एक अभिकर्ता 'एक बीमा कम्पनी' नीति लागू

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकजना बीमा अभिकर्ताले समान किसिमको एकभन्दा बढी बीमा कम्पनीमा काम गर्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।   बीमा ऐन, २०७९ को दफा ९३ को उपदफा ६ मा कुनै एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को उस्तै किसिमको बीमकको बीमा अभिकर्ता भई काम गर्न नपाउने उल्लेख छ । बीमा ऐन, २०७९ को उक्त व्यवस्थाअनुसार प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेको हो । उक्त व्यवस्था लागू भएसँगै अब एक व्यक्तिले समान किसिमको एकभन्दा बढी बीमा कम्पनीको अभिकर्ता भएर काम गर्न पाउने छैन । प्राधिकरणका अनुसार फागुनसम्ममा बीमा अभिकर्ताको संख्या २ लाख ५६ हजार ३२२ पुगेको छ । तीमध्ये ५ हजार ४५ अभिकर्ता समान किसिमका एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध छन् । प्राधिकरणका अनुसार समान किसिमको व्यवसाय गर्ने दुई बीमा कम्पनीमा आबद्ध अभिकर्ताको संख्या ४ हजार ८ सय ४७, तीन कम्पनीमा आबद्ध १ सय ७८, चार कम्पनीमा आबद्ध १६, पाँच कम्पनीमा २ र १० कम्पनीमा आबद्ध २ जना छन् । बीमा प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेसँगै नवीकरण गर्दा अब समान किसिमको एकभन्दा बढी बीमा कम्पनीमा आबद्ध अभिकर्ताले अनलाइनमार्फत एउटा मात्र कम्पनी छान्न पाउनेछन् । अभिकर्ताले मोबाइलमा प्राप्त हुने वान टाइम पासवर्ड (ओटीपी) मार्फत कम्पनी छनोट गरी नवीकरण गर्न पाउने व्यवस्था गरिएको छ ।    प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्राधिकरणले बीमा ऐनमा भएको एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भई कार्य गर्न नपाउने व्यवस्था कार्यान्वयनसँगै अभिकर्ता, बीमा कम्पनी र प्राधिकरणलाई सबैलाई फाइदा हुने बताउँछन् । सिलवाल भन्छन्, ‘हामीले ऐनमा भएको व्यवस्था कार्यान्वयन गरेका हौं । उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै अब अभिकर्तालाई नवीकरण गर्न सहज हुनेछ र उनीहरूले एउटा मात्र कम्पनीमा इमानदारीसाथ आबद्ध भएर काम गर्नेछन् ।’ अब बीमा कम्पनीहरूलाई आफ्ना अभिकर्ताबारे सम्पूर्ण जानकारी हुने र प्राधिकरणलाई पनि नियमन गर्न सहज हुने उनले बताए ।

सम्बन्धित सामग्री

नेपाल लाइफका चार अभिकर्ता एमडीआरटी ग्लोबल कन्फरेन्समा सहभागी

काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका चार एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फरेन्समा सहभागिता जनाएका छन्।नेपाल लाइफ इन्स्योरेन्सबाट नेपालको प्रतिनिधित्व गर्दै रामचन्द्र गौतम,  रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकी कन्फरेन्समा सहभागी भएका हुन्। विश्वस्तरीय मान्यताप्राप्त बिमा अभिकर्ताको प्रतिष्ठित संस्था एमडीआरटीले २७ देखि ३० अगस्टसम्म ग्लोबल कन्फरेन्स गरेको हो। कार्यक्रममा विश्वभरिबाट लगभग सात हजार ५०० जनाको उपस्थिति थियो । ने

नेपाल लाइफका अभिकर्ता सिंगापुरमा

काठमाडौं– नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित ‘एमडीआरटी ग्लोबल कन्फिरेन्स’ मा सहभागिता जनाएका छन् । विश्वस्तरीय मान्यताप्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था ‘एमडीआरटी’ले आफ्नो ‘ग्लोबल कन्फिरेन्स’सिंगापुरमा सम्पन्न गरेको हो । २७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७ हजार ५०० जनाको उपस्थिति रहेको […]

राम्रो सेवा दिने बीमा कम्पनीलाई बजारमा अवसर प्रशस्त छन् [अन्तर्वार्ता]

