स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्ड्स : दुई महिलाले सुनाए उद्यम कथा

काठमाडौं । ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवाड्र्स’अन्तर्गत दुई महिला उद्यमीले उद्यम यात्रा कथा सुनाउने कार्यक्रम सम्पन्न भएको छ । सोमवार ललितपुरको सेन्टर फर लिडरसिप एण्ड आन्त्रप्रेनरसिपमा आयोजित ‘नियात्रा– शी ओडिसी’ नामको कार्यक्रममा बसुमाया तामाङ र सेवा पाठकले आफ्ना उद्यम यात्रा कथा सुनाएका थिए । तामाङ नेपाली मन उद्योगकी सञ्चालक र पाठक भायानेट कम्यूनिकेशन्स प्रालिकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । नेपालमै पाइने टिमुरको छोप (अचार) उत्पादन गरी विश्वका विभिन्न मुलुकमा पठाउन सफल तामाङले यो अवस्थासम्म आइपुग्दा भोगेका अनुभव सुनाइन् । उनले खोलाको बालुवा बोकेर गुजारा चलाएकोदेखि मैनबत्ती बनाएकोसम्म कथा सुनाइन् । टिमुरको अचार बनाउन थाल्नुअघि उनले  ठेलामा व्यापार गरेकोसमेत बताइन् । हाल उनको उद्योगमा ९० जना महिलाले काम गर्छन् । बेलायतमा शाखा विस्तार गरिसकेकी तामाङले चाँडै दुबईमा पनि शाखा खोल्ने तयारी भइरहेको जानकारी गराइन् । ‘जस्तोसुकै परिस्थिति आउँदा पनि हरेस नखाई संघर्ष गर्दा आज यो अवस्थामा आइपुगेकी छु,’ कथा सुनाउने कार्यक्रममा उनले भनिन् । उद्योगमा आउन चाहने महिलालाई अरूले गरिरहेको भन्दा फरक किसिमको काम गर्न सुझाइन् । सोही कार्यक्रममा बोल्दै भायानेटकी सीईओ पाठकले चार्टर्ड एकाउन्टेन्ट भएपछि शुरूका दिन शिखर इन्स्योरेन्समा फाइनान्स मेनेजरमा काम गरेको अनुभव सुनाइन् । केही समयपछि श्रीमान्को कम्पनी भायानेटमा काम गर्न थालेको बताइन् । ‘फाइबर टू द होम’ प्रविधि आएपछि त्यसको कार्यान्वयनका लागि कम्पनीमा पूर्ण रूपमा काम गरेको उनको भनाइ छ । समयक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा काम गर्न थालेको बताइन् । उनले विभिन्न बैंकमा कर्जाका लागि व्यावसायिक योजना बनाएर पेश गर्दा आफूलाई भन्दा श्रीमान्लाई मात्र व्यावासायिक प्रश्न गर्ने गरेको बताइन् । उनी थप्छिन्, ‘महिलालाई पत्याउने वातावरण अझै बनेको छैन ।’ आफ्नो मानसिकतामाथि विजय गर्न सकेमात्र व्यवसायमा विजय हासिल गर्न सकिने अनुभव उनको छ । पारिवारिक र व्यावसायिक जिम्मेवारी दुवैलाई एकसाथ अघि बढाउन जो कोहीलाई समस्या हुन्छ । यो अवस्थामा प्राथमिकताका आधारमा समय दिन सके सफल बन्न सकिने धारणा पाठकको छ । कार्यक्रममा सेन्टर फर लिडरसिप एण्ड आन्त्रप्रेनरसिपका एकेडेमिक डाइरेक्टर विजयआनन्द शर्मा तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । न्यू बिजनेश एजका अध्यक्ष तथा प्रधानसम्पादक मदन लम्सालले कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न प्रोफेशनल र महिला उद्यमीको सहभागिता थियो । अन्तिम कार्यक्रम वैशाख ९ गते काठमाडौंमा हुने समिट एण्ड अवार्डस्को मुख्य प्रयोजक स्ट्याण्डर्ड चार्टर्ड बैंक र सहप्रायोजक मुक्तिनाथ विकास बैंक लिमिटेड छन् । मेडिकल पार्टनर स्टार हस्पिटल, नलेज पार्टनर सेन्टर फर लिडरसिप एण्ड आन्त्रप्रेनरसिप, एयरलाइन्स पार्टनर टर्किस एयरलाइन्स, इकमर्श पार्टनर दराज, ननलाइफ इन्स्योरेन्स पार्टनर नेको इन्सुरेन्स लिमिटेड, इन्टरनेट पार्टनर डिसहोम फाइबर नेट छन् । यो कार्यक्रमलाई कृषि विकास बैंक, सिप्रदी, रिलायबल लाइफ इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स लिमिटेड, नेशनल लाइफ इन्सोरेन्स, नेपाल महिला उद्यमी महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र बैंकले पनि सहयोग गरेका छन् । न्यू बिजनेश एजले विगतमा पनि उद्योग व्यवसाय र उद्यमशीलताको प्रवर्द्धनमा सघाउने विभिन्न कार्यक्रम गर्दै आएको छ । महिला उद्यमीलाई सम्मान गर्ने यस्तै कार्यक्रम गत वर्ष जनवरी ३१ मा सम्पन्न भएको थियो ।

सम्बन्धित सामग्री

स्टयाण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स : विज्ञका नजरमा समिट

