‘गर्मी से बेहाल चलो नेपाल’ अभियान, भारतीय पर्यटक बढ्ने अपेक्षा

भारतको सीमावर्ती क्षेत्रबाट उल्लेख्यमात्रामा भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने र गत वर्षको तुलनामा सङ्ख्या पनि दोब्बरले वृद्धि हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले आकलन गरेका छन् । भारतको लखनउमा भएको नेपाल प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी दुवै देशका पर्यटन व्यवसायीले यो ग्रीष्मयाममा प्रशस्त पर्यटक नेपाल आउने बताएका हुन् । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या […]

सम्बन्धित सामग्री

कहाँ जान्छन् पर्यटक ?

सेप्टेम्बर महीनामा ९१ हजार विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गर्‍यो । गत ९ महीनामा झन्डै ७ लाख पर्यटक नेपाल आएको पाइन्छ । यो भनेको करीबकरीब कोरोनाकालअघिकै अवस्था हो । तर, पर्यटन व्यवसायीको भनाइ मान्ने हो भने पर्यटकीय क्षेत्रमा खासै चहलपहल छैन । ९१ हजार पर्यटक आउँदा सौराहाको पर्यटन क्षेत्र सुनसान छ भन्ने व्यवसायीको भनाइ छ । यही महीनामा नै होटेलहरू खाली रहेको व्यवसायीको भनाइ छ । यद्यपि अक्टोबर र नोभेम्बरमा पर्यटक बढ्ने आशा उनीहरूमा छ । नेपाल आएका मध्ये झन्डै आधा पर्यटक पोखरा पुग्ने पर्यटक व्यवसायीहरू बताउँछन् । तर, सेप्टेम्बर महीनामै पोखरा सुनसान भएकाले आफूहरू निराश भएको व्यवसायी बताउँछन् । सौराहा र पोखरामै पर्यटक सुनसान भन्ने व्यवसायीको भनाइ पत्याउने कि पर्यटन बोर्डको तथ्यांक पत्याउने भन्ने अन्योल पैदा भएको छ ।  त्यसो त लुम्बिनीमा पनि पर्यटक खासै छैनन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बनेर पर्यटक खचाखच हुन्छन् भन्ने अपेक्षाले त्यहाँ होटेलमा लगानी गरेका व्यवसायी यहाँबाट वायु सेवा सञ्चालन नहुँदा पर्यटक आगमन नभएकाले पुर्पुरोमा हात लगाएर बसेका छन् । नेपालगञ्ज पनि अहिले सुनसान नै छ । कैलाश मानसरोवर यात्रा भारतीय पर्यटकका लागि खुला नगरिएकाले नेपालगञ्जका होटेल व्यवसायी पनि निराश देखिएका छन् । त्यसो भए झन्डै ७ लाख पर्यटक कहाँ गए त ?  नेपाल बाहिर बसोवास गर्ने र उतैको नागरिकता लिएका नेपालीको संख्या बढेको छ । तिनीहरू हवाई मार्गबाट नै नेपाल आउँछन् । तिनलाई समेत गनेर पर्यटकको संख्या तय गरिएको हो भने मात्रै पर्यटन व्यवसायी र बोर्डको तथ्यांक मिल्न सक्छ । अन्यथा पर्यटक संख्या र व्यवसायमा कहीँ कतै केही नमिलेको देखिन्छ । अझ सीमाबाट सडकमार्ग भएर आउने भारतीय पर्यटकको संख्या यसमा कति छ बोर्डको संख्यामा उल्लेख छैन । भारतीयहरू आफ्नै सवारीसाधन लिएर आउँछन् । धार्मिक यात्रुका साथै पोखरा, लुम्बिनी र सौराहाको भ्रमणमा आउने भारतीय पर्यटक पनि प्रशस्तै छन् । करीब ७ सय भारतीय एकैपटक मुस्ताङ पुगेका छन् । यो संख्या पनि यी क्षेत्रको पर्यटनमा उल्लेख्य मानिन्छन् । यी सबै संख्या मिलाउँदा व्यवसायीको भनाइ जस्तो सुनसान नबन्नुपर्ने हो ।  