पछिल्ला वर्षहरूमा नेपालमा बीमाको पहुँच बढ्दै गएको छ । बीमा कम्पनी तथा शाखा संख्या विस्तार, सरकारको प्रोत्साहन, नियामकीय नीतिलगायत कारण बीमाको दायरा बढेको हो । यद्यपि अर्थतन्त्र मन्दी उन्मुख बन्दाको असर अन्य व्यावसायिक क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि परेको छ । प्रस्तुत छ, जीवन बीमा व्यवसायको वर्तमान अवस्था, आर्थिक सुस्तीको असर, बीमा प्रडक्ट लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले जीवन बीमक संघ नेपालका अध्यक्ष एवं सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलसँग गरेको कुराकानीको सार : अहिले जीवन बीमा व्यवसायको अवस्था कस्तो छ ? विगतका ५–७ वर्षमा नेपालमा बीमाको पहुँचमा निकै वृद्धि भएको देखिन्छ । अहिले झन्डै ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा छन् । कोरोना महामारीमा पनि बीमा क्षेत्रको विकास र विस्तार रोकिएको थिएन । अहिले भने मन्दीको केही प्रभाव देखिएको छ । समग्र बीमा क्षेत्रलाई नै असर गरेका बेला सिटिजन लाइफ पनि यसबाट अलग छैन । बीमाको पहुँच विस्तार हुनुमा के के कारण छन् ? बीमाको दायरा बढ्नुमा कम्पनीको संख्या, सचेतना र सरकारको सक्रियता मुख्य कारण छन् । बीमा ऐनमै बीमा विकासको कार्यक्रम गर्नुपर्ने भनिएको छ । विगतमा भन्दा अहिले बीमाको सचेतना बढेको छ । तर विद्यालय तहदेखि नै बीमाबारे पढाउन आवश्यक छ । यस्तै नेपालमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बीमा अनिवार्य गरिएको छ । कर्जा लिनेहरूले पनि लघुबीमा गर्नुपर्ने भएकाले बीमा छोटो समयमै धेरै मानिसको पहुँचमा पुगेको छ ।  अहिले बीमालेख त्याग गर्नेहरू बढेका देखिन्छन् । कारण के होलान् ? बीमालाई बचतको रूपमा पनि लिने गरिन्छ । त्यसैले स्रोतहरू खुम्चिँदा आर्थिक आवश्यकता पूर्ति गर्न बीमितले बीमालेख त्याग गरेको पाइन्छ । अर्थतन्त्रको मन्दी उन्मुख अवस्थाका कारण विगत वर्षको तुलनामा अहिले बीमालेख त्याग गर्नेको संख्या बढेको देखिए तापनि ६५० अर्ब रुपैयाँको पोर्टफोलियोमा १२–१४ अर्ब बराबरको बीमालेख त्याग हुनु धेरै रकम होइन ।  नेपालमा जीवन बीमामा के कस्ता प्रडक्ट छन् ? दक्षिण एसियाका सबैजसो मुलुकमा एउटै किसिमका प्रडक्ट भएको पाइन्छ । बचतसँग सम्बन्धित बीमाका प्रडक्ट धेरै छन् । नेपालमा बीमालेख परिपक्व हुँदा बचत रकमका साथै बोनस पनि आउने किसिमका प्रडक्ट छन् । सिटिजन लाइफमै यस्ता प्रडक्ट ९ प्रकारका छन् । बीमा क्षेत्रभन्दा अन्य क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल पाइन्छ भनिन्छ नि ? यसमा व्यक्तिको आवश्यकता र बुझाइले पनि फरक पार्छ । कतिपय व्यापारीले जोखिम न्यूनीकरणका लागि बीमा