जेठ २४, काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आउँदो हप्तादेखि मौद्रिक नीतिका लागि छलफल गरिने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा सोमवार आयोजित बजेट समिक्षा तथा कार्यान्वयन विषयक भर्चुअल कार्यक्रममा गभर्नर अधिकारीले आगामी हप्तादेखि आर्थिक वर्ष २०७८/ ७९ को मौद्रिक नीतिको गृहकार्य गर्ने गरी योजना बनाएको बताए।
उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति पनि बैंकिंग प्रणालीको तरलता र ब्याजदर स्थिरतामा केन्द्रित हुने बताए।
उनले छलफलका लागि पहिलो चरणमा निजी क्षेत्रका व्यवसायीहरूसँग छुट्टा - छुट्टै छलफल गरिने छ । हालै मात्र सार्वजनिक भएको आर्थिक वर्ष २०७८/ ७९ को बजेट कार्यान्वयनको सन्दर्भमा छलफलबाट प्राप्त सुझावका आधारमा सरकारले ल्याउन लागेको मौद्रिक नीतिमा समेटिने पनि उनले बताए ।
उनले अहिलेको विषम परिस्थितिमा मुलुकको स्वास्थ्य सुरक्षा, अर्थतन्त्रको पुनरुत्थान, व्यवसायिक सुरक्षा, बैंकिङ्ग प्रणाली, तरलता व्यवस्थापन, ब्याज कर्जाको व्यवस्था, वित्तीय क्षेत्रको सुधार तथा डिजिटल भूक्तानीको विकासको निरन्तरता लगायतको विषय वस्तुमा मौद्रिक नीति केन्द्रित हुने बताए ।