हुन त कोरोना कालपछि होटेल र अन्य पूर्वाधारमा लगानी बढेकाले पनि पर्यटक बाँडिएर व्यवसाय घटेको हुन सक्छ । तर, पुराना व्यवसायीले समेत व्यवसाय नबढेको प्रतिक्रिया दिएकाले यसै भएको हो भन्न सकिँदैन । यो याममा आउने प्राय: पर्यटक पदयात्रामा जाने भएकाले शहरी पर्यटन क्षेत्रमा चहलपहल कम भएको हुन सक्छ । मनाङको होटेल पदयात्रीका कारण भरिभराउ भएको समाचार आएकाले पनि धेरै पर्यटक पदयात्रामै गएका हुन सक्छन् । जेजस्तो भए पनि पोखरा, ठमेलजस्ता क्षेत्रमा पर्यटक अहिले भरिभराउ हुनुपर्ने हो । त्यसैले यसको विश्लेषण गर्नु जरुरी छ । अध्ययनले पर्यटक आगमनको प्रवृत्ति र उनीहरूले रुचाएको क्षेत्र थाहा हुन्छ जसबाट पर्यटनमा सही नीति लिन सहयोग मिल्छ ।

पाँच देशका पर्यटकको सातवर्षे तुलना

यो लेखमा वर्षैपिच्छे धेरै संख्यामा नेपाल आउने पाँच देशका विदेशी पर्यटकका सातवर्षे तथ्यांक केलाएर छोटकरीमा उल्लेख गरिएको छ । नेपाल भ्रमण गर्न आउने पाँच देशका धेरै पर्यटकका सातवर्षे तथ्यांक हेर्दा अघिल्ला केही वर्षअघि (कोरोना महामारी) सम्म जहिले पनि पहिलो संख्यामा भारतीय पर्यटक र दोस्रो संख्यामा चिनियाँ पर्यटक रहने गरेका थिए । तेस्रो स्थानमा चाहिँ कहिले बेलायतका पर्यटक रहने गरेका थिए भने, कहिले अमेरिकाका पर्यटक रहने गरेका थिए । त्यस्तै कहिलेकाहीँ दक्षिण एशियाली मुलुक श्रीलंकाका पर्यटक पनि तेस्रो स्थानमा रहने गरेका देखिन्थे । यसरी संख्याको आधारमा नेपाल भ्रमण गर्ने पाँच देशका सातवर्षे तथ्यांकका बारेमा भन्नु पर्दा हालसम्म नेपाल आउने पाँच उत्कृष्ट देश (संख्याको आधारमा) को सातवर्षे तथ्यांक हेर्दा क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलंंका, थाइल्यान्ड, दक्षिण कोरियालगायत देशका पर्यटक ‘सर्वाधिक पाँच’भित्र पर्ने गरेका थिए । म्यानमार, अस्ट्रेलिया, बंगलादेश, जर्मनी, जापान, फ्रान्स आदि देशका पर्यटक नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकमा दरिने गरेका थिए । तर, कोरोना महामारीका कारण पछिल्ला २ वर्ष सन् २०२० र सन् २०२१ मा नेपालमा खासै पर्यटक संख्या बढेन । हुन पनि सन् २०२० मा २ लाख ३० हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ म बितेको १० महीनामा १ लाख १ सय चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । बाँकी २ महीनामा १२–१५ हजारदेखि १९–२० (बढीमा २४–२५ हजार) हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आउलान् कि ? विगतमा नेपाल भ्रमणमा आउने उच्च सात देशभित्रका विदेशी पर्यटकका संख्या लामो समयसम्म पहिलो र दोस्रो स्थानमा भारत र चीन रहेका थिए भने कोरोना महामारीले पार पाएपछि पनि भारत र चीन नै पहिलो र दोस्रो स्थानमा रहने देखिन्छ । १० महीनाको तथ्यांकअनुसार भने दोस्रोमा