गर्छन् भने जागीर गर्नेहरूले अनिवार्य बचतका लागि समेत बीमा गर्छन् । लगानीका विभिन्न उपकरणमध्ये बीमा पनि एक हो । बीमाले लगानीलाई विविधीकरण गर्न मद्दत गर्छ । बीमाबाट पनि बजारका अन्य क्षेत्रले दिने बराबरको प्रतिफल पाउन सकिन्छ । सञ्चालनमा रहेका बीमा कम्पनीलाई नयाँ लघु बीमा कम्पनीको प्रवेशले कस्ता चुनौती थपिएका छन् ? नयाँ कम्पनीको प्रवेशसँगै पक्कै पनि चुनौती थपिएको छ । तर उहाँहरू भर्खरै आउनुभएकाले कसरी अगाडि बढ्नुहुन्छ, हेर्न बाँकी नै छ । बजार सबैलाई खुला भएकाले अवसर र चुनौती सबैलाई उत्तिकै छ । नयाँ कम्पनीले ल्याउने प्रडक्ट, दिने सेवा र भुक्तानीमा धेरै कुरा निर्भर हुन्छ । तर राम्रो सेवा दिने बीमा कम्पनीहरूलाई बजारमा अवसर प्रशस्त छन् । प्राधिकरणले निर्धारण गरेको चुक्तापूँजी कसरी पुर्‍याउने योजना छ ? कम्पनीका भावी योजना के के छन् ? सिटिजन लाइफले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आइपिओ निष्कासन गर्दै छ । आइपिओ र कम्पनीको नाफाले प्राधिकरणले निर्धारण गरेको ५ अर्ब रुपैयाँ चुक्तापूँजी सजिलैसँग पुग्छ । अबका केही वर्षमा विभिन्न रणनीति बनाएर कम्पनीलाई विश्वासिलो ब्राण्ड बनाउने योजना छ । यस्तै लगानीकर्ताका लागि उच्च प्रतिफल दिने, अभिकर्ता र युवालाई कामका लागि आकर्षक कम्पनी बनाउने र गुणस्तरीय सेवा एवं उत्कृष्ट प्रडक्ट ल्याउने योजना छन् ।  सिटिजन लाइफको आइपिओमा लगानीकर्ताले किन लगानी गर्ने ? सिटिजन लाइफले दीर्घकालीन लगानीकर्तालाई उचित प्रतिफल दिन्छ । कम्पनीको वित्तीय अवस्था अन्य प्रतिस्पर्धी कम्पनीको भन्दा राम्रो छ । कम्पनीको रिजर्भमै १ अर्ब रुपैयाँभन्दा बढी छ । कम्पनीको ९० प्रतिशतभन्दा बढी लगानी दीर्घकालीन प्रतिफल आउने क्षेत्रमा भएकाले राम्रो प्रतिफल दिनेमा लगानीकर्ता ढुक्क हुनुभए हुन्छ । सर्वसाधारणले कुन प्रकारको बीमा गर्दा फाइदा हुन्छ ? बजारमा बीमाका विविध किसिमका प्रडक्ट भएकाले आफ्नो आवश्यकता र प्राथमिकता हेरेर बीमालेख छनोट गर्नुपर्छ । जस्तै, कुनै व्यक्तिलाई पेन्सनको आवश्यकता छ भने पेन्सन प्रडक्ट लिनुपर्छ । बीमा कम्पनीको सेवाबारे गुनासो पनि सुनिन्छ । अहिले सेवाको गुणस्तरमा केही सुधार भएको छ ? अहिले जीवन बीमा कम्पनीहरूमा त्यस्तो समस्या खासै छैन । विगतमा जस्तो दाबी भुक्तानीमा पनि समस्या छैन । बीमा कम्पनीहरूको सेवाको गुणस्तरमा पहिला भन्दा धेरै सुधार भएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूले हजारौं संख्यामा भुक्तानी गर्दा २००–३०० गुनासो मात्र प्राधिकरणमा पुग्ने गरेको छ । विगतको तुलनामा समग्र बीमा व्यवसायमा धेरै नै सुधार भए तापनि थप सुधार गर्न सकिने ठाउँ प्रशस्त छन् ।

