खिम्ती स्वामित्व हस्तान्तरण प्रकरण : म्याद नाघेको डेढ वर्ष पुग्यो, टुंगिएन प्रक्रिया

काठमाडौं । खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत शेयर तोकिएको मिति सकिएको झन्डै डेढ वर्ष पुग्न लाग्दासमेत सरकारलाई हस्तान्तरण हुन सकेको छैन । सरकार र प्रवर्द्धक कम्पनी हिमाल पावरबीच भएको सहमतिअनुसार २०७७ असार २७ गतेदेखि उक्त आयोजनाको ५० प्रतिशत शेयर निःशुल्क रूपमा नेपाल विद्युत् प्राधिकरणको हुनुपर्ने हो । तर, अझै हस्तान्तरण हुन नसकेको हो । अझै पनि शेयर स्वामित्व हस्तान्तरणको लागि छलफल नै जारी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा प्राधिकरणका अधिकारीहरू बताउँछन् । उनीहरू प्रवद्र्धक कम्पनीसँग २ वर्षदेखि नै छलफलमा छन् । तर, ठोस निर्णय भएको छैन । आफूहरू यस विषयमा अझै पनि छलफलकै चरणमा रहेको प्राधिकरण तथा मन्त्रालयका अधिकारीहरूको भनाइ छ । मन्त्रालयका प्रवक्ता तथा सहसविच मधुप्रसाद भेटुवालले खिम्ती आयोजनाको स्वामित्व हस्तान्तरण गर्ने विषयमा छलफल भइरहेको बताए । केही विषयमा सहमति हुन नसक्दा टुंगोमा पुग्न नसकिएको उनको भनाइ छ । ‘पूर्व सहमतिअनुसार आयोजनाको ५० प्रतिशत शेयर सरकार (प्राधिकरण)को हुनुपर्र्ने हो । तर, त्यति शेयर सरकारले पाएपछि पनि सोही कम्पनीले नै आयोजना सञ्चालनको जिम्मेवारी लिनुपर्ने भनिएको छ,’ उनले भने, ‘यी यस्ता विषयमा उनीहरूले असहमति व्यक्त गरेका छन् । यसमा सहमति हुन नसक्दा यो विषय टुंगोमा पुग्न सकेको छैन ।’ यता, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिमाल पावरकै कारण स्वामित्व हस्तान्तरणको प्रक्रिया लम्बिएको बताए । ‘खिम्ती आयोजनाको स्वामित्व हस्तान्तरणका लागि पीपीएलगायत विषयमा छलफल भइरहेको छ । हामी छलफलकै चरणमा छौं,’ उनले भने, ‘तर, यसमा ढिलाइ भने उनीहरूकै कारण भएको छ । हामीबाट भएको छैन ।’ स्वामित्व हस्तान्तरणको विषयमा कोरोनाका कारण पनि ढिलाइ भएको बताइएको छ । हिमाल पावरमा विदेशी लगानीकर्ता छन् । तर, कोरोनाका कारण लामो समयसम्म भौतिक रूपमा छलफल हुन सकेन । केही समयअघि उनीहरू नेपाल आएका थिए । त्यसबेला भौतिक रूपमा छलफल भए पनि निष्कर्ष निस्कन सकेन र उनीहरू स्वेदश फर्किका थिए । त्यसपछि भौतिक रूपमा छलफल हुन सकेको छैन । निजीक्षेत्रले बनाएको जलविद्युत् आयोजना निश्चित समयपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान छ । यसरी निजीक्षेत्रबाट सरकारलाई हस्तान्तरण हुन लागेको यो पहिलो आयोजना हो । तसर्थ, यसको स्वामित्व हस्तान्तरणको विषयलाई उच्च प्राथमिकताका साथ हेरिएको छ । मन्त्रालयका प्रवक्ता भेटुवालले पनि उच्च प्राथमिकताका साथ यस विषयमा काम भइरहेको दाबी गरे । ‘यो सरकारलाई आउन लागेको पहिलो जलविद्युत् आयोजना हो । त्यसैले यसमा गलत नजिर बस्न दिनु हुँदैन । अहिले केही कमजोरी भयो भने पनि अन्य आयोजनाहरू हस्तान्तरण गर्दा अप्ठ्यारो परिस्थिति हुन सक्छ,’ उनले भने, ‘अन्य प्रवद्र्धकहरूले यही विषयलाई लिएर थप शर्तहरू राख्न सक्छन् । त्यसकारण हामीले यस विषयमा गम्भीर भएरै काम गरेका छौं ।’ स्वामित्व हस्तान्तरण प्रक्रिया टुंगो लगाउन प्राधिकरण र प्रवद्र्धक कम्पनी दुवैको स्वामित्व हुनेगरी संयुक्त कम्पनी स्थापना गर्नुपर्ने हुन्छ । त्यसपछि सोही कम्पनीले प्राधिकरणसँग विद्युत् किनबेच दर सम्झौता (पीपीए) गर्नेछ । तर, अझै पनि संयुक्त कम्पनी स्थापना भएको छैन । साथै, पीपीएको विषयमा पनि ठोस सहमति जुट्न नसकेको बताइएको छ । यद्यपि, अबको पीपीए भने नेपाली रुपैयाँमा नै हुने गरी दुवै पक्ष सहमत भने भएका छन् । आयोजनाको पीपीए अमेरिकी डलरमा भएको थियो । कानूनले पनि १०० मेगावाटभन्दा तलको आयोजनाको पीपीए विदेशी मुद्रामा गर्न नपाइने व्यवस्था गरेको छ । त्यसअनुसार अब उक्त कम्पनीसँग नेपाली रुपैयाँमै पीपीए हुने पक्का भइसकेको छ । हिमाल पावरले सन् २००० जुलाईदेखि सञ्चालनमा ल्याएको यो निजीक्षेत्रको लगानीमा निर्मित पहिलो जलविद्युत् आयोजना हो । आयोजनामा नेपालको बुटवल पावर कम्पनी लिमिटेड, नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एसलगायत कम्पनीको समेत लगानी छ । तत्कालीन सरकार र कम्पनीबीच उत्पादन शुरू भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुनेगरी सम्झौता गरिएको थियो । आयोजनाबाट विद्युत् उत्पादन भएको २०७७ असार २७ गते नै २० वर्ष पुगिसकेको छ । त्यसअनुसार त्यसदिनदेखि नै आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व निःशुल्क रूपमा प्राधिकरणमा आउनुपर्ने थियो । आयोजना सञ्चालनमा आएको ५० वर्षपछि भने शतप्रतिशत स्वामित्व प्राधिकरण अर्थात् सरकारको हुने सम्झौता छ । अन्तरिम सम्झौताको म्याद असार मसान्तसम्म स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिएपछि प्राधिकरण र हिमाल पावरबीच भएको अन्तरिम सम्झौताको म्याद आगामी असार मसान्तसम्म पु¥याइएको छ । पछिलोपटक उक्त सम्झौताको अन्तिम म्याद साउन मसान्तसम्म थियो । तर, त्यो अवधिमा स्वामित्व हस्तान्तरण हुन नसकेपछि आगामी असारसम्मका लागि म्याद थप गरिएको हो । अब असारसम्म मसान्तभित्र स्वामित्व हस्तान्तरणको काम सक्काउने गरी काम गर्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । स्वामित्व हस्तान्तरणको काम नटुंगिएपछि तत्काललाई आयोजना सञ्चालन गर्न प्राधिकरण र हिमाल पावरबीच अन्तरिम सम्झौता भएको थियो । त्यसअनुसार प्राधिकरणले प्रतियुनिट २ रुपैयाँमा उक्त आयोजनाबाट विद्युत् खरीद गर्दै आएको छ ।