अमेरिका परेको छ । चिनियाँ पर्यटकको कुरो गर्दा उक्त देशका सर्वसाधारण नागरिकले नेपालमा आधिकारिक रूपमा पर्यटकको रूपमा भ्रमण गर्न चीन सरकारबाट सन् २००३ देखि मात्रै अनुमति पाएका हुन् । किनभने चीन सरकारले आफ्नो देशका नागरिकलाई जुनसुकै देशमा पनि पर्यटक भएर जानका लागि ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ लिनुपर्छ । यसरी चीन सरकारले एशिया महादेशका अन्य देश र यूरोप, अमेरिकालगायत देशमा पनि आफ्ना देशका नागरिकलाई पर्यटक भएर घुम्न जानका लागि सन् १९८० को दशकमा मात्रै ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ दिन शुरू गरेको थियो । सन् २००३ मा चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रूपमा नेपाल भ्रमण गर्ने अनुमति दिएपछि उक्त वर्ष ७ हजार ६ सय ६२ जना चिनियाँ पर्यटक नेपाल घुम्न आएका थिए । त्यसपछि नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकका संख्या लगातार बढेको–बढ्यै थियो । छिट्टै नै चिनियाँ पर्यटक संख्यात्मक रूपमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका संख्यामा दोस्रो नम्बरमा रहन सफल भएका थिए । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक बढ्ने क्रममा सन् २०१३ मा १ लाख १३ हजार १ सय ७३ जना पुगेका थिए भने, सन् २०१४ मा १ लाख २३ हजार ८ सय पाँच जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सम्भवतः आगामी केही वर्षपछि नेपाल आउने विदेशी पर्यटकका धेरै संख्या उत्तरी छिमेकी देश चीनबाट हुने छ । यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक संख्याको आधारमा हेर्दा सन् २०१३ देखि सन् २०१९ सम्मको तथ्यांक हेर्दा भारतीय पर्यटक सधैं पहिलो स्थानमा रहने गरेको र चिनियाँ पर्यटक सधैं दोस्रो स्थानमा रहने गरेको देखिन्छ । त्यस्तै तेस्रो स्थानमा भने कहिले बेलायतका पर्यटक रहने गरेका छन्, कहिले अमेरिकाका पर्यटक रहने गरेका छन्, कहिले श्रीलंकाका पर्यटक रहने गरेका छन् । यसरी संख्याको आधारमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सन्दर्भमा भन्नु पर्दा हालसम्म नेपाल आउने पाँच उत्कृष्ट देश (संख्याको आधारमा) क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, थाइल्यान्ड, दक्षिण कोरियाका पर्यटक ‘टप फाइभ’ पर्ने गरेका छन् भने, म्यानमार, अस्टे«लिया, बंगलादेश, जर्मनी, जापान, फ्रान्स आदि देशका पर्यटक नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकमा दरिने/पर्ने गरेका छन् । माथि उल्लेख गरिएका पर्यटकमध्ये चिनियाँ, श्रीलंकन (सिलोन), थाई (स्याम), म्यानमा (बर्मा), बंगलादेश आदि देशका पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तो चिनियाँ पर्यटक नेपालमा ४/५ दिनदेखि ९/१० दिनसम्म बिताउने बढी देखिन्छ । तापनि चिनियाँ पर्यटक ट्रेकिङ, र्‍याफ्टिङ, जंगल