काठमाडौं । प्रचण्ड-नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । यस्तै, महासचिव विष्णु पौडेललाई पनि निष्कासित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
सोमबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको चौथो बैठकले यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘बैठकले यस अघि बसेको स्थायी कमिटीको प्रस्ताव अनुसार केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको छ । साथसाथै स्थायी कमिटीले नै पार्टीबाट महासचिवलाई पदमुक्त गरिसकेको सन्दर्भमा त्यो निर्णयलाई पनि केन्द्रीय कमिटीले अनुमोदन गरेको छ ।’
बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘निर्वाचन आयोगले पार्टीको विधान अनुसार पार्टीका बैठकहरु गरेर पार्टीको पदाधिकारीको सन्दर्भमा फेरबदल गरिएको निर्णय सहित अध्यावधिक गर्न अनुरोध गरेकोमा त्यो अध्यावधिक गर्ने बारेमा जुन पत्र निर्वाचन आयोगले हाम्रो पार्टीलाई पठाएको छ त्यस सन्दर्भमा पार्टीको तर्फबाट लिखित जवाफ सहित पार्टीको आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने पनि बैठकले निर्णय लिएको छ ।’
प्रतिनिधि सभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमको विरुद्धका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको र अर्को चरणको संघर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरुलाई परिचालन हुन निर्देश्न जारी गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
नेकपाले म्यान्मारको सेनाले सत्ता हातमा लिएको घटनाको पनि विरोध गरेको छ ।