महिला देशका पूँजी हुन् डा. प्रकाशशरण महत अर्थमन्त्री दुई हजार महिला उद्यमीबाट छनोट गरेर विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने उत्कृष्ट उद्यमी सम्मानित हुनु गर्वको विषय हो । कति अवार्ड दिइयो, कति सहयोग गरियो त्यो महत्त्वपूर्ण होइन । उद्यमीहरूले गरेको कामलाई पहिचान दिने काम न्यू बिजनेश एजले गरेको छ । सुदूरपश्चिमदेखि कोशीसम्मका ट्राभल, ज्वेलरी, हर्टिकल्चर, फ्लोरिकल्चरदेखि पुष्टकारीसम्मका उद्यमी सम्मानित हुनु राम्रो कुरा हो । यसले पनि के देखाउँछ भने नेपालको अर्थतन्त्रमा महिलाको योगदान बढ्दो छ । घरको अर्थतन्त्र महिलाहरूले चलाइरहेका थिए । अब देशको अर्थतन्त्र पनि उहाँहरूको हातमा आउँदै छ भन्ने संकेत यसले दिएको छ । अहिले नेपालका थुपै्र युवा विदेशमा छन् । त्यसैले पनि नेपाली अर्थतन्त्र चलायमान बनाउन अब महिलाको भूमिका महत्त्वपूर्ण हुनेछ । र, यो आन्त्रप्रेनरशिपलाई प्रवर्द्धन गर्न हामीले उच्च प्राथमिकता दिनुपर्छ । सरकारले उच्च प्राथमिकता दिन्छ । अहिलेको बजेटमा त्यो खालको प्रस्तावसमेत गरिएको छ । महिला सशक्तीकरणलाई प्राथमिकता साथ राखिएको छ, जसअनुसार पाँचखालमा पहिलोपटक महिला औद्योगिक ग्राम बनाउने भनिएको छ । महिला उद्यमीलाई उद्योग व्यवसाय गर्न त्यो ठाउँ दिने भनिएको हो । त्यस्तै स्टार्टअपलाई प्रवर्द्धन गर्न सरकारले स्टार्टअप फन्डको व्यवस्था गरेको छ । रिसर्च, स्टार्टअपलगायत उद्यमशील क्षेत्रलाई छुट्टै फन्ड विनियोजन गरेका छौं । सरकारले ल्याएका यी विभिन्न योजनाको महिला उद्यमीले भरपूर उपभोग गर्ने अपेक्षा छ । त्यसका लागि कार्यविधिसमेत बन्दै छ । त्यसमा आवेदन दिनका लागि पनि म आह्वान गर्दछु । महिला देशका पूँजी हुन् । उद्यममा स्थिरता चाहिने भएकाले यसमा महिलाको भूमिका र डेडिकेशन राम्रो देखिन्छ । पुरुष धेरै अस्थिर हुने भएकाले अबको नेतृत्व महिलाले लिनुपर्छ । यो महिलालाई नेतृत्व लिने अवसर पनि हो । पहिलाजस्तो मार्केटिङ गर्न असहज छैन ।  इन्नोभेशनमा पनि महिलाको सहभागिता बढ्दो छ महाप्रसाद अधिकारी गभर्नर, नेपाल राष्ट्र बैंक महिला उद्यमीलाई तेस्रोपटक सम्मानित गर्न सफल भएकोमा सर्वप्रथम न्यू बिजनेश एजलाई राष्ट्र बैंक, गभर्नरका तर्फबाट बधाई दिन्छु । सन् २०२२ मा विश्वभर लैंगिक असन्तुलनमा ४ प्रतिशतले सुधार आएको छ । नेपालमा पनि नेपाल सरकारले ल्याएका नीतिहरूले लैंगिक असन्तुलनको दूरीलाई परिपूर्ति गर्न धेरै हदसम्म काम गरेको देखिन्छ । यसै क्रममा नेपाल सरकारले सहुलियतपूर्ण कर्जा र राष्ट्र बैंकले विनाधितो कर्जा दिने नीति लिएको छ । अहिले विनाधितो १५ लाखसम्म सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसका कारण सहुलियतपूर्ण कर्जामा सहभागी महिलाको संख्या बढ्दो क्रममा देखिन्छ । कोभिडका बेला नेपाल राष्ट्र बैंकले थप सुविधाको व्यवस्था गरेको थियो । संकटमा परेका उद्यमीलाई माथि उठाउन त्यसले धेरै मद्दत पुगेको देखिन्छ । महिला उद्यमीले पाएको कर्जाको तथ्यांक हेर्ने हो भने ८३ हजार ३०० ऋणीलाई ६१ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको छ । आजभन्दा ३ वर्षअघिलाई हेर्ने हो भने २५–३० हजार उद्यमीले मात्रै यस्तो कर्जा पाएको देखिन्छ । तर, पछिल्ला दिनमा ठूलो मात्रामा कर्जा प्रवाह गरिएको छ । यसले पनि महिलालाई उद्यमी बन्न बाटो सहज बनेको छ ।  त्यसैगरी सेभिङ एकाउन्टमा पनि (महिला सहभागिता) धेरै नै देखिन्छ, पछिल्लो समय । एक्टिभ एकाउन्टको स्थिति हेर्ने हो भने पुरुषको ४९ (प्रतिशत) छ भने महीलाको ४८ रहेको पाइन्छ । मात्र १ प्रतिशत मात्रै फरक छ । त्यसैले पनि धेरै ठूलो दूरी हामी देख्दैनौं । नेपालको आधुनिकीकरण, इन्नोभेशनमा पनि महिलाको सहभागिता प्रशस्तै रहेको पाइन्छ । दराज, गोल्डस्टारजस्ता ठूलाठूला कम्पनीको नेतृत्वमा पनि महिला नै हुनुहुन्छ । यसले पनि नेपालमा महिला उद्यमी बढिरहेको स्पष्ट देखिन्छ र आगामी दिनमा पनि महिला उद्यमीलाई अघि बढ्न सहज हुने देखिन्छ । त्यसो त, मुलुकभित्र अझै पनि वित्तीय साक्षरताको अभाव रहेको पाइन्छ । त्यस्तो साक्षरता बढाउन राष्ट्र बैंक निरन्तर लागिरहेको छ । र, अब वित्तीय साक्षरता फ्रेमवर्क पाठ्यक्रममा नै राख्न खोजिरहेका छौं । हामीले यो वर्ष नै सामाजिक सञ्जाल, विभिन्न मिडियामार्फत दर्जनौं साक्षरता कार्यक्रम गरेका छौं ।  