सफारी, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जिप फ्लाइएर, साइक्लिङ, क्यानोइङ, बालुनिङ, कायाकिङ आदि पनि गर्ने भएकाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भने भारतीय पर्यटकभन्दा धेरै फाइदा हुने गरेको छ । त्यसैले हामीले भारतीय, चिनियाँ, श्रीलंकन, थाई, म्यानमा, बंगलादेशी डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तीमा ८/१० दिनदेखि १४र्/१५ दिनसम्म नेपालमा बिताउने खालका पर्यटक धेरैभन्दा धेरै भिœयाउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । अरू देशका पर्यटकका बारेमा यसै भन्न नसकिए तापनि चिनियाँ पर्यटक ‘मक्खिचुस’ भने होइनन् । किनभने, केही वर्ष अघिदेखि संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था यूएन–डब्ल्यूटीओलगायत विश्व पर्यटनसँग सम्बद्ध संघसंस्थाले विभिन्न अध्ययन–अनुसन्धान गरेर निकालेको तथ्य–तथ्यांकमा चिनियाँ पर्यटक लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिएका छन् । साथै चिनियाँ पर्यटक संख्याको आधारमा पनि धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पहिलो स्थान ओगट्ने पर्यटकका रूपमा दरिएका÷दरिने गरेका छन् । शायद पृथ्वीको अस्तित्व रहेसम्म, चिनियाँ पर्यटकलाई विश्व भ्रमण गर्ने पर्यटकका धेरै संख्या र धेरै खर्च गर्नेमा अन्य कुनै देशका पर्यटकले उछिन्न वा चुनौती दिन सक्ने छैनन्, त्यसका लागि कोभिड–१९ बाट विश्वको अर्थतन्त्र तंग्रिनैपर्ने हुन्छ । लेखक पर्यटन व्यवसायी हुन् ।

दशैंले चलायमान पर्यटन

बिहीवारदेखि यो वर्षको दशैं पर्व शुरू भएको छ । आफन्त, इष्टमित्र, घरपरिवारसँग बसेर रमाइलो गर्ने अवसर जुराइदिने यस पर्वले मुलुकको अर्थतन्त्रमा पनि उल्लेख्य टेवा पुर्‍याउँछ । अर्थतन्त्रका विभिन्न आयामसँग जोडिने यो पर्वले पर्यटन क्षेत्रमा पनि उत्तिकै महŒव राख्छ । वर्षभरमा सर्वाधिक बिदा हुने समय पनि दशैं नै हो । यसबेला परिवार, साथीसंगी विभिन्न गन्तव्यमा जान रुचाउँछन् । घमाइलो र रमाइलो सिजन अर्थात् पर्यटकीय सिजनको रूपमा लिइने अक्टोबर महीनामा दशैं पर्दा यसको महत्त्व अझ बढी हुनेगर्छ । मानिसहरू घुम्न निस्कने र विदेशी पर्यटक पनि नेपाल आउने उपयुक्त समय पनि यही भएकाले दशैंले पर्यटन क्षेत्रलाई समेत चलायमान बनाउँछ । सन् २०१९ देखि निरन्तर ओरालो लागेको मुलुकको पर्यटन सन् २०२१ मा उकालो लाग्ने आशाको किरण देखिएको छ । सन् २०२० को शुरूदेखि नै कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी थलिएको पर्यटन क्षेत्र अहिले विस्तारै लयमा फर्किने क्रममा छ । कोरोना संक्रमण दर घट्दो क्रममा रहेको, कोभिडविरुद्धको खोप र सरकारले हालै अनअराइभल भिसा खुला गर्नु तथा तुरुन्तै परेको दशैंका कारण पनि पर्यटन क्षेत्रमा आशाको किरण देखिन थालेको हो । मुलुकका प्रसिद्ध पर्यटकीय गन्तव्यका पर्यटन व्यवसायीले