माघ १४, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गर्ने कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओलाई इक्रा रेटिङ नेपालले इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँटपश्चात उक्त पूँजी १६ करोड पुग्नेछ ।
कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट माघ ९ गते स्वीकृति पाएको हो ।