भदौ २३, नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप ३७ हजार ८७५ जना नयाँ संक्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्यामा फेरि कमी आएको बताइएको छ ।
यसअघि दैनिक ४० हजारभन्दा बढी संक्रमित थपिने गरेकामा अहिले घटेर ३८ हजारको हाराहारी पुगेको अधिकारीले बुधवार जानकारी दिएका छन् । पछिल्लो समय केरला राज्यमा दैनिक संक्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार बसार्वजनिक गरेको विवरणअनुसार गत २४ घण्टामा थपिएका संक्रमितमध्ये केरला राज्यमा मात्रै २५ हजार ७७२ जना संक्रमित भएका छन् ।भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ३ करोड ३० लाख ९६ हजार ७१८ पुगेको मन्त्रालयले बताएको छ ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म ४ लाख ४१ हजार ४११ जनाको मृत्यु भएको छ । तीमध्ये ३६९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।
त्यसैगरी एक दिनमा ३९ हजार ११४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । कोरोना शुरु भएदेखि हालसम्म भारतमा ३ करोड २२ लाख ६४ हजार ५१ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । कोरोना मुक्त भएका यो सङ्ख्या ९७ दशमलव ४८ प्रतिशत भएको बताइएको छ ।
पछिल्लो केही दिनदेखि संक्रमित अवस्थामै रहेकाको सङ्ख्यामा पनि वृद्धि भएको छ । हाल भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या ३ लाख ९१ हजारभन्दा बढी रहेका छन् । यहाँ कोरोना शुरु भएदेखि हालसम्म ५३ करोड ४९ लाख व्यक्तिको कोरोना परीक्षण भएको तथ्याङ्क रहेको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ७० करोड ७५ लाख ४३ हजार १८ डोज खोप लगाएको अधिकारीले जानकारी छ । रासस/ एएनआई