पर्वत । पर्वतको दोविल्ला–फलेवास सडकको कालोपत्रको काम शुरू भएको छ । १६ किलोमिटर लामो यो सडकको घोइनौला–चन्दनी खण्डअन्तर्गत चन्दनीदेखि ढिकसम्मको कालोपत्र गतवर्ष नै भइसकेको थियो भने घोइनौलादेखि धर्मशालासम्मको खण्डमा अहिले कालोपत्र शुरू भएको हो ।
कालोपत्र गर्न शनिवारदेखि एक साताका लागि यो सडकमा सवारीसाधनको आवतजावत बन्द गरिएको छ । २०५७ सालमै ट्र्याक खोलिसकिएको यो सडक दुई दशकपछि कालोपत्र भएको हो । गण्डकी प्रदेश सरकारको रणनीतिक सडकअन्तर्गत घोइनौलादेखि चन्दनीसम्मको झण्डै १० किलोमिटर सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय पर्वतले बताएको छ ।
२ वर्षमा काम सक्नेगरी २६ करोड ५१ लाख रुपैयाँमा प्यासिफिक/फेवा जेभीले सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो । ८ मिटर चौडा सडकमध्ये ५ दशमलव ५ मिटर सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । सडक कालोपत्रको काम २०७६ कात्तिक ११ गते तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए । २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाको संक्रमणका कारण केही समय ढिलाइ भएको प्यासिफिक फेवा जेभीका प्रतिनिधि राजु पौडेलले जानकारी दिए । उनका अनुसार चैतभित्रै कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको छ । सडक खण्डअन्तर्गत केही भागमा ढलान गरिसकिएको छ ।
यो सडक कालोपत्र भएपछि पर्वतको फलेवास नगरपालिकाका देवीस्थान, मुडिकुवा, खानीगाउँसँगै दक्षिण पर्वतको महाशिला, पैंयु र विहादीका साथै दक्षिण बागलुङका नागरिकलाई सदरमुकाम कुश्मा आउजाउ गर्न सहज हुनेछ ।
फलेवासकै मुडिकुवादेखि लमाएसम्म यसअघि नै कालोपत्र भइसकेको थियो । तर देवीस्थानतर्फको खण्डमा अहिले कालोपत्र भएको हो । यो सडकलाई फलेवास नगरपालिकाले पनि रणनीतिक आयोजनाको रूपमा समेत अघि सारेको थियो । मध्यपहाडी राजमार्गसँग जोडिएको यो दोविल्ला–फलेवास सडक खण्डअन्तर्गत दोविल्लादेखि मल्याङ्दी खोलासम्मको सडक पाँच वर्षअघि नै कालोपत्र भइसकेको हो भने मल्याङ्दी खोलादेखि घोइनौलासम्म करीब १ किलोमिटर सडक भने कुनै पनि योजनामा समावेश नहुँदा अलपत्र बनेको छ ।