हस्तकला सामग्रीको निर्यात ५० प्रतिशतले घट्यो

काठमाडौं । हस्तकला सामग्रीको निर्यात व्यापार ५० प्रतिशतले घटेको छ । संसारभर फैलिएको कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन पुग्दा हस्तकला सामग्रीको निर्यातमा गिरावट आएको बताइएको छ । निर्यात व्यापार र पर्यटन क्षेत्रसँग सम्बद्ध व्यापार भएकाले कोरोना महामारीले यसलाई प्रत्यक्ष रूपमा असर गरेको हो । नेपाल हस्तकला महासंघका अनुसार कोरोना महामारी शुरू हुनुअघि प्रत्येक वर्ष नेपालबाट विश्व बजारमा १० देखि १२ अर्ब रुपैयाँ बराबरको हस्तकला सामग्रीको निर्यात हुने गर्दथ्यो । तर, करीब २ वर्षदेखि कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नै आक्रान्त पारेपछि हस्तकलाको निर्यात व्यापार पनि करीब ५० प्रतिशतले घट्दै ६ अर्ब जतिमा सीमित भएको छ । महासंघका मेला समिति संयोजक रवीन्द्र शाक्यले महामारीका कारण व्यापार संकुचन भएर ५० प्रतिशतमा सीमित हुन पुगे पनि व्यवसाय धराशयीतर्फ नजाने कुरामा आफू ढुक्क रहेको बताए । महामारीले दिएको चोटलाई अवसरमा बदल्दै व्यवसायलाई नयाँ तरीकाले सञ्चालन गर्न महासंघले ई–कला नेपाल नामक अनलाइन पोर्टलसमेत सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिए । उक्त अनलाइन पोर्टलचाहिँ मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिताको अवसरमा सञ्चालनमा ल्याइनेछ । नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार वार्षिक रूपमा नेपालको आन्तरिक बजारमा रू. ६ अर्ब बराबरको हस्तकलाका सामग्री विक्री हुने गर्छन् । नेपाली हस्तकला सामग्रीको ठूलो बजार भनेको अमेरिका, चीन र अन्य यूरोपेली मुलुकहरू नै हुन् ।

सम्बन्धित सामग्री

हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो

काठमाडौं । युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए । उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो । यसवर्ष गतवर्षको […]

हस्तकलाका सामग्रीको निर्यात घट्यो

आर्थिक वर्ष ०६६/६७ मा हस्तकलाका सामग्रीको निर्यात १२ दशमलव १५ प्रतिशतले घटेको छ । राजनीतिक अस्थिरता, हस्तकलाका सामग्रीमा प्रयुक्त रङको गुणस्तरमा कमी, बढ्दो निर्यात लागतजस्ता कारणले निर्यात घटेको नेपाल हस्तकला महासंघका अध्यक्ष विकास धाख्वाले बताए । गत आवमा रू १ अर्ब ४७ करोड बराबरको सामग्री निर्यात भएको महासंघले जानकारी दिएको छ । अघिल्लो आव ०६५/६६ मा रू. १ अर्ब ६७ करोड बराबरको हस्तकलाका सामग्री निर्यात भएको थियो । विश्वव्यापी आर्थिक मन्दीका कारण निर्यातमा असर परेको बताइएको छ । अध्यक्ष धाख्वाका अनुसार सामग्री निर्माण गर्दा गुणस्तर र रङको छनोटमा विशेष ध्यान दिन सकिएमा निर्यात वृद्धि हुन सक्छ । गत आवमा नेपालबाट निर्यात भएका हस्तकलाका सामग्रीमध्ये पश्मिना, ऊनीका सामग्री, पोतेबाट बनेका सामग्री, धातुबाट निर्मित मूर्ति, हेम्प, अल्लो र सुतीजन्य वस्तु, ढाकालगायतका सामग्रीको निर्यात घटेको महासंघले जानकारी दिएको छ । अन्य वस्तुको निर्यातमा भने वृद्धि भएको बुझिएको छ । नेपालबाट करीब ४० प्रकारका हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । नेपालबाट विश्वका ७० मुलुकमा हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । ती सामग्री निर्यात भएका देशहरूमा संयुक्त राज्य अमेरिका, जर्मनी, क्यानडा, संयुक्त अधिराज्य, जापान, फ्रान्स, इटाली, डेनमार्क, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स, बेल्जियम, अष्ट्रेलिया, भारत, चीन आदि छन् । वर्ष ६, अंक ३६, बिहीवार, २८ असोज २०६७

