको दुरुपयोग बढ्दै गएको हुँदा फ्लोरसिटमा कारोबार सदस्य नम्बर हटाउने ।
१४.लगानिकर्ताहरुलाई तालिम दिन, लगानि सचेतना कार्यक्रम सञ्चालन गर्न, बजार सम्बद्ध निकायका कर्मचारिहरुलाइ आवश्यक तालिम दिन तथा प्रमाणीकरण गर्न, लगानी विश्लेसकहरुलाई प्रमाणीकरण गर्न, नयाँ औजार तथा कारोबार पद्धतिहरुको बारेमा र पूँजीबजार तथा अर्थतन्त्रको बारेमा अध्ययन अनुसन्धान गर्न एक छुट्टै निकायको स्थापना गर्ने ।
१५.कम्पनी रजिस्ट्रारको कार्यालय अन्तर्गत रहेको लगानिकर्ता संरक्षण कोषलाई धितोपत्र बोर्ड तथा नेप्सेको मातहतमा ल्याइ कोषको मर्म बमोजिम प्रभावकारी रुपमा सञ्चालन गर्ने ।
१६.सबैभन्दा पारदर्शी र बिस्वासिलो रहेको धितोपत्र दलाल व्यवसायलाई अझ पारदर्शी बनाउन तथा आम लगानिकर्ताको सहभागिता मार्फत संस्थागत रुपमा यस प्रति सर्वसाधारणको बिस्वस्नियता अझ सुदृढ गर्न निस्चित रिपोर्टिङका प्रावधान राखि ब्रोकर प्रोप्राइटरि ट्रेड खुलाउने तथा दलाल ब्यवसायि कम्पनिहरुले सर्बसाधारणमा शेयर जारी गर्न पाउने सुनिश्चित गरेर मात्र व्यवसायीलाई पब्लिक लि. कम्पनीमा रुपान्तरण गर्ने कानूनी व्यवस्था गर्ने ।
१७. धितोपत्रको निक्षेप र दोस्रो बजार कारोबार तथा राफसाफका लागि प्रयोगमा रहेका केन्द्रिय निक्षेप प्रणाली, नेप्सेको कारोबार प्रणाली, व्यवसायीले प्रयोग गर्ने आदेश तथा जोखिम व्यवस्थापन प्रणाली, राफसाफ प्रणाली तथा व्यवसायीहरुले प्रयोग गर्ने व्याक अफिस प्रणाली सबैलाई API का माध्यमबाट अन्तर आबद्धता हुने व्यवस्था गर्ने ।