दशैंका कारण व्यवसायमा उत्साह देखा पर्न थालेको बताएका छन् । अहिले न्यूनतम १० प्रतिशतसम्म रहेको अकुपेन्सी दशैंसम्ममा औसतमा ४० प्रतिशतसम्म पुग्ने व्यवसायीहरूको अनुमान छ । आन्तरिक र भारतीय पर्यटकबाट पनि राम्रो बुकिङ भइरहेको उनीहरूको भनाइ छ । होटेल एशोसिएशन नेपाल (हान) चितवन च्याप्टरका अध्यक्ष दीपक भट्टराई दशैं पर्वका कारण निकै उत्साहित छन् । ‘अहिले आन्तरिक पर्यटक बढ्ने क्रम जारी छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको बुकिङ पनि आएको छ र भारतीय पर्यटक पनि आउन शुरू गरेका छन् । साथै तेस्रो मुलुकबाट पनि छिटफुट रूपमा पर्यटक आएका छन् ।’ अहिले चितवन र सौराहाका होटेल ३० प्रतिशतसम्म बुकिङ भइसकेको उनी बताउँछन् । होटेल बुकिङ गर्नेहरूमा भारतीय बढी रहेका छन् । उनीहरूले बढीमा ३ दिनसम्मका लागि बुकिङ गरेको पाइन्छ । दशैंका लागि बुकिङ गर्नेहरूको क्रम बढेकाले पर्यटन क्षेत्रले लय समात्न लागेको हो कि भन्ने देखिएको छ । अहिले आन्तरिक पर्यटक आगमन करीब १५ प्रतिशतसम्म रहेको र दशैंसम्ममा ४५ प्रतिशतसम्म अकुपेन्सी पुग्ने सम्भावना रहेको भट्टराई बताउँछन् । यस्तै धारणा हान च्याप्टर पोखराका अध्यक्ष विकल तुलाचनको छ । दशैंको नजिकतिर आन्तरिक पर्यटन बढ्ने सम्भावना रहेको उनी बताउँछन् । कोभिडको समयमा १० प्रतिशतमा रहेको अकुपेन्सी दशैं नजिकिँदै गर्दा ३५ प्रतिशतसम्म पुग्ने आकलन गरिएको उनको भनाइ छ । सरकारले भर्खरै बाह्य पर्यटकका लागि नेपाल आवागमन सहज बनाएकाले तत्काल दोस्रो तथा तेस्रो मुलुकका पर्यटक आउने सम्भावना कम छ । त्यसकारण पनि अहिले व्यवसायीहरू आन्तरिक पर्यटकमा नै भर परेका छन् । आन्तरिक पर्यटकबाट नै दशैंमा पर्यटन क्षेत्रमा चलहपहल हुने आशामा व्यवसायी छन् । चाडपर्वको समयमा आन्तरिक पर्यटकको घुम्ने बानी, बुकिङको अवस्था र चासोले पनि व्यवसायीहरू उत्साहित देखिएका हुन् । यो सब कोभिडविरुद्धको खोप र आवतजावतमा खुकुलो नीतिका कारण नै सम्भव भएको छ । पोखराका होटेलको अकुपेन्सी अहिले न्यून नै रहेको तुलाचन बताउँछन् । चाडपर्वको समय भएकाले दशैंतिहारसम्ममा अकुपेन्सी बढ्ने अपेक्षा रहेको उनको भनाइ छ । पर्यटकीय याम भए पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । सरकारले ढिलो गरी विदेशी पर्यटक आगमन नीति खुला गरेकाले नेपाल आउने पर्यटक पनि आउनबाट वञ्चित भएको उनको भनाइ छ । यस्तै काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्य मानिने नगरकोट, धुलिखेलमा पनि दशैंले उत्साह थपेको छ । धुलिखेलका होटेल व्यवसायी प्रेमकण्ठ श्रेष्ठले दशैंका लागि ३० प्रतिशतसम्म बुकिङ भइसकेको बताए । अबको सोमवारसम्म लगभग होटेलहरू भरिने सम्भावना रहेको उनको भनाइ छ । २/३ महीना अघिदेखि नै पर्यटनमा राम्रो संकेत देखापरेको बताउने श्रेष्ठ ‘धेरै मानिसले खोप लगाइसकेको र व्यवसायीहरूले