साउन ३१, बर्दिया । बर्दिया बंगुर मिसन र मकै मिसन कार्यक्रम हबका रुपमा विकास हुँदै गएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति र आर्थिक वर्ष २०७८÷७९को कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकीकरण गरेका थिए । उनले गत आवमा रू. १४ करोड १६ लाख ४४ हजार बजेटमध्ये गत वर्ष रू. नौ करोड ५७ लाख बराबरको कार्यक्रम तथा खर्च गरेको जानकारी गराए ।
स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ मकै, आलु, बाख्रा, बंगुरको मूल्य श्रृंखला विकासमा अब्बल बन्दै दिगो व्यावसायिक उत्पादन शुरु भएको उनले बताए । आव २०७७/७८ मा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको ६७ दशमलव ५६ प्रतिशत वित्तीय प्रगति गरेको छ ।
आव २०७७/७८को वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकरण गर्दै कार्यालय प्रमुख घिमिरेले करार खेती कार्यक्रममा लक्ष्यअनुसार ६० हेक्टरमा कार्यक्रम सञ्चालन भएकोमा खाद्यान्नबालीमा संलग्न कृषक क्रमशः बीउ उत्पादनतर्फ आकर्षित भएको बताए ।
यहाँको घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्क पठाइएको र स्थानीय थारू आलुको बजारीकरणमा केही सफलता मिलेसँगै घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्कमा पठाइएको उनले जानकारी गराए ।
बंगुर स्रोत केन्द्र, बगुर मिसन र बंगुर स्मार्ट गाउँ केन्द्रित रहेको बारबर्दिया र बाँसगढी क्षेत्र बंगुरको हबका रूपमा विकसित भइरहेको उनले बताए । चालू आवमा सो कार्यक्रमका लागि रू. १७ करोड ९३ लाख कुल बजेट छुट्टयाइएको छ । रासस