काठमाडौं । गएको डिसेम्बरमा ट्विटरका संस्थापक तथा पूर्वसीईओ एवं ब्लकका वर्तमान सीईओ ज्याक डोर्सी र ब्लकका शीर्ष अधिकारीहरू अफ्रिका बिट्क्वाइन कन्फ्रेन्सको उद्घाटनका लागि दक्षिण अफ्रिकाको आक्रामा पुगे । उनीहरू अहिलेको वित्तीय प्रणालीको लागि सबैभन्दा विध्वंसात्मक अनि रूपान्तरणमुखी विकल्प अर्थात् बिट्क्वाइनबारे कुराकानी गर्न त्यहाँ गएका थिए ।
सन् २००८ मा बिट्क्वाइनको विकास भएयता यो पैसाको नचिनिएको विकल्पका रूपमा रह्यो । यो जुवातास खेल्नको लागि कानूनी स्वरूप बन्यो, यसैमा लगानी गरेर रातारात धनी हुने माध्यम पनि भयो । अपराधीहरू अनि फटाहाहरूका लागि वरदान साबित हुनु यसको सबैभन्दा विवादास्पद पक्ष हो । यद्यपि बिट्क्वाइनको सबै पक्ष नराम्रो मात्रै छ भन्नेचाहिँ होइन ।
वित्तीय प्रणाली पहुँच नभएका अनि वित्तीय प्रणालीले समेट्न नसकेकाहरूलाई पनि यसले नयाँ बाटो देखाएको छ । जनसंख्याको ठूलो हिस्सा बैंकिङ प्रणालीले नछोएका, राष्ट्रिय मुद्रा जम्मा गरेर राख्न सुरक्षित नभएका र जीडीपीको ठूलो हिस्सा विप्रेषणले थेगिदिएको देशहरूमा बिट्क्वाइन जस्ता भर्चुअल मुद्राहरू मान्छेको बाँच्ने आधार बनेका छन् ।
शुरुका वर्षहरूमा क्रिप्टोकरेन्सी एकाध थिए, यसको प्रयोग पनि सीमित थियो । तर, अहिले सयौं क्रिप्टोकरेन्सी र टोकन आएका छन् । यसको बजार पूँजीकरण बढ्दो छ । नियामक बन्देजको बाबजुद सबैतिर यसको प्रयोग भएको पाइन्छ । त्यसकारण नियामकहरूका लागि अहिले यो टाउको दुखाइको विषय बनेको छ । यसलाई समय छँदै सम्बोधन नगरे वा नियामक दायरामा नल्याए अर्को समस्या उत्पन्न हुन सक्ने देखिन्छ । अफ्रिकाको बैंकिङ प्रणालीको आकार ८६ अर्ब डलरको रहेको अनुमान गरिएको छ । बिट्क्वाइनले उक्त आकारको बैंकिङ प्रणालीलाई असर गर्न सक्ने देखिएको छ ।
वित्तीय पहुँच नै नभएका मानिसहरूका लागि बिट्क्वाइनले वित्तीय शक्ति दिएको कुरालाई आक्रामा छँदा डोर्सी र उनका शीर्ष कार्यकारीहरूले औंल्याएका थिए । बिट्क्वाइनको भाउले आफ्ना लागि अर्थ नराख्ने भए पनि आफूले बिट्क्वाइनलाई पैसाको विकल्पको रूपमा प्रयोग गर्ने गरेको ब्लकमा क्रिप्टोकरेन्सी र विकेन्द्रित वित्त हेर्ने एकाई टीबीडीका सीईओ माइक ब्रोकको भनाइ थियो । आफूले डलर दिएर बिट्क्वाइन र बिट्क्वाइन दिएर ब्राजिलियन रियाल साट्न सक्ने बताउँदै उनले विश्वको हरेक कुनामा बिट्क्वाइनको बजार भएको जोड दिएका थिए ।
अफ्रिकामा पैसाको स्थानान्तरण निकै महँगो छ, प्रक्रिया पनि उत्तिकै झन्झटिलो । वाणिज्य बैंकका शाखामा पहुँच सीमित छ । दूरदराज अनि अनकन्टारमा बस्नेका लागि त यो 'आकाशको फल'जस्तै छ । डिजिटल बैंकिङको विकल्प पनि सीमित छ । त्यसमाथि अनियन्त्रित मुद्रास्फीति अनि सरकारी क्षेत्रमा व्याप्त भ्रष्टाचार अनि नगदमा नियन्त्रण छ । कहिलेकाहीं त्यहाँ पैसाको कुनै अर्थ नै हुँदैन । छिमेकी देशमा थोरै मात्रै पैसा पठाउन पनि सुटकेशमै नगद भरेर सीमापार लैजानु पर्ने अवस्था छ । यद्यपि त्यहाँ मोबाइल मनीको अवधारणा नआएको भने होइन, सन् २००० को दशकको शुरुदेखि नै मोबाइल मनीको अवधारणा त्यहाँ प्रयोगमा छ । प्रयोगकर्ताहरूले एसएमएस पठाएर आफ्नो फोनबाट महसुल तिर्न वा किनेको सामानको भुक्तानी गर्न सक्छन् । यसका लागि परम्परागत बैंकिङ विकल्पमा भर पर्नै पर्दैन ।
सन् २०२१ मे अफ्रिकाको मोबाइल मनी कारोबार ३० प्रतिशतले बढेर ७ खर्ब डलरमाथि उक्लिएको एउटा तथ्यांकले देखाएको छ । वित्तीय संस्थाहरूमा मोबाइल मनी सेवा प्रदायकमार्फत खातामा स्वामित्व पनि वयस्कहरूमाझ ५५ प्रतिशतले बढेको विश्व बैंकको तथ्यांकले देखाएको छ ।
मोबाइल मनीको प्रयोग बढे पनि यसका प्रयोगकर्ताहरूले बैंकमा गरिएको बचतमा ब्याज पाउने जस्ता बैंकिङ सुविधा र लाभ पाएका छैनन् न त खर्चको आधारमा क्रेडिट स्कोर नै पाएका छन् । अफ्रिकी महादेशमै विनिमयको माध्यम नबन्नु यसको अर्को मुख्य समस्या हो । अफ्रिकाको समग्र बैंकिङ प्रणाली टुक्रिएको छ । मोबाइल मनी प्रयोगकर्ता, टेलिकमहरूमाझ पनि यही समस्या छ । त्यहाँ भुक्तानी सञ्जाल २ हजार छन् । तर, २ प्रतिशतले मात्रै एक अर्कालाई स्वीकार गर्छन् । अवस्था सुध्रिनुभन्दा झन् बिग्रिइरहेको छ ।
बैंकिङ पहुँचमा नभएकाहरूलाई वेष्टर्न युनियन र मनीग्राम जस्ता कम्पनीहरूले विकल्प त दिएका छन् । तर, यिनीहरूको नगद नेटवर्क पनि अप्ठ्यारो र महँगो छ । नगद स्थानान्तरण गर्दा शुल्क पनि धेरै लाग्छ ।
बिट्क्वाइनले यसरी पैसा पठाउँदा लिने सबै शुल्क हटाउन सक्छ । व्यक्तिले सिधै अर्को व्यक्तिको खातामा पैसा पठाउन सक्छ । यस्तो गर्दा तहतहमा लाग्ने शुल्क पनि बच्छ । यसको लागि चाहिने एउटै चिज इन्टरनेट हो । बिट्क्वाइनले संसारमा हरेकको समस्या समाधान गर्ने तर्क डोर्सीको छ ।
बिट्क्वाइन ब्लकचेनको आधारभूत तहमा पैसा पठाउँदाको पनि छुट्टै चुनौती छ । माग अति धेरै भएको बेलामा शुल्क पनि बढ्छ । प्रयोगकर्ताले कारोबारका लागि प्रिमियम तिर्न चाहेन भने कारोबार पूरा हुन बढी नै कुर्नु पर्ने हुन सक्छ । बिट्क्वाइनको लाइटनिङ नेटवर्कले यी दुवै समस्याहरू समाधान गर्छ । यसमा दुई तहको प्रविधि हुन्छ । यो बिट्क्वाइनको मुख्य चेनमा आधारित रहेर बनाइएको हो । भर्चुअल कारोबारको शुल्क शून्यमा झार्न यो प्रविधिको प्रयोग बढेको छ ।
बिट्क्वाइनमा कारोबार गर्दा कारोबार बापतको कमिशन तिर्नु पर्दैन, नेटवर्क शुल्क भने तिर्नु पर्छ । कारोबार धेरै भएको बेलामा यो शुल्क बढ्न सक्छ ।
ग्राहकहरू शुल्क वा कमिशनप्रति बढी नै संवेदनशील हुन्छन् । तर, यो पनि कम गर्ने उपायहरूको खोजी भइरहेको छ । क्यास एपहरूले पनि अहिले बिट्क्वाइनको प्रयोगलाई बढाइरहेका छन् । अफ्रिकामा बिट्क्वाइन अहिले लगानीको माध्यम मात्रै होइन, दैनिक विनिमयको माध्यम बनेको छ ।
बिट्क्वाइनलाई छुँदै नछोएर पनि मानिसहरूले बैंक खाता वा मोबाइल मनी खातामा पैसा पठाउने र झिक्ने गरिरहेका छन् । बिट्क्वाइन कसरी चलाउने भनेर थाहै नभएकाहरूको समस्या समेत बिट्क्वाइनले समाधान गरेकाे छ । सेवा सञ्चालकहरूले यसको खातामा नगद राखेर रकम स्थानान्तरणको दायित्व बोकिरहेका छन् । दक्षिण अफ्रिकाबाट पठाएको पैसा नाइजेरियामा कसैले पाएपछि एक्सचेञ्जले बिट्क्वाइन लिएर यसलाई स्थानीय मुद्रामा परिणत गर्ने गरेका छन् ।
यसलाई नियमनमा रहेको दुई ओटा संस्थाले बिट्क्वाइनको भाषामा कुरा गरेर कारोबार गरेको अनि कारोबारका क्रममा हुन आउने अतिरिक्त शुल्क कटौती गरेको जस्तो भएको क्यास एपका प्रडक्ट लिड माइल्स सटर बताउँछन् । यो क्रान्तिकारी भएको उनको भनाइ छ । बिट्क्वाइनलाई मुद्रा निर्धारण गर्ने माध्यमको रूपमा चलाउँदा यसले सञ्चिति मुद्रामा नयाँ संसार बनाएको अनि यो विदेशी विनिमय दरमा थप प्रतिस्पर्धी भएको लाइटलिङ नेटवर्क पेमेन्ट मञ्च स्ट्राइकका सीईओ ज्याक मलर्स बताउँछन् । यसरी हुने विनिमय दर परम्परागत फरेक्स बजार दरभन्दा ६० प्रतिशतभन्दा बढी उच्च भएको उनको भनाइ छ ।
अहिले अफ्रिकामा बिट्क्वाइनले विनिमयको सबैभन्दा तरल, पहुँचयोग्य, विश्वव्यापी साधनको रूपमा काम गरिरहेको छ । दक्षिण अफ्रिकामा इन्टरनेट कनेक्शनबिनै बिट्क्वाइन पठाउन र प्राप्त गर्न सक्ने प्रणालीको विकास पनि भइरहेको छ । यो प्रणालीले वेबको जस्तै गरी एचटीटीपीमा काम गर्छ ।
यस्ता परियोजनाहरूमा केही जोखिमहरू भने छन् । दक्षिण अफ्रिकाको केन्द्रीय बैंकले सीमापार हुने क्रिप्टोकरेन्सीको प्रवाहको नियमन गर्न सक्दैन । यसलाई बैंकले गैरकानूनी र अपराध ठान्छ । अहिले अफ्रिकी महादेशभर नै क्रिप्टोकरेन्सी नियमनको दायरामा आएकै छैन । मध्य अफ्रिकी गणतन्त्रबाहेक कसैले पनि बिट्क्वाइनकै नाम किटेर सूचना जारी गरेका छैनन् ।
बढीभन्दा बढी मानिसहरूले बिट्क्वाइन चलाउन थाल्ने डोर्सीले अफ्रिकामा भनेका थिए । यसले वित्तीय दबाबमार्फत बिट्क्वाइनको कारोबारमा रोक लगाउने सरकारी प्रयासलाई झनै कमजोर बनाउने डोर्सीको भनाइ थियो । 'बिट्क्वाइनको प्रयोग बढ्दै गएर झनै झाँगिएपछि यसलाई सरकारले पनि कसरी रोक्न सक्छ ?' डोर्सीले प्रश्न गरेका थिए ।