जेठ ६, काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।
कम्पनीको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ । कम्पनीको अधिकृत पूँजी रू. ५० करोड र जारी पूँजी रू. २५ करोड ५० लाख रहेको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणको लागि विक्री गर्न लागेको हो ।
हालसम्ममा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन । निवेदन दिएर स्वीकृती दिएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । हालसम्ममा कम्पनीले ५६ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १९ करोड ५० लाख नाफा कमाएको छ । गत अवाको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा १० प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. १७ करोड ८६ लाख नाफा कमाएको थियो ।चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ४ दशमलव २१ प्रतिशत र सञ्चालन नाफा १० प्रतिशतले वृद्धि भएको हो ।
चुक्तापूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको कम्पनीले जगेडामा रू. ४६ करोड ६ लाख सञ्चित गरेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४० करोड ८४ लाख ३९ हजार सापटि लिएर,रू. २ अर्ब १९ करोड ६९ लाख निक्षेप संकलन गरेर रू.३ अर्ब ८९ करोड ५१ लाख कर्जा लगानी गरेको हो ।