काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि वैशाख १३ गते बुधवार बाँडफाँट हुँदै छ ।
बुधवार बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा आईपीओ बाँडफाँट गर्ने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल मार्केटले जानकारी दिएको हो । कम्पनीको आईपीओमा मागभन्दा १४ दशमलव ४४ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।
कम्पनीको आईपीओमा १२ लाख २८ हजार २०० जनाले कुल १ करोड ३५ लाख ७ हजार ९६० कित्ताको लागि आवेदन दिएका छन् । तीमध्ये ९३ हजार ४९१ जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् भने थप पाँच कित्ता शेयर पाँच जना आवेदकमा १/१ कित्ताका दरले थप हुनेछ । बाँकी ११ लाख ३४ हजार ७०९ जनाको हात भने खाली हुनेछ ।
कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको छ ।
त्यस्तै ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
कम्पनीले निर्माण गरेको संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला-२ जलविद्युत आयोजनाले हाल परीक्षण उत्पादन शुरू गरेको छ ।