बढ्दो व्यापार असन्तुलन कम गर्न महिला उद्यमीको भूमिका ठूलो छ । देशको अर्थतन्त्रलाई अघि बढाउन उद्यम महत्त्वपूर्ण भएकाले पनि महिला उद्यमीहरू अघि बढ्नुपर्छ । अहिले नेपालको बजारमा महिला उद्यमीका उत्पादनको माग भएको देखिन्छ । तर, पर्याप्त उत्पादन हुन सकेको पाइँदैन । त्यसैले उत्पादन बढाउनेतर्फ ध्यान दिन जरुरी छ । विभेद अन्त्यका लागि पनि महिला उद्यमशीलता अनिर्वाण घोष दास्तिदार प्रमुख कार्यकारी अधिकृत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्सको तेस्रो संस्करणमा सहकार्य गर्न पाउँदा हामी खुशी छौं । सन् २०२१ मा न्यू बिजनेश एजसँग हामीले यो यात्रा शुरू गरेका थियौं । नेपालको व्यावसायिक इकोसिस्टममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएका धेरै महिला उद्यमीलाई यस कार्यक्रमले समेट्न सकेकोमा गौरव महसूस भइरहेको छ । प्रतिभाशाली महिला उद्यमीहरूको शीप–कौशल र दक्षता चिनेर उहाँहरूका लागि लगानीकर्ता, उद्योगी व्यवसायी, सरकारका प्रतिनिधि र अन्य सहकर्मी उद्यर्मीहरूसँग जोडिने उत्कृष्ट मञ्च उपलब्ध गराइदिनुभएकोमा न्यू बिजनेश एज र अन्य साझेदारहरूप्रति आभारी छु । शिक्षादेखि स्वास्थ्य उपचार सेवा, प्रवधि फेशन र खाद्यान्नसम्मका हरेक उद्यमलाई समेटेका छौं, जसले पनि अवार्ड कार्यक्रम विशेष बनेको छ । महिला उद्यमीहरूले परम्परागत अवरोध र सीमाहरू तोडेका अनेकौं उदाहरण हामीसामु छन् । आधुनिक नेपाली महिला आफैमा सबल छन् । राजनीति, फेशन, व्यवसाय, विज्ञान, खेलकुद, कलालगायत हरेक क्षेत्रमा उनीहरूले आफ्नो छाप बनाएका छन् । उद्यमी बन्न पक्कै पनि सहज छैन । महिलाहरूले आफ्नो काममा अनि पारिवारिक जीवनबीच तालमेल मिलाउनुपर्ने हुन्छ । लैंगिकतासम्बन्धी पुरातन सोच, अचेतन मनका पूर्वाग्रह र क्षमतासम्बन्धी भ्रमहरू तोड्नुपर्ने हुन्छ । त्यसैले उद्यमी बन्न कठिन छ । उद्यमशील बन्ने महिलाको महत्त्वाकांक्षामा सामाजिक बन्देज र मूल्यमान्यता पनि तगारो बनेका हुन्छन् । विशेषगरी ग्रामीण वा अर्ध–शहरी क्षेत्रका महिलाले यस्ता अवरोधको सामना धेरै गर्नुपर्छ । विश्व बैंकका अनुसार विश्वभर तीनमध्ये एउटा मात्र व्यवसाय महिलाको स्वामित्वमा छ । विश्वको जनसंख्याको आधा भाग महिलाको छ । कार्यबलमा महिलाको अनुपात ३८ दशमलव ८३ प्रतिशत छ । तर, महिला उद्यमशील गतिविधि भने पुरुषको तुलनामा निकै कम छ । महिलाले उद्यमशीलताका अवसरमा समान पहुँच पाए भने उनीहरू आर्थिक रूपमा आत्मनिर्भर हुन सक्छन् । त्यसले लैंगिक विभेद थप खुम्चिँदै जानेछ । अन्य महिलाले भोगिरहेका समस्याको समाधान पनि उद्यमी महिलाले नै दिन सक्छन् । कर्पोरेट जगत्का हामीले यसमा मद्दत गर्न सक्ने तरीका भनेको आफ्नै संघसंस्थामा विशेषगरी उच्च पदहरूमा थप महिला प्रतिनिधि राख्न प्रेरित गर्नु र सम्भव भएका बेला महिलाले खोलेको कम्पनीसँग साझेदारी गर्नु आदि हो । युवा उद्यम तथा लघु व्यवसायलाई टेवा दिनु बजारमा सहभागिता अभिवृद्धि गर्ने, बृहत् वित्तीय समावेशिता एवम् वित्तीय क्षमताको प्रवर्द्धन गर्ने र अर्थपूर्ण अन्तर सृजना गर्नेतर्फ महत्त्वपूर्ण पहल हो भन्ने हाम्रो विश्वास छ । फ्युचरमेकर्स कार्यक्रममार्फत शिक्षा, रोजगारशीलता र उद्यमशीलतामा जोड दिने सधैं हाम्रो प्रयास रहेको छ । त्यसमार्फत सामुदायिक कार्यक्रम ल्याएर न्यून आय भएका घरपरिवारबाट आउने युवाहरू विशेषगरी महिला र युवतीलाई उद्यम व्यवसायमा प्रोत्साहन गर्छौं । महिला उद्यमीले मुलुकको आर्थिक वृद्धिदरमा उल्लेख्य योगदान दिन सक्छन् भन्नेमा म विश्वस्त छु ।  महिला उद्यमशीलता प्रवर्द्धनको प्रयास सविता सुवेदी निर्देशक, न्यू बिजनेश एज विशेषगरी महिला उद्यमीको सम्मानमा न्यू बिजनेश एजले केही वर्षदेखि गर्दै आएको विशेष कार्यक्रम ‘बिजनेश वुमन समिट एण्ड अवार्ड्स’को यो तेस्रो संस्करण हो । यसपालिको प्यानेल डिस्कशनको विषय ‘वुमन आन्त्रप्रेनरशीप इन द डिजिटल एज’ रह्यो । सम्मानका लागि उपयुक्त महिला उद्यमीको छनोट प्रक्रिया केही महीनाअघिदेखि नै थालिएको थियो । यसअन्तर्गत २ हजारभन्दा बढी महिला उद्यमीबारे विभिन्न स्रोतबाट विवरण संकलन गरियो, जसको विश्लेषण गरेर स्वतन्त्र विज्ञ सम्मिलित निर्णायक मण्डलले उद्यमीको अन्तिम छनोट गरेको हो । देशका प्रत्येक प्रदेशबाट कम्तीमा एकएक जना महिला उद्यमीलाई जनही रू. ५१ हजारका दरले नगद पुरस्कारसहित सम्मान गरिएको छ । पुरस्कार रकम नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष पे्रमाराज्य लक्ष्मी सिंहले व्यक्तिगत रूपमा उपलब्ध गराउनुभयो ।  