काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमामा असार ३ मा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै प्रस्तावित लाभांशलाई पनि अनुमोनदन गरेको छ ।
कम्पनीले यस वर्ष हाल कायम चुक्ता पूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै सभाले बोनस शेयरपछि कायम हुने शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीले मर्जरपछि कायम हुने शेयर स्वामित्वमा सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।