काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्डले विद्युतीय संस्करण ल्याउने भएको छ । विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको बेला रोयल इन्फिल्डले सन् २०२५ सम्ममा पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
रोयल इन्फिल्डका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले विद्युतीय गाडीको क्षेत्रमा निकै प्रगति गरेको र चाँडै नै विद्युतीय सवारीसाधन ल्याउने तयारी भइरहेको बताएका छन् ।
भारतको चेन्नईमा रहेको निर्माता कम्पनी रोयल इन्फिल्डले मिडलवेट सेग्मेन्टका भारतीय अटो बजारमा एकल प्रभुत्व जमाएको छ । यो बजारमा रोयल इन्फिल्ड बुलेटको ९३ प्रतिशत हिस्सा छ । यस वर्षको मार्च ३१ सम्ममा रोयल इन्फिल्डले विक्रीको हिसाबले नयाँ कीर्तिमान बनाउने तयारीसमेत गरिरहेको जनाएको छ ।
रोयल इन्फिल्डका प्रमुख गोविन्द राजनले भनेका छन्, 'हामीले विद्युतीय सवारी साधनको क्षेत्रमा धेरै प्रगति गरिरहेका छौं र हाम्रा धेरै कामहरू हाल उन्नत स्तरको परीक्षणको क्रममा छन् । हामी इलेक्ट्रिक मोबिलिटीको परिभाषा नै परिवर्तन गर्ने दिशामा काम गरिरहेका छौं । र, बजार हेरेर विद्युतीय रोयल इन्फिल्ड लन्च गर्ने विचार गरिरहेका छौं ।'
रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक एल प्लेटफर्ममा बन्न लागेको छ । सन् २०२५ सम्ममा बुलेटको पहिलो इलेक्ट्रिक गाडी लन्च हुने अपेक्षा गरिएको छ । कम्पनीले शुरुमा वार्षिक ५ हजार युनिट विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्य राखेको छ । यसको अनुसन्धान र विकासका लागि विज्ञ टोलीसमेत गठन गरेको छ ।
बजाज अटो, टिभिएस मोटर कम्पनी र हिरो मोटोकर्पले यसअघि नै विद्युतीय स्कुटर बजारमा ल्याएका छन् ।
मोटरसाइकल निर्माता रोयल एनफिल्डले EVs मा ठूलो लगानी गरिरहेको छ र विश्वव्यापी बजारले स्वीकार गर्ने EV बनाउन लागिरहेको छ । 'तपाईंले रोयल इन्फिल्डबाट बुलेटको अपेक्षा गर्न सक्नुहुन्छ, जुन विद्युतीय सवारीको सन्दर्भमा फरक मोडल हुन सक्छ,' गोविन्द राजनले भनेका छन् ।
गत वर्ष डिसेम्बरमा क्लासिक, हन्टर र मेटियर बुलेटको निर्माताले बार्सिलोनाको स्टार्ट-अप स्टार्क फ्यूचरमा ५० मिलियन युरो लगानी गर्ने घोषणा गरेको थियो । जसले विद्युतीय सवारी साधनको प्रविधिको लागि काम गर्छ ।
दुवै कम्पनीले सँगै EV को लागि प्लेटफर्म साझा गर्ने योजना बनाएका छन् । रोयल इन्फिल्डले विद्युतीय सवारीको परियोजनामा ६५ जनालाई रोजगारी दिएको बताएको छ । एजेन्सी