महिला उद्यमशीलता प्रवर्द्धन गर्न न्यू बिजनेश एजका तर्फबाट भएको यो सानो प्रयत्न हो । कार्यक्रमले नेपालमा महिला उद्यमशीलताको विकास तथा विस्तारमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरेका छौं । किनकि समाजमा विद्यमान लैंगिक असमानता न्यूनीकरणका लागि पनि महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर हुन जरुरी छ । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । अवार्ड कार्यक्रमले निरन्तरता पाउनुपर्छ व्रजेशकुमार झा विभागीय प्रमुख, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड देशका विभिन्न ठाउँमा विभिन्न उद्यम गरिरहेका महिला दिदीबहिनीलाई समेटेर गरिएको अवार्ड कार्यक्रम एकदमै उत्कृष्ट रह्यो । अवार्ड र नगद पुरस्कारले उद्यमीहरूलाई थप सृजनशील भएर काम गर्न प्रोत्साहन मिलेको छ । अवार्ड पाएपछि उहाँहरूलाई अझै राम्रो गर्न जिम्मेवारी पनि बढाएको छ । यस्ता कार्यक्रमले महिला उद्यमशीलताको विकासमा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा टेवा पुग्छ । त्यसैले आगामी दिनमा पनि यसले निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।    कार्यक्रम व्यवस्थित रह्यो प्रताप सुवेदी प्रमुख सञ्चालन अधिकृत कृषि विकास बैंक अवार्ड कार्यक्रम निकै व्यवस्थित थियो । सबै क्षेत्रमा व्यक्तिको सहभागिता भएकाले पनि कार्यक्रम भव्य रह्यो । अतिथिहरूको व्यवस्थापन पनि राम्रो थियो । सबै प्रदेशका महिला उद्यमीलाई पुरस्कृत गर्दा उनीहरूलाई उत्साह मिलेको छ । यस्ता कार्यक्रमले महिलालाई काममा सृजनशील बनाउन सहयोग पुर्‍याउँछ । काम गर्ने व्यक्तिलाई हौसला चाहिन्छ । अवार्ड कार्यक्रमले त्यसमा सहयोग पुग्छ ।      अवार्डको दायरा बढाउनुपर्छ  गणेश ढकाल चिफ फाइनान्सियल अफिसर सगरमाथा लुम्बिनी इन्स्योरेन्स महिला उद्यमशीलतालाई प्रोत्साहन र प्रवर्द्धन गर्न न्यू बिजनेश ऐजले शुरू गरेको अवार्ड कार्यक्रम सराहनीय छ । यसले महिला उद्यमको विकास तथा विस्तारमा योगदान पुर्‍याउँछ । कार्यक्रममा सात प्रदेशका महिला उद्यमी र राष्ट्रिय स्तरका उद्यमीलाई अवार्ड प्रदान गरिएको छ । आगामी दिनमा यसको दायरा बढाएर जान सके थप प्रभावकारी हुन्छ । अवार्ड छनोट गर्दा सेवा र उत्पादन क्षेत्रका कम्पनीहरूको छुट्टाछुट्टै मूल्यांकन हुनुपर्छ । यस्तै नेपाली मौलिक उत्पादन र निर्यात क्षेत्रका कम्पनीलाई पनि छुट्टै अवार्ड दिन सके अझै राम्रो हुन्छ ।     अवार्डले उद्यमीहरूमा उत्साह थपेको छ देवेन्द्र खतिवडा नायब प्रबन्ध निर्देशक नेपाल टेलिकम अहिले आर्थिक मन्दीको समयमा साना तथा मझौला उद्यम व्यवसाय प्रभावित भएका छन् । यो अवस्थामा साना उद्यमीहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न यो अवार्ड कार्यक्रम महत्त्वपूर्ण भएको छ । अवार्डले महिला उद्यमीहरूमा आगामी दिनमा अझै राम्रो गर्न उत्साह थपेको छ । अवार्ड कार्यक्रममा प्रायोजकको रूपमा साझेदार बन्न पाएकोमा आयोजक न्यू बिजनेश एजप्रति कृतज्ञ छौं । अवार्डले महिला उद्यमशीलताको कदर श्रीजन श्रेष्ठ एडमिन एण्ड एचआर म्यानेजर भि रोह्तो  महिला उद्यमीलाई प्रोत्साहनका लागि अवार्ड महत्त्वपूर्ण छ । यसबाट देशका विभिन्न भाग तथा विभिन्न विधामा काम गर्ने महिलाको उद्यमशीलताको कदर भएको छ । यसले उहाँहरूलाई उद्यम व्यवसायमा अझै सबल र प्रतिस्पर्धी रूपमा अघि बढ्न उत्साहित पनि गराएको छ । अवार्ड कार्यक्रम भव्य र व्यवस्थित थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ ।     मनोनीतको नाम पनि सार्वजनिक गर्नुपर्छ  अपूर्वप्रसाद जोशी  प्रमुख सञ्चालन अधिकृत सांग्रिला डेभलपमेन्ट बैंक कार्यक्रममा सबै प्रदेशका महिलाको प्रतिनिधित्व हुने गरी अवार्ड प्रदान गरिएको छ । यो एकदमै सकारात्मक पक्ष हो । यसले जिल्ला जिल्लामा उद्यम गरिरहेका महिलालाई हौसला प्रदान गरेको छ । उनीहरूलाई राष्ट्रिय पहिचान पनि दिएको छ । अवार्ड छनोटका लागि विभिन्न उद्यमीलाई मनोनीत गरी उनीहरूबाट विवरण संकलन गरी छनोट गरिएको जानकारी दिइयो । तर, कार्यक्रममा मनोनीतहरूको नाम सार्वजनिक नगरी सीधै विजेताको नाम मात्र घोषणा गरियो, जसले गर्दा मनोनीतहरू ओझेलमा परे । आगामी दिनमा मनोनीतहरूको पनि नाम सार्वजनिक गर्दा अझ धेरै उद्यमीहरूलाई प्रोत्साहन मिल्छ ।

स्टयाण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स : जुरी परिचय