अभिकर्ताको कुलिङ पिरियडबारे गलत बुझाइ: प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरूलाई कुलिङ पिरियड लागू गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका अनुसार लागू गरिने भनिएको कुलिङ पिरियडको गलत बुझाइका कारण अहिले यसको विरोध भइरहेको छ ।  प्राधिकरणले गत असार १ गते कुलिङ पिरियडबारे पत्र प्राप्त भएको ७ दिनभित्र सुझाव उपलब्ध गराउन जीवन बीमा कम्पनीहरूलाई पत्राचार गरेको थियो । प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेपछि कुलिङ पिरियड पनि लागू  गर्ने भएको हो ।  अभिकर्ताहरू भने बीमा अभिकर्तालाई कुलिङ पिरियड आवश्यक नभएको बताउँछन् । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारी अभिकर्तालाई कुलिङ पिरियड आवश्यक नभएको उल्लेख गर्दै अभिकर्ताले सबै बीमा कम्पनीमा काम गर्न पाउनुपर्ने बताउँछन् । ‘कोही ग्राहक ठगिएका छन् भने नियामक निकायले अभिकर्तालाई कानूनअनुसार कारबाही गर्नुपर्छ । तर, अभिकर्तालाई एउटा मात्र काम गर्न पाउने, कुलिङ पिरियड लागू गर्ने भन्दै अंकुश लगाउने काम भने गर्नु हुँदैन,’ उनले भने ।  ‘सबै ग्राहकलाई एउटै कम्पनीको पोलिसी मन नपर्न सक्छ । त्यसैले अभिकर्तालाई स्वतन्त्र रूपमा विभिन्न कम्पनीको विभिन्न पोलिसीमा काम गर्न दिनुपर्छ । संसारमा कतै कुनै व्यापारीले एउटा मात्र कम्पनीको सामान विक्री गर्न पाउँछ भन्ने नियम हुन्छ ?’ उनले प्रश्न गरे ।  नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेल प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेसँगै अभिकर्तालाई कुलिङ पिरियड पनि लागू गर्न अहिले कम्पनीबाट सुझाव संकलन गरिएको बताउँछन् । ‘जीवन बीमामा सबैभन्दा ठूलो भूमिका अभिकर्ताकै हुन्छ । कुलिङ पिरियड लागू गरेर बीमा अभिकर्तालाई अझ व्यावसायिक बनाउने प्राधिकरणको उद्देश्य हो,’ उनले भने ।  प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्र प्राधिकरणले अभिकर्तालाई नै अप्ठ्यारो हुने गरी कच्चा नीति नियम नबनाउने बताउँछन् । ‘अहिले हामीले कुलिङ पिरियडको नीति बनाउन जीवन बीमा कम्पनीहरूसँग सुझाव मात्र मागेको छौं । हामी अझै पनि छलफलको क्रममै छौं । कम्पनीहरूबाट कुलिङ पिरियड १ महीनादेखि ३ वर्षसम्म हुनुपर्छ भन्ने सुझाव आएको छ,’ उनले भने ।  ‘नेपालमा केही अभिकर्ता आज एउटा कम्पनीमा भोलि अर्कोमा आबद्ध हुने गरेको पाइन्छ, जसका कारण कम्पनीको व्यवसायलाई मात्र नभएर अभिकर्तालाई पनि अप्ठ्यारो भएको पाइन्छ,’ मिश्र भन्छन्, ‘कम्पनीलाई असर पनि नहुने र अभिकर्ता आफू आबद्ध कम्पनीमा समर्पित र प्रतिबद्ध काम गर्न पाउनुपर्छ भन्ने उद्देश्यले कुलिङ पिरियडका लागि सुझाव मागिएको हो । तर, उक्त विषयको अहिले गलत बुझाइ र प्रचारप्रसार भएको देखिन्छ ।’ ‘प्राधिकरणले कुलिङ पिरियड लागू गरेर अभिकर्तालाई महीनौंसम्म काम गर्न बन्देज गर्न लागेको होइन,’ उनी भन्छन्, ‘प्राधिकरणले अभिकर्ताले कुनै पनि बीमा कम्पनीमा आबद्ध भएपछि निश्चित समयसम्म काम गर्न कुलिङ पिरियडको नीति बनाउन सुझाव संकलन गरेको हो ।’ उनको भनाइमा यो कुलिङ पिरियडभन्दा पनि लकिङ पिरियड जस्तो हो । अभिकर्ताले सीईओहरू जस्तो कुलिङ पिरियडमा महीनौंसम्म काम नगरी बस्नु पर्दैन । तर, अभिकर्ता कुनै पनि कम्पनीमा आबद्ध भएपछि निश्चित समयसम्म काम गर्नुपर्छ भनेर प्राधिकरणले कुलिङ पिरियड लागू गर्न लागेको हो ।

नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड–२०२३ सम्पन्न, २४३ जना अभिकर्ता सम्मानित

काठमाडौं, २५ पुष । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज मिति २०७९ साल पौष २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह भव्यता पूर्वक सम्पन्न गरेको छ । वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्म रू ३७,९२,३०० प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि […]

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । शनिबार काठमाडौँको आर्मी अफिसर क्लबमा अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको हो ।  कार्यक्रममा देशभरबाट ८००

अनलाइनबाट बीमा सर्भेयर तथा अभिकर्ताको इजाजतपत्र नवीकरण

काठमाडौं (अस) । बीमा समितिअन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट हुने भएको छ । उक्त सेवाको बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले सुरुआत गरे । यसअन्तर्गत समितिलाई गरिने वार्षिक इजाजतपत्र नवीकरणको भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।  अनलाइनबाटै एनसीएचएलको कनेक्ट आईपीएस र मोबाइल एप तथा कर्पोरेट पे प्रणालीमार्फत आफ्नो बैंक, वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिनेछ । विद्युतीय माध्यमबाट नवीकरण शुल्कलगायत भुक्तानीसम्बन्धी कारोबार नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट गर्न केही समयअघि बीमा समितिले एनसीएचएलसँग नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने सम्झौता भएको थियो । उक्त सम्झौताअनुरूप पहिलो चरणमा अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र नवीकरणको भुक्तानी सेवा अनलाइनबाट गर्न सकिनेछ । पछिल्लो चरणमा समितिका सेवाशुल्क, बीमा कम्पनी दर्ता तथा वार्षिक नवीकरण शुल्क, बीमा सर्भेयर तथा अभिकर्ता दर्ता, प्रमाणपत्र तथा तालिम शुल्क, तलब, भेन्डर भुक्तानीलगायत विभिन्न कारोबार बैंक खाताबाट सोझै गर्न सक्ने गरी काम अघि बढाइएको समितिले बताएको छ । एनसीएचएलमा आबद्ध भुक्तानी सेवाप्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी नेशनल पेमेन्ट स्विचअन्तर्गतको बिलर गेटवेमा जोडिने कार्य भइरहेको समितिको भनाइ छ । अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र नवीकरण भुक्तानीका लागि प्रयोगकर्ताले कनेक्ट आईपीएस वा मोबाइल एपमा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको समितिको इमेल छनोट गर्नुपर्नेछ । त्यसपछि आफ्नो भुक्तानीआवश्यकताअनुरूप एजेन्ट पेमेन्ट वा सर्भेयर पेमेन्ट छनोटलगायत सेवा लिन सीधै बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै भुक्तानी गर्न सकिनेछ ।

आईएमई जनरल इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ।  तीन दिने सो तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा कम्पनीले लिएको छ।  उक्त तालिममा देशभरबाट उत्साहजनक सहभागिता रहेको थियो।  यसबाट बीमा समित...

जीवन बीमा कम्पनीहरूको नाफामा दोहोरो अंकको वृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७७/७८ मा कुल ३ अर्ब ८० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरूले हालै सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूको नाफा १२ प्रतिशतले बढेको छ । यो बीमा कम्पनीहरूको वास्तविक मुनाफा भने होइन । गत आवको समग्र व्यवसायको बीमांकीय मूल्यांकन गरेपछि जीवन बीमा कम्पनीहरूको नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकन गर्दा बीमा कोषबाट सीमित रकम नाफानोक्सान खातामा सार्ने व्यवस्था हुनेछ । त्यसअनुसार बीमांकीय मूल्यांकनपछि कम्पनीहरूको नाफा थप बढ्नेछ । वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरूले अघिल्लो आव २०७६/७७ मा रू. ३ अर्ब ४० करोड २४ लाख रुपैयाँ यस्तो (बीमांकीय मूल्यांकनअघिको) नाफा कमाएका थिए । कोरोना महामारीका कारण अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूको नाफा वृद्धिदर एकल अंक (५ प्रतिशत) मा झरेको थियो । तर, गत आवमा भने कम्पनीहरूको नाफा वृद्धिदर दोहोरो अंकको भएको छ । जीवन बीमक संघ नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले व्यावसायिक गतिविधिकै कारण बीमा कम्पनीहरूको नाफामा वृद्धि देखिएको बताए । ‘कोरोना महामारीका कारण बीमालेख नवीकरणमा कमी आउँछ कि भन्ने डर थियो । तर, त्यस्तो भएन । गत आवमा नवीकरण बीमाशुल्कमार्फत पनि ठूलो मात्रामा बीमाशुल्क उठ्यो,’ उनले भने, ‘त्यसैको कारणले पनि नाफामा सुधार देखिएको हो ।’ नवीकरण बीमाशुल्क नाफा वृद्धिको ठूलो आधार भएको उनी बताउँछन् । प्रथम बीमाशुल्क अभिकर्ता कमिशन, प्रचारप्रसारलगायत खर्चमा ठिक्क हुन्छ । नवीकरण बीमाशुल्क नै नाफा कमाउने मुख्य आधार भएको उनको भनाइ छ । यसैगरी स्टक मार्केटमा सूचीकृत पब्लिक कम्पनीको शेयर खरीदविक्रीबाट नाफा बढेको कतिपय कम्पनीहरूको भनाइ छ । नाफा कमाउने मामलामा यसपटक पनि नेपाल लाइफ नै अग्र स्थानमा देखिएको छ । नेपाल लाइफले गत आवमा ५३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रो नम्बरमा नेशनल लाइफ देखिएको छ । गत आवमा उक्त कम्पनीले रू. ४० करोड १२ लाख खुद नाफा कमाएको छ । यसैगरी तेस्रो स्थानमा रहेको सूर्या लाइफ इन्स्योरेन्सले रू. ३२ करोड ३२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।