संस्कृत मनीषिहरूको परिभाषा सापट लिएर भन्ने हो भने जसमार्फत हितकारक भावनाको प्रसार हुन्छ, त्यसैलाई साहित्य भनिन्छ । कुनै पनि भाषाको कलात्मक लालित्यले परिपूर्ण लिखित वा मौखिक अभिव्यक्रि साहित्यको कोटिमा पर्छ । नेपाली बृहत् शब्दकोशका अनुसार कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ, लेख आदि वाङ्मयलाई साहित्य भनिन्छ । अर्को शब्दमा जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि नै साहित्य हुन् । साहित्यको सम्बन्ध मान्छेको मन र हृदयसँग रहन्छ । मनको भूमिका प्रधान हुने हुँदा साहित्य र साहित्यकार अलिक स्वच्छन्द प्रकृतिका हुन्छन् । राजनीति, समाज, धर्मजस्ता अनेकौँ सीमा, बन्धन र बारहरू साहित्यकारलाई मन पर्दैन । यस्ता सीमा र बन्धनको अतिक्रमण गर्नसमेत उनीहरू बेर लगाउँदैनन् । त्यसैले पाश्चात्य दार्शनिक प्लेटोले आफ्नो युटोपिया (काल्पनिक गणराज्य) मा कवि लेखकलाई प्रवेश निषेध गरेका थिए । प्रसिद्ध चिन्तक बीपी कोइरालाले भनेका थिए– ‘राजनीतिमा म समाजवादी हुँ भने साहित्यमा अराजकतावादी ।’ उनले बताएको अराजकताको अर्थ कुनै अनुशासन नभएको वितण्डावादी भनेको होइन, बरु स्वच्छन्द र स्वतन्त्र चिन्तनमा विश्वास गर्ने स्वयं अनुशासित व्यक्ति भनेको हो ।