राधेश पन्त अध्यक्ष, भी–रक एण्ड कम्पनी डीएसभी एडभाइजर्सका प्रमुख राधेश पन्त भीआरओसीके एण्ड कम्पनीका अध्यक्ष समेत हुन् । नेतृत्व, व्यवस्थापन, संस्थागत सुदृढीकरण, कर्पोरेट वित्त, व्यावसायिक वार्ता, सरकारी प्रणाली र सुधारका लागि राजनीतिक तथा नीतिगत तहको संवादमा रहेर उनले ३० वर्ष बिताएका छन् । उनी दुई वाणिज्य बैंक र सार्वजनिक निजी साझेदारी परियोजनाहरूमा लगानी सहजीकरण गर्ने सरकारी निकाय लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । अञ्जु शर्मा कार्यकारी निर्देशक, सिवेक हस्पिटल अञ्जु शर्माले आफ्नो व्यावसायिक यात्रा नबिल बैंकबाट शुरू गरेकी थिइन् । त्यहाँ कर्जा नियन्त्रकको रूपमा काम गरेकी उनीसँग स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा समेत काम गरेको अनुभव छ । ‘कन्जुमर बैंकिङ’को प्रमुख रहेकी उनी त्यहाँ २५० भन्दा बढी कर्मचारीप्रति जिम्मेवार र उत्तरदायी हुनुपथ्र्यो । सन् २०१२ देखि उनी सिवेक हस्पिटलको कार्यकारी निर्देशक भइन् । उनी विशेषगरी ‘ट्राभल चिकित्सा’मा केन्द्रित छन् । उनी हाल सुन्तलीवाटिका कृषि फार्मको विकास तथा खेतीमा समेत संलग्न छिन् । आभा शाह अध्यक्ष, जोन्टा क्लब अफ काठमाडौं आभा शाह शिक्षाविद् हुन् । उनले तीन दशकभन्दा बढी समयदेखि प्राज्ञिक क्षेत्रमा काम गरिरहेकी छिन् । उनी सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्टको संस्थापक तथा प्रबन्ध निर्देशक समेत हुन् । संस्थाले पर्यटन क्षेत्रका लागि २२ वर्षदेखि प्रतिभाशाली जनशक्ति उत्पादन गर्दै आएको छ । एमबीए गरेकी शाह शिक्षालाई राष्ट्र विकासको आधारशिला मान्छिन् । उनी जोन्टा क्लब अफ काठमाडौंको अध्यक्ष पनि हुन् । उनी विभिन्न अन्तरराष्ट्रिय सम्मेलनहरूमा सहभागी भइसकेकी छिन् । वर्षा श्रेष्ठ बिजनेश हेड, इक्रा नेपाल लिमिटेड वर्षा श्रेष्ठ हाल इक्रा नेपाल लिमिटेडमा बिजनेस हेडका रूपमा रहेकी छन् । सन् १९८४ देखि नबिल बैंकबाट बैंकिङ यात्रा शुरू गरेकी श्रेष्ठले क्लिन इनर्जी डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा समेत काम गरिन् । उनी नेपालमा निजीक्षेत्रको बैंकिङ संस्थाको पहिलो महिला सीईओको रूपमा चिनिन्छिन् । नेपाल व्यवस्थापन संघद्वारा प्रदान गरिएको ‘वुमन म्यानेजर रिकग्निसन अवार्ड २०१०’ बाट उनी सम्मानित भएकी थिइन् । आइडिया स्टुडियो नेपाल, नेपाल एम्बुलेन्स सेवा जस्ता विभिन्न कम्पनी र व्यावसायिक संघसंस्थाको सञ्चालक समितिमा रहेर समेत उनले काम गरिन् । उनी नेपाल उद्योग परिसंघ (सीएनआई)को राष्ट्रिय परिषद् सदस्य पनि हुन् । वासन्ती प्रधान उपाध्यक्ष, महिला उद्यमी महासंघ नेपाल महिला उद्यमी महासंघ नेपालका उपाध्यक्ष वासन्ती प्रधान वाटिका नेपाल प्रालिकी प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उनीसँग फ्लोरीकल्चर सम्बन्धी क्षेत्रमा तीन दशक काम गरेको अनुभव छ । फ्लोरीकल्चरसँग सम्बन्धित सजावटी बोटबिरुवा, कटफ्लावर र ल्यान्डस्केप डिजाइनमा उनले विशेषज्ञता हासिल गरेकी छन् ।  उनी फ्लोरिकल्चर एशोसिएशन नेपालको सल्लाहकार र सार्क चेम्बर महिला उद्यमी परिषद् नेपालकी सदस्य समेत हुन् । उनले नीति निर्माणका लागि धेरै सरकारी समितिमा रहेर काम गरेकी छिन् । उनी महिला उद्यमी महासंघ नेपालका पूर्वमहासचिव समेत हुन् ।

महिला उद्यमशीलता र डिजिटाइजेशन

न्यू बिजनेश एजले हरेक वर्ष आयोजना गर्दै आएको वुमन समिट एन्ड अवार्डस् यसपटक पनि गरियो । काठमाडौंमा शुक्रवार सम्पन्न स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२३ मा सम्मानित महिला उद्यमीको क्षमता र उनीहरूको उद्यमशीलता ब्रान्डिङ र सूचनाप्रविधिमा आधारित थियो । यसले नेपालको गाउँगाउँमा उद्यमशीलताको विकास हुँदै गएको र त्यसमा पनि डिजिटाइजेशनको प्रयोग हुन थालेको देखिएको छ । यसले उद्यमशीलताको विकास हुँदै गएको देखाउँछ जुन आर्थिक विकासका लागि सकारात्मक संकेत हो ।  अहिले नेपालमा इन्टरनेटको पहुँच निकै बढेको छ । मोबाइलका कारण हातहातमा इन्टरनेट पुग्ने अवस्था आइसकेको छ । तर, इन्टरनेटबाट सामाजिक सञ्जालमात्रै प्रयोग गर्नु डिजिटाइजेशन वा प्रविधिको प्रयोग होइन । यसको प्रयोग गरेर व्यवसाय विस्तार गरिन्छ वा बजारीकरण गरिन्छ वा स्टार्टअप कम्पनीहरू सञ्चालन गरिन्छ भने बल्ल अर्थतन्त्रमा डिजिटाइजेशन हुन थाल्यो भनी मान्न सकिन्छ ।  