सम्बन्धित सामग्री

खिम्ती जलविद्युत् आयोजना : पीपीए सकिएको ३ वर्ष भयो नयाँ पीपीएमा अन्योल कायमै

काठमाडौं। हिमाल पावर लिमिटेडद्वारा सञ्चालित खिम्ती जलविद्युत् आयोजनाको ऊर्जा खरीद सम्झौता (पीपीए) को म्याद सकिएको ३ वर्ष भइसक्दा पनि नयाँ पीपीए हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र (नर्वेजियन कम्पनी) हिमाल पावर लिमिटेड आ-आफ्नो अडानमा कायमै रहँदा नयाँ पीपीए हुन नसकेको हो । नेपाल विद्युत् प्राधिकरण र हिमाल पावरबीच शुरूमा २०५१ मङ्सिरमा खिम्तीको बिजुली खरीदविक्री सम्झौता भएको थियो । प्रारम्भिक पीपीए २० वर्षका लागि थियो । ६० मेगावाट क्षमताको उक्त आयोजनाबाट अचेल वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन भइरहेको छ । यो आयोजनाबाट ५० वर्ष विद्युत् उत्पादन गर्ने अनुमति हिमाल पावर लिमिटेडलाई छ । हिमाल पावरमा बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को १७ प्रतिशत र नर्वेजियन कम्पनीहरूको ८३ प्रतिशत शेयर छ । प्रारम्भिक सम्झौताअनुसार खिम्तीको आधा स्वामित्व २० वर्षपछि नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण हुनुपथ्र्यो । स्वामित्व हस्तान्तरण भएपछि संयुक्त कम्पनी गठन गर्नुपर्ने हुन्छ । संयुक्त कम्पनी बनिसकेपछि अर्को पीपीए गर्नुपर्छ । तर, २०७७ असारमा पुरानो पीपीएको म्याद सकिए पनि संयुक्त कम्पनी गठन हुन सकेको छैन । यसले गर्दा नयाँ पीपीए अन्योलमा परेको छ । नेपाल विद्युत् प्राधिकरण र हिमाल पावर लिमिटेड दुवै कम्पनी गठन र नेतृत्वको विषयमा आफ्नो अडानबाट टसमस नहुँदा सहमति हुन नसकेको हो । हिमाल पावरका अधिकारीहरूले प्रारम्भिक सम्झौतामा आयोजना अवधिभर मर्मत र सञ्चालनको अधिकार हिमालको हुने भनेकाले निणर्य लिने अधिकार आफ्नो हुनुपर्ने तर्क गरिरहेको ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन् । यी विषयमा हिमाल पावर लिमिटेडले लिएको निणर्य सबैले मान्नुपर्ने भन्ने उनीहरूको तर्क भए पनि आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणको हुने हुँदा एकतर्फी निणर्य नचल्ने ऊर्जा मन्त्रालयका प्रवक्ता मधु भेटवालको भनाइ छ । ‘उहाँहरूले भनेअनुसारको शर्त पालना कम्पनी ऐनको प्रतिकूल हुन्छ । हामी एउटा सीमासम्म हिमालको निणर्य मान्न सकिन्छ भन्नेमा लचिलो भएका हौं । तर, उहाँहरूले पूरै निणर्य आफ्नै चल्नुपर्छ भनिरहनुभएको छ । त्यस्तो गर्न सकिँदैन,’ उनले भने, ‘हिमाल प्रारम्भिक पीपीएको फ्रेमवर्कभित्र रहेर सम्झौता गर्न सहमत भए निष्कर्ष निस्कन सक्छ । हामीले हिमाललाई नै त्यस्तो प्रस्ताव ल्याउन भनेका छौं । उहाँहरूबाट कस्तो प्रस्ताव आउँछ, अहिले हामी त्यही कुरिरहेका छौं ।’ पीपीएको समय सकिएयता विद्युत् प्राधिकरणले बिजुली खरीदबापत हिमाललाई प्रतियुनिट २ रुपैयाँका दरले अन्तरकालीन भुक्तानी गरिरहेको छ । यसको समय पनि यही असार मसान्तमा सकिँदै छ । मन्त्रालयका प्रवक्ता भेटवालका अनुसार हिमाल नयाँ सम्झौताका लागि सहमत नभए आगामी दिनमा पनि नेपाल विद्युत् प्राधिकरणले अहिलेकै जसरी २ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्छ । यसमा प्राधिकरणलाई धेरै व्ययभार पनि परिरहेको छैन । खरीद प्रक्रिया अहिलेकै जसरी अगाडि बढ्छ। खिम्ती जलविद्युत् आयोजना विवादको विषयमा आर्थिक अभियानले हिमाल पावर लिमिटेडसँग बुझ्न खोज्दा ‘नेगोसिएशन भइरहेका बेला प्रतिक्रिया नदिने’ भन्दै कम्पनीका अधिकारीले कुरा गर्न चाहेनन् । सन् २०४५ सम्म खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व नेपाल विद्युत् प्राधिकरण र हिमाल पावर लिमिटेडबीचमा आधाआधा रहे पनि त्यसपछि नेपाल विद्युत् प्राधिकरण (नेपाल सरकार) को पूर्ण स्वामित्व नै हुनेछ ।

ठेकेदारले सेनालाई बुझायो होल्डिङ सेन्टर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४, भवानीयापुरमा बनेको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ। ठेकेदार कम्पनी हनुमान कन्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गरेको हो। २०७८ साउनमा सम्झौता भएर निर्माण थालिएको होल्डिङ सेन्टर पटक-पटक म्याद थप्दै सम्पन्न गरिएको थियो। होल्डिङ सेन्टर एक […]