ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिर मल्लकालीन सीप अनि शैलीमा करिब करिब निर्माण सम्पन्न भएको छ । टन्न पानी भरिएको नीलो पोखरीको बीचमा ग्रन्थकुट शैलीको श्वेत मन्दिरले सहरको सौन्दर्यमा रौनक थपेको छ । पोखरीको ऐतिहासिक महìवको झल्को दिन नेपालका विभिन्न तीर्थस्थलको पवित्र जल ल्याएर रानीपोखरीमा राख्ने योजना पनि छ । यद्यपि रानीपोखरी पुनर्निर्माणको कथाले चाहिँ सम्पदा संरक्षणमा हाम्रो पहलमाथि प्रश्न उठाएर गएको छ ।
करिब पाँच वर्षअघिको कुरा हो, काठमाडौँ महानगरपालिकाले आधुनिक शैलीको पोखरी निर्माण कार्य अगाडि बढाएपछि सम्पदाप्रेमी लामो समय आन्दोलित भए । सडक प्रदर्शन, घेराउ र रस्साकस्सीपछि सरकारले पोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दियो । सम्पदाप्रेमीको मागअनुसार उपभोक्ता समितिमार्फत निर्माण कार्य अगाडि बढाउने गरी भक्तपुरका रैथाने कालीगढ झिकाइए । रानीपोखरीको पिँधमा पाँगो माटो, त्यसमाथि बालुवा अनि कालो माटोमाथि इँटा छापेर पोखरी बनाइयो । सिमेन्टको प्रयोगलाई बर्जित गरियो । पोखरी बनाउने यो परम्परागत शैली र सीप हो, जुन भक्तपुरवासीले जोगाएर राखेका छन् ।