महिलाहरूलाई इन्टरनेटबाट व्यवसाय गर्न वा कर्जा लिन आवश्यक प्रक्रियाका बारेमा तालीम दिनु आवश्यक हुन्छ । त्यसो हुँदा प्रविधिको प्रयोग गर्दै उद्योग व्यवसायमा लगानी गर्ने क्रम बढ्ने अपेक्षा गर्न सकिन्छ । आधा जनसंख्या भएर पनि उद्योग व्यवसायमा महिलाको उपस्थिति निकै न्यून देखिएको छ । त्यसका विविध कारण छन् । तैपनि पछिल्लो समयमा महिला उद्यमी र व्यवसायीको संख्या बढ्दो छ । अब सरकारले एकातिर डिजिटल पूर्वाधार बढाउन आवश्यक छ भने अर्कातिर डिजिटल साक्षरता र डिजिटल वित्तीय साक्षरतासमेत बढाउन आवश्यक छ । उद्यम गर्न चाहने महिलाहरूका लागि लक्षित गरेर विभिन्न खालका एप्स बनाएर व्यवसाय शुरू गर्न र विस्तार गर्न सहयोग पुर्‍याउन सकिन्छ । साक्षरतामा थ्री आरको निमय स्वीकारिन्छ । ती हुन् : रिड, (पढ्नु) राइटिङ (लेख्नु) र अरिथ्मेटिक (हिसाब गर्नु) । तर, अहिले यसमा प्रविधि पनि थपिएको छ । थ्री आर प्लस टी भएपछि मात्र साक्षरता मान्नुपर्ने अवस्था आएको छ । पहिला जस्तो थ्री आरले मात्र अब साक्षरताको सम्बोधन हुँदैन । जसले विकसित भएको प्रविधिको प्रयोग गर्दैन ऊ पछि पर्नसक्ने सम्भावना बढेको छ । त्यसैले अब गाउँगाउँमा बसोवास गर्ने उद्यमी महिलालाई प्रविधिसँग जोडेर उनीहरूको उत्पादनलाई बजारीकरण गर्न सघाउने चुनौती पनि उत्तिकै छ । गाउँगाउँमा प्रविधि त पुग्यो तर त्यो प्रविधिको उपयोग गर्न धेरैलाई समस्या भइरहेको पनि पाइन्छ । केही महिला जान्ने, बुझ्ने भए भन्दैमा सबै महिलाको अवस्थामा सुधार आयो भन्न सकिँदैन ।  सोही कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले घरको अर्थतन्त्र सम्हाल्दै आएका महिला अब मुलुककै अर्थतन्त्र चलाउने अवस्थामा पुग्न लागेको बताए । उनले महिला उद्यमीलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै अबको नेतृत्व महिलाले लिनुपर्ने बताए । हुन पनि अहिले विभिन्न व्यवसाय सञ्चालन गर्नेदेखि नेतृत्व लिनेसम्मका काममा महिलाको उपस्थिति निकै बढेको छ । आगामी दिनमा व्यवस्थापन, उद्योग आदि धेरै क्षेत्रमा महिलाहरू नै नीति निर्माण तहमा पुग्छन् भन्ने देखिन्छ । तर, यसका लागि सरकारले महिलाहरूले भोग्दै आएका समस्याको समाधान गर्नुपर्छ । पूर्वाधारको विकास गर्नुपर्छ । छिमेकी मुलुकको तुलनामा प्रविधि महँगो छ । सरकारले लिने करले गर्दा महँगो पर्न गएको सेवाप्रदायकले भन्दै आएका छन् । त्यसैले प्रविधिलाई आमसर्वसाधारणको पहुँचमा पुर्‍याउन उनीहरूको आर्थिक अवस्था पनि ख्याल गर्नुपर्छ ।  महिलालाई प्रविधिसँग जोडेर उद्यमी बनाउने विषयमा सरकारले स्पष्ट नीति लिनुपर्छ । त्यसका लागि ठोस रूपमा आवश्यक सहयोग जुटाउन मद्दत लिनुपर्छ । महिलाहरू आफै लगानी गर्न सक्ने अवस्थामा पुगे भने त्यसले अर्थतन्त्रमा राम्रो योगदान दिन्छ । महिलाहरूलाई परम्परागत तरीकाले काम गर्न सजिलो छैन । घरभित्रका काम पनि गर्नुपर्ने हुँदा घरबाहिरका काममा अहिले सुस्ती देखिन सक्छ । यस्तोमा प्रविधिको सहयोगले कतिपय काम घरैमा बसेर पनि गर्न सकिन्छ । त्यस्तै कारखाना वा कार्यालय नै पुग्नुपर्ने अनिवार्यता पनि हुँदैन । त्यसैले महिलाहरूलाई इन्टरनेटबाट व्यवसाय गर्न वा कर्जा लिन आवश्यक प्रक्रियाका बारेमा तालीम दिनु आवश्यक हुन्छ । त्यसो हुँदा प्रविधिको प्रयोग गर्दै उद्योग व्यवसायमा लगानी गर्ने क्रम बढ्ने अपेक्षा गर्न सकिन्छ । यस्ता पक्षलाई मनन गरी आगामी योजना तय गर्न आवश्यक छ ।

‘महिला उद्यमशीलता बढाउन डिजिटल साक्षरता आवश्यक’

काठमाडौं । प्रविधिको उच्चतम प्रयोगबाट नै महिला उद्यमशीलतालाई थप उचाइ दिन सकिने सरोकारवालाले बताएका छन् । घरको कामसमेत महिलाले नै गर्ने र त्यसबाट बचेको समयलाई उद्यमशीलतामा लगाउन खोज्ने उनीहरूका लागि डिजिटल साक्षरता आवश्यक भएको उनीहरूको भनाइ छ ।  न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२३’ कार्यक्रममा महिला उद्यमीले यस्तो धारणा राखेका हुन् । कार्यक्रमको पहिलो सत्र ‘वुमन आन्त्रप्रेनर इन द डिजिटल एज’ विषयक प्यानेल डिस्कसनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता राधिका अर्यालले ४० प्रतिशत जनतामा डिजिटल साक्षरता बढाइने लक्ष्य रहेको बताइन् । भौगोलिक कठिनाइका कारण सबै क्षेत्रमा इन्टरनेटको गुणस्तरीय पहुँच विस्तार नभएको उनको भनाइ छ । ‘मोबाइल डिभाइसको प्रयोग फोन गर्न र सोसल मिडिया चलाउन मात्रै हो भने यसलाई डिजिटल साक्षरता मानिँदैन,’ अर्यालले भनिन्, ‘महिलाले काम गर्ने शैलीमा फरक आइसकेकाले व्यवसायलाई सहज बनाउन सघाउने गरी साक्षरता बढाउनुपर्छ ।’ डिजिटलाइजेशन गर्न सके कामको बोझ कम हुने र समय पनि बचत हुने उनले बताइन् । यस्तै महिलाको योगदानलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गणना गरिनुपर्नेमा उनले जोड दिइन् । सरकारले सूचनाप्रविधिलाई प्राथमिकता दिएको उनको भनाइ छ । ‘१५औं आवधिक योजनाले पनि सूचना प्रविधिमैत्री र डिजिटल इकोनोमीमा ध्यान दिएको छ,’ उनले भनिन्, ‘इकमर्सलाई लक्षित गरेर विधेयक बनेको छ, विशेष आर्थिक क्षेत्रमा आईटी क्लस्टर नै छ, निर्यात गर्दा आयकरमा छूट दिने भनिएको छ र महिलालाई लक्ष्य गरेर पाँचखाल औद्योगिक ग्रामको काम अघि बढेको छ ।’ उक्त कार्यक्रममा गोल्छा ग्रूपका निर्देशक सीमा गोल्छाले नेपालमा अहिले पनि इन्टरनेटको उपयोग कम मात्रामा भएको बताइन् । ‘इन्टरनेटविना अहिले जुनसुकै काम गर्न अप्ठ्यारो हुन्छ,’ गोल्छाले भनिन्, ‘डिजिटलाइजेशनले समान रूपमा अवसरहरू सृजना गर्छ भने अहिले मार्केट पनि विस्तार भएको छ ।’ उत्पादनदेखि बजारीकरणसम्मको काम डिजिटल प्लेटफर्मले सहज बनाएको उनले बताइन् । उनले अझै पनि महिला आर्थिक रूपमा आत्मनिर्भर र स्वतन्त्र हुन नसकेको बताइन् ।  उनले उदाहरण दिँदै भनिन्, ‘मोबाइल अर्डर गर्दा नै पहिला पुरुष (बुबा), त्यसपछि छोरा र बल्ल महिलाको पालो आउँछ ।’ उनले मोबाइलबाट पनि शीप सिक्न सकिने भएकाले एक्लै बसेरभन्दा सामूहिक रूपमा शीप सिकेर त्यसलाई व्यवसायको आकार दिन सकिने बताइन् ।  यस्तै रम्सन नेपालका सह–संस्थापक रूमी सिंहले प्रविधिलाई स्वीकार गर्न र अघि बढ्न नसक्ने हो भने व्यवसायमा सफल हुन नसक्ने बताइन् । सीमान्तकृत महिला उद्यमीलाई लक्षित गरेर काम गरिरहेको भन्दै उनले प्रविधि कसरी चल्छ भन्ने कुराभन्दा पनि त्यसबाट कसरी लाभ लिने भन्नेमा ध्यान दिनुपर्ने बताइन् । ‘हाम्रो संस्थाले कृषिमा सप्लाई चेन र त्यसबाट ग्रामीण किसान, ग्रामीण फुडको कसरी भ्यालू देखाउने भन्नेमा काम गर्छ,’ उनले भनिन्, ‘प्रविधिले कसरी बिजनेशमा सघाउँछ भन्ने अवधारणमा काम गरौं ।’ अझै पनि महिलाको पहुँचमा इन्टरनेट नभएको भन्दै उनले थपिन्, ‘मोबाइलबाट एसएमएस गरेर सघाउन खोज्दासमेत सन्देश पढ्न नसक्ने महिला दिदीबहिनी हुनुहुन्छ । यसलाई अझ सहज बनाउन भ्वाइस रेकर्डबाट जानकारी गराउनुपर्छ ।’ उनले प्रविधिलाई स्थानीयकरण कसरी गर्ने र कुन तहसम्म गएर महिला उद्यमीलाई सघाउन सकिन्छ भन्नेमा बढी काम गर्नुपर्ने देखिएको बताइन् । सरकारले नीति तथा नियमनमा बढी ध्यान दिनुपर्नेमा जोड दिँदै सिंहले भनिन्, ‘प्रविधिमा बढीभन्दा बढी महिला उद्यमीलाई कसरी ल्याउने भन्ने विषयमा एक्स्ट्रा एफर्ट जरुरी छ ।’  उक्त कार्यक्रमको सहजीकरण गरेका स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ट्रान्ज्याक्सन बैंकिङ, कन्ट्री हेड माइकल सिद्धीले महिला उद्यमशीलतामा डिजिटलाइजेशनले के कसरी सहयोग गर्छ, व्यवसायमा देखिएका बाधाहरूलाई समाधान गर्न प्रविधिले कत्तिको सघाएको हुन्छ लगायत प्रश्न गरेका थिए । बजार बुझ्न र प्रतिस्पर्धाका लागि पनि प्रविधिले निकै सघाएको हुन्छ भन्दै उनले प्रश्न गरे, ‘अहिले प्रणालीले नै महिला उद्यमीलाई सघाउने नीति लिएको देखिन्छ भने केन्द्रीय बैंकले पनि महिला उद्यमीलाई सघाउने गरेको छ । यी काम हुँदा मुलुकको अर्थतन्त्रमा अब कसरी परिवर्तन आउन सक्छ ?’ गण्डकी प्रदेश (मुस्ताङ) बाट पुरस्कृत हुने मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योगका सञ्चालक सुकुन रसाइली (विक) ले स्थानीय सरकारले महिलाका लागि व्यावसायिक योजनाका लागि बजेट नै नभएको भन्दै पन्छाउने गरेको बताइन् । ‘भवन, भ्यू टावर बनाउन बजेट हुन्छ,’ उनले भनिन्, ‘एक घर एक उद्यमी नारामा मात्रै हुन भएन, योजनाका आधारमा अनुदानको ग्यारेन्टी दिनुपर्छ ।’ यसैगरी पिएस ट्राभल प्वाइन्ट टुर्स प्रालिका सञ्चालक संगीता खड्काले स्थानीय तहका महिला उद्यमीलाई इन्टरनेट तथा प्रविधिका अन्य विविध पक्ष जानकारी गराउन आवश्यक भएको बताइन् । ‘ग्रामीण तहमा महिला घरबाट बाहिर निस्किन नसकेको अवस्था छ,’ उनले प्रश्न गरिन्, ‘यो अवस्थामा डिजिटल युगमा कसरी महिला प्रवेश गर्ने ?, यसका आधारभूत कुरा के के हुन् ?’

