सडकमा व्यापार नगरीकन हाम्रो मुखमा माड लाग्दैन । आम्दानी हुने अरू कुनै काम छैन । बालबच्चा छन्, उनीहरूलाई पाल्नै पर्यो । उनीहरूलाई पढाउन पनि परिहाल्यो । यस्तो अवस्थामा हामीले अरू के गर्न सक्छौं र ? तर, पुलिस र नगरपालिकाले हाम्रो समस्या बुझेका छैनन् । हामीलाई सडकमा व्यापार गर्न पनि समस्या छ । कहिले कसले, कहिले कसले बाधा पार्छन् । पहिले टंगालधारामा सडकपेटीमा पसल थियो । त्यहाँ घरबेटीले राख्न दिएन, उठाइदियो । त्यसपछि गाडामा सामान राखेर हिँड्न लागेको हो । यसो गर्दा पनि सुख छैन । दिनदिनै टहलिँदै हिँड्नुपर्छ । आइमाई मान्छे हिँड्नलाई पनि समस्या हुन्छ । व्यापार हुँदैन । नगरपालिकाले साह्रै दु:ख दिन्छ । बारम्बार लखेट्न आउँछ । हामीलाई गरिखान पनि दिँदैनन् । सधैभरि हामीलाई लखेटिरहन्छ । भनेजस्तो व्यापार पनि हुँदैन । कहिलेकाहीँ दिनको २–३ सयको व्यापार हुन्छ । कहिले त्यो पनि हुँदैन । त्यसमाथि चन्दा लिनेहरूले पनि दु:ख दिएका छन् । हामी सडकमा सानो व्यापार गर्नेसँग पनि धेरै चन्दा माग्छन् । सडकमा फोहोरमैला उठाउनेले पनि दु:ख दिन्छन् । हामीले सबैतिरको सास्ती ब्यहोर्नुपरेको छ । सरकारले हामीलाई अन्त व्यापार गर्ने ठाउँ दिए हामी सडक छाड्न तयार छौं । हामीले गर्दा बाटोमा हिँड्नेलाई समस्या परेको छ भन्ने हामीलाई पनि थाहा छ ।
(सडक व्यापारी सीता श्रेष्ठसँगको कुराकानीबाट)
वर्ष ६, अंक ७१, बुधवार, १५ मंसिर, २०६७