पनि खोप लगाएकाले पर्यटनमा सकारात्मक किरण देखिएको छ,’ भन्छन् । यद्यपि विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटक नै बढी आइरहेको र बुकिङ पनि उनीहरूबाटै बढी भइरहेको उनी बताउँछन् । यसैगरी एयरलाइन्स कम्पनीहरूले पनि दशैं अफ नै भनेर घोषणा नगरे पनि विभिन्न सस्तो प्याकेज ल्याएका छन् । दशैंका लागि हालसम्म ७० प्रतिशत बुकिङ भइसकेको बताउने एयरलाइन्स कम्पनीहरूले प्रसिद्ध गन्तव्यका लागि सस्तो प्याकेज ल्याएका हुन् । त्यसमध्ये बुद्ध एयर एउटा हो । आन्तरिक गन्तव्य पोखराका लागि बुद्धले रू. ८ हजारको २ रात ३ दिनको प्याकेज ल्याएको छ । दशैं अफर नै नभने पनि असोज २५ गते मनाउने गरेको आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर सस्तो प्याकेज ल्याएको छ । यसअन्तर्गत रू. ७ हजार ९९९ मा काठमाडौं–पोेखरा उडानमा २ रात ३ दिनसम्म पोखरामा बसेर घुम्न पाइन्छ । यस्तै बुद्ध होलिडेले भैरहवा–पोखरा रू. ८ हजार ९९९, नेपालगञ्जबाट पोखराका लागि रू. १० हजार ९९९ र सिमरा–पोखराका लागि रू.९ हजार ९९९ को प्याकेज ल्याएको छ । यसले पनि पर्यटकीय गन्तव्य पोखरामा आन्तरिक पर्यटकहरू पुग्ने विश्वास गर्न सकिन्छ । बुद्ध एयरका अनुसार अधिकांशको रोजाइ पोखरा नै पर्ने गरेको छ । नेपालमा घुम्न लागि सुगम र रमणीय गन्तव्यको रूपमा काठमाडौं उपत्यका, पोखरा, चितवन, नगरकोट, लुम्बिनी, धुलिखेल जस्ता पर्यकीय गन्तव्य त छँदै छन्, त्यसबाहेक पर्वतारोहण र ट्रेकिङ पदयात्राका लागि मनास्लु, मुस्ताङ, हुम्ला, तत्लो डोल्पा, कञ्चजंगा, माथिल्लो डोल्पा प्रसिद्ध गन्तव्य मानिन्छन् । नेपाल पर्यटन तथ्यांक २०२० अनुसार नेपालमा सर्वाधिक पर्यटक आएको वर्षका रूपमा सन् २०१९ लाई लिइन्छ । यस वर्ष ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल घुम्न आएका थिए । पर्यटक नेपाल आउने प्रमुख देशमा भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, म्यान्मा र थाइल्यान्ड हुन् । खासगरी सन् २०१९ मा बिदा मनाउन ७ लाख ७८ हजार १७३ जना पर्यटक आउँदा सन् २०२० मा भने यो संख्या १ लाख ३९ हजार २०२ मा झरेको थियो । सन् २०१९ मा धार्मिक पर्यटक १ लाख ९७ हजार ७८६ आएका थिए भने सन् २०२० मा २८ हजार ५३० आएका थिए । यस्तै ट्रेकिङ तथा पर्वतारोहणका लागि सन् २०१९ मा १ लाख ७१ हजार ९३७ पर्यटक आएकोमा सन् २०२० मा यो संख्या ३५ हजार ८९३ रहेको थियो । नेपालको पर्यटन पुरानै अवस्थामा फर्कन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । सन् २०२१ को सेप्टेम्बरसम्म जम्मा ७६ हजार ८६४ विदेशी पर्यटक नेपालमा आएका छन् । यो संख्या हेर्दा सन् २०२१ मा पनि नेपालमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना देखिँदैन । आन्तरिक पर्यटक र चाडपर्वको अवसरले नेपाली पर्यटन क्षेत्र भरथेग भई विस्तारै लयमा फर्कनसक्ने अवस्था भने विद्यमान छ ।