‘महिलालाई पूँजीसँगै व्यावसायिक शीप पनि आवश्यक’

काठमाडौं । महिला उद्यमशीलताको विकास गर्न पूँजीका साथै व्यावसायिक शीप पनि आवश्यक रहेकोमा सरोकारवाला तथा विज्ञहरूले जोड दिएका छन् । न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा गरेको स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड्स २०२२’ अन्तर्गत सम्पन्न ‘महामारीपछि महिलालाई व्यवसायको अवसर’ विषयमा भएको छलफलका वक्ताले महिलालाई व्यवसाय गर्न पूँजीसँगै व्यावसायिक शीपसमेत सिकाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले महामारीबाट प्रभावित उद्यमीको पुनरुत्थान गर्न सरकारले विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिए । उनले महिला उद्यमशीलता विकासका लागि सरकारले शीप सिकाउनेदेखि सहुलियत कर्जा तथा उत्पादित सामानको बजारीकरणमा समेत सहयोग गर्दै आएको बताए । ‘महिला उद्यमशीलता विकास गर्न महिलालाई शीप सिकाउने, पुनर्कर्जा र सहुलियत ब्याजदरको कर्जा दिने तथा अन्तरराष्ट्रिय बजारीकरणसम्मको काममा सरकारको सहयोग छ,’ उनले भने, ‘यसबाट महिला उद्यमी उल्लेख्य रूपमा वृद्धि भएका छन्, जुन कुरा सहुलियत कर्जाबाट लाभ लिने महिला उद्यमीको संख्याबाट पनि पुष्टि हुन्छ ।’ सरकार ग्रामीण क्षेत्रका महिला उद्यमीलाई प्रवर्द्धन गर्न केन्द्रित भएको भन्दै रेग्मीले महिला उद्यमीलाई राजस्व छूट दिएको र व्यवसाय दर्ता गर्न सहजीकरण गरेको बताए । उघुउद्यम विकास कार्यक्रम (मेडेप) मार्फत ७ सय ५३ ओटै स्थानीय तहमा महिला उद्यमशीलता प्रवर्द्धन कार्यक्रम चलिरहेको जानकारी दिँदै उनले आगामी बजेटबाट पनि थप कार्यक्रम ल्याउने बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले महिलालाई परियोजना धितोमा प्रदान गरेको २० लाख रुपैयाँसम्म कर्जालाई विपन्न वर्गमा गणना गर्ने सुविधा दिएको, वित्तीय साक्षरता कार्यक्रममा महिलालाई प्राथमिकतामा राखिएको र महिला सहुलियत कर्जा प्रवाहमा जोड दिएको जानकारी दिइन् । सहुलियत कर्जा कार्यक्रममा महिला कर्जा वृद्धि भए पनि राष्ट्र बैंकले अनुसन्धान गर्दा केही कैफियत भेटेको ढुंगानाले जानकारी दिइन् । ‘तथ्यांकमा महिला उद्यमशीलता कर्जा उल्लेख्य रूपमा वृद्धि भएको छ,’ डेपुटी गभर्नर ढुंगानाले भनिन्, ‘तर, अझै लक्षित वर्गमा नपुगेको र महिलाको नाममा कर्जा लिएर पुरूषले नै चलाएको समेत भेटिएको छ ।’ महिलाको स्वामित्वमा सम्पत्ति नहुँदा कर्जा लिन अप्ठ्यारो भएको, महिलाले उपयुक्त व्यावसायिक योजना बनाउन नसकेको, बैंकको कागजी प्रक्रियाले हतोत्साहित भएको जस्ता समस्या देखिएको भन्दै महिलालाई ऋणसँगै वित्तीय साक्षरतासमेत आवश्यक भएको उनले औंल्याइन् । नेपाल डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ऋणसँगै व्यावहारिक तथा व्यावसायिक ज्ञानसमेत दिनुपर्ने बताए । ‘उद्यमशीलता प्राविधिक विषय हो,’ उनले भने, ‘ऋण दिएरमात्र पुग्दैन, जुन व्यवसाय गर्ने हो त्यसको उत्पादनदेखि बजारीकरणसम्मको ज्ञान दिनु आवश्यक छ ।’ महिला उद्यमशीलता कर्जाको तथ्यांक बढे पनि साना उद्यमीले प्रक्रिया पूरा गर्न नसकेको भन्दै उनले यसमा केही लचिलो प्रावधान बनाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा महिला उद्यमी महासंघ (एफविन) की महासचिव महालक्ष्मी श्रेष्ठले उद्योग दर्तादेखि बजारीकरणसम्मका हरेक ठाउँमा महिला उद्यमीलाई सहुलियत दिनुपर्ने बताइन् । महामारीपछि डिजिटल मार्केटिङबाट हुने व्यवसाय फस्टाएको र केही महिला उद्यमीले यसलाई अवसरका रूपमा प्रयोग गरेको उनले जानकारी दिइन् । महिला उद्यमीलाई सरकारले सहुलियत कर्जा दिने व्यवस्था गरे पनि कतिपय महिलालाई यसबारे जानकारी नभएको र कतिपय उद्यमीसँग बैंकले धितो मागेर झन्झटिलो बनाएको उनको गुनासो छ । कार्यक्रममा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका कर्पोरेट अफेयर्स ब्रान्ड एन्ड मार्केटिङ प्रमुख प्रनु सिंहले महामारीपछि नयाँ युग शुरू भएको भन्दै उद्यमी बन्न जागरुकता बढेको बताइन् । महिला उद्यमीलाई सरकारले विभिन्न छूट र सहुलियत दिए पनि उनीहरूलाई व्यवसाय गर्न घरबाटै वातावरण बन्नुपर्ने र अहिलेसम्म त्यो खाडल पूरा नभएको उनले गुनासो गरिन् । छलफल कार्यक्रमको सहजीकरण न्यू बिजनेश एजका अध्यक्ष तथा प्रधानसम्पादक मदन लम्सालले गरेका थिए ।