पर्यटकको आउजाउ घटेसँगै खस्कियो हस्तकला व्यापार

गण्डकी- कोभिड–१९ महामारी पूर्व पोखराबाट बर्सेनि दुई करोड रुपैयाँ बढीको हस्तकला सामग्री विदेश निर्यात हुन्थ्यो । स्वदेशी बजारमा पनि राम्रै माग थियो । कोभिडयता पर्यटकको आउजाउ घटेसँगै हस्तकला व्यापार पनि खस्कियो । अन्तर्राष्ट्रिय बजारमा माग घट्यो । महामारी थामिए पनि हस्तकलाको व्यापार भने अझै पूर्ववत् स्थितिमा फर्कन सकेको छैन । बिस्तारै तङ्ग्रिने बाटोमा भने छ […]

ढुंगाको मूर्ति निर्यात घट्यो

चालू आर्थिक वर्षमा ढुंगाको मूर्ति निर्यात घटेको छ । अरनिको स्टोन कार्भिङका सञ्चालक तथा नेपाल हस्तकला महासंघका उपाध्यक्ष धर्मराज शाक्यका अनुसार गत आर्थिक वर्ष झन्डै रू. ३८ लाखको मूर्ति नियात भएको थियो । यो वर्ष रू. ३६ लाख मात्र निर्यात भएको छ । ढुंगाको मूर्ति बनाउने उद्योगहरूको वार्षिक कारोबार झन्डै रू. १ करोडको हुने गरेको उनले बताए । जापान, फ्रान्स र इटालीमा ढुंगाको मूर्ति नियाँत हुँदै आएको छ । ‘आन्तरिक तथा बाह्य दुवै क्षेत्रमा मागमा कमी आएको छ ।’ उपाध्यक्ष शाक्यले भने । उपत्यकामा हाल १० वटा ढुंगे मुर्ति बनाउने उद्योग सञ्चालनमा रहेको हस्तकला महासंघले जानकारी दिएको छ । एउटाु ढुंगाको मूल्य आकार अनुसार रू. २ सयदेखि १० हजारसम्म पर्छ । दक्ष कालीगढको अभावले मूर्ति उद्योग संकटमा पर्दै गएको सिल्प प्रस्तर केन्द्रका सञ्चालक विजयराज शाक्यले बताए । ‘यस पेसामा अहिले करिब सय जनामात्र कालीगढ काम गर्छन्,’ उपाध्यक्ष शाक्यले भने । वर्ष दिनमा २० जना कालीगढले आफ्नो उद्योगमा काम छाडेको उनले जानकारी दिए । ‘पौराणिक कथाहरू र चित्रकारिताको ज्ञान भएकाले मात्र यो पेसा अँगाल्न सक्छ’ उनले भने । ढुंगाको मूर्ति बनाउने काम शाक्य र शिल्पकार जातिको परम्परागत पेसा हो । त्रिविअन्तर्गतको ललितकला क्याम्पस र काठमाडौं विश्वविद्यालयमा मूर्तिकलाको अध्यापन भइरहेको छ तर विद्यार्थीको अभावले काठमाडौं विश्वविद्यालयले यो विषय नै हटाउन थालेको बताइएको छ । वर्ष ५, अंक ४२, २०६७, असार ७–१३