काठमाडौं । भियतनामको राजधानी हनोईमा अन्तरराष्ट्रिय ट्राभल मार्ट (भीआईटीएम २०२३) सम्पन्न भएको छ । अप्रिल १३ देखि १६ तारिखसम्म आयोजित मार्टमा नेपाल पर्यटन बोर्ड र निजीक्षेत्रका व्यवसायीको सहभागिता थियो । चारदिने कार्यक्रम भियतनाम सोसाइटी अफ ट्राभल एजेन्ट्स (भिटा), राष्ट्रिय स्तरको पर्यटन संगठनले आयोजना गरेको हो । सो अवसरमा नेपाल स्टलमा आएका सरोकारवालाले नेपालका विभिन्न पर्यटकीय गन्तव्य, अध्यागमन नीति र हवाई सञ्जालका बारेमा जिज्ञासा राखेका थिए ।
अधिकांश भियतनामीका लागि नेपाल नयाँ गन्तव्य भएकाले मेलामा नेपालको उपस्थितिले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणी खनालले बताए । भियतनामी युवा नेपालका साहसिक गन्तव्यमा आउन उत्साहित रहेको उनले बताए । भविष्यमा भियतनामबाट नेपाल आउने पर्यटक संख्या बढ्ने अपेक्षा गरिएको छ ।
मेलामा सहभागी सरोकोरवालाले नेपाल र भियतनामबीच हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल स्टलमा आएका विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिले भियतनामका छापा, टेलिभिजन र सामाजिक सञ्जालमा नेपालको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न नेपाल पर्यटन बोर्डलाई आग्रह गरेका थिए ।