नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन् । सर्वोच्च अदालतले गभर्नरलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न दिन सरकारको नाम अल्पकालीन आदेश जारी गरेपछि उनी आजबाट नियमित काम फर्किएका हुन् ।अदालतको आदेश बोकेर गभर्नर अधिकारी आज दिउँसो राष्ट्र बैंक पुगेका थिए । उनलाई राष्ट्र बैंकका कर्मचारीहरुले स्वागत गरेका थिए । काममा फर्किएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्र बैंक, मौद्रिक स्थिति, र अर्थतन्त्र जस्तो संवेदनशील विषयमा आवाज उठाईदिएएकोमा आभार व्यक्त गरेका छन् । संवेदनशीलता बुझेर यस विषयमा सकारात्मक भाव , सद्भाव व्यक्त गरिएकोमा उनले आभार व्यक्त गरेका हुन् । गभर्नर र राष्ट्र बैंक व्यक्ति नभई संस्था भएकोले सिस्टमको पक्ष बोलेर सहयोग गरेकोमा उनले आभार व्यक्त गरेका हुन् ।त्यस्तै उनले राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय व्यक्ति नभई संस्था भएकोले राष्ट्र बैंक र गभर्नरले अर्थ मन्त्रालयसँग गर्नु पर्ने नियमित संवाद र समन्वय जारी नै रहने बताए । विभिन्न घटना- परिघटनाले यस्तो परिस्थिति ल्याउने भन्दै उनले बिना आग्रह, पूर्वाग्रह अर्थमन्त्रालयसँग गर्नु पर्ने सम्पर्क र समन्वयलाई जारी राख्ने उनले बताए । यस विषयमा थप सतर्क हुने उनको भनाई थियो ।मंगलबार सर्वोच्च अदालतका न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उनीमाथि कारवाही अघि नबढाउँन आदेश दिएको थियो। त्यस्तै उनीमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश समेत जारी गरेको थियो । इजलाशले हाललाई गभर्नरको पक्षमा अल्पकालीन अन्तरिम आदेश गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । अदालतले उनलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको थियो ।सरकारले छानविन समिति बनाएर आफुलाई निलम्बन गरेपछि उनी अदालत गएका थिए ।