काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको छ ।
कम्पनीले प्रतिकित्ता रू. ५० अंकित मूल्यमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जारी पूँजी रू. १ अर्ब १७ करोडको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने रू. १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत दरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ विक्री गर्नेछ । बाँकी शेयर भने दोस्रो चरणमा सामूहिक लगानीकोष, कर्मचारी र सर्वसाधारणमा जारी गर्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यीबाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिने आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि अधिकतम २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने केयर एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
२०६५ चैत १४ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा छ । यस कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतका प्रबुद्ध व्यक्तिहरूको लगानी छ । यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरूमा आफ्नो लगानी गरी आफूलाई एक सफल कम्पनीको रूपमा उभ्याउन सफल भएको छ ।
हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब २ करोड ३७ लाख ५० हजार छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला