अदानीको साम्राज्य ध्वस्त बनाएको हिन्डेनबर्गको निशानामा अब को ?

न्यूयोर्क (अमेरिका) । अमेरिकी शर्ट सेलिङ कम्पनी हिन्डेनबर्गले आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गर्दैछ । पछिल्लो पटक भारतीय अर्बपति व्यापारी गौतम अदानीको व्यापारिक समूह अदानी ग्रुपलाई निशाना बनाएको उसले त्यसको दुई महीना नबित्दै बिहीवार ट्विटमार्फत अर्को ‘टार्गेट’बारे नयाँ रिपोर्ट सार्वजनिक गर्ने बताएको छ । ट्विटमा नयाँ टार्गेट को हो भन्नेबारे केही भनिएको छैन । यसअघि उसले गत जनवरी २४ मा अदानी ग्रुपविरुद्ध १०६ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेर अदानीको साम्राज्यलाई डामाडोल बनाइदिएको थियो । अदानीको समूहमाथि शेयरमा चलखेल र वित्तीय अनियमितताको आरोप लगाउँदै हिन्डेनबर्गले रिपोर्ट सार्वजनिक गरेपछि अदानीका सबै कम्पनीको शेयरमा पहिरो गएको थियो । त्यसपछि अदानीको समूहले अर्बौं डलरको बजार पूँजीकरण गुमायो । सो प्रतिवेदनको असरले अहिलेसम्म अदानी समूहका कम्पनीहरू उठ्न सकेका छैनन् । सूचीकृत कम्पनीका शेयरमा तीव्र उतारचढाव जारी छ । प्रतिवेदनको असरका कारण अदानीले पनि ठूलो रकम गुमाएका छन् । उनले त्यसपछि दैनिक १० अर्ब डलरसम्म गुमाए । त्यसअघि विश्वको धनीहरूको सूचीमा शीर्ष तेस्रो स्थान रहेका उनी अहिले शीर्ष २५ मा पनि अटाएका छैनन् ।  हिन्डेनबर्गले अब निशाना कोमाथि साधेको छ भन्ने चासो बढेको छ । तर, नयाँ प्रतिवेदन अहिले विश्वभर देखिएको बैंकिङ संकटमा केन्द्रित हुने आशा गरिएको छ । हिन्डेनबर्ग रिसर्चले डेरिभेटिभ्स, कर्जा र शेयरमा हुने सम्भावित अव्यवस्थापन, हिसाबमा अनियमितता र लुकीछिपी हुने कारोबार आदिको छानबिन गर्ने गरेको छ । निशानामा राखिएको कम्पनीको शेयरमा लगानी गर्नुअघि कम्पनीले आफूले पत्ता लगाएको तथ्यहरू रिपोर्टहरू बनाएर सार्वजनिक गर्ने गरेको छ । हिन्डेनबर्गले अदानी समूहभन्दा पहिला ६ वर्षमा निकोला, विन्स फाइनान्स, जिनियस ब्रान्ड, चाइना मेटल रिसोर्सेज युटिलाइजेशन, ब्लूम इनर्जी, लिबर्टी हेल्थ साइन्सेज समेत १७ ओटा कम्पनीलाई निशाना बनाएको थियो । हिन्डेनबर्गले चाइना मेटल रिसोर्सेज युटिलाइजेशनलाई ‘जम्बी कम्पनी’ अर्थात् भूतिया कम्पनीको संज्ञा दिएको थियो । एजेन्सी