आफूलाई अमुक मन्त्रीको पीएका रूपमा परिचय दिएर नाजायज फाइदा लिनेदेखि लिएर स्वयंलाई नै सरकारी उच्च कर्मचारीसम्मको नक्कली पहिचानको आधारमा सर्वसाधारणहरूलाई ठगेका घटनाहरू नेपालमा पनि बग्रेल्ती पढ्न पाइन्छन् । कतिपय अवस्थामा चाहिँ हुँदै नभएका व्यक्तिहरूको नाम भजाएर विद्यालयहरूमा प्रधानाध्यापकहरूले मात्र होइन, सांसद/मन्त्रीहरूले समेत त्यस्ता व्यक्तिको नामको पारिश्रमिक आफैले हजम गरेका समाचारहरू पनि यदाकदा सुन्नमा आउँछन् ।
पूर्वमाओवादी सेनामा आबद्ध ‘जनमुक्ति सेना’को काल्पनिक संख्याको आधारमा राज्य कोषबाट करोडौं रकम व्यहोरिएको घटना त सोही सेनाका सर्वोच्च कमान्डरले नै सार्वजनिक गरेको कुरा सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती भएको घटना त झन् हामी सबैको मानस पटलमा ताजै छ ।
छद्म कर्मचारीसम्बन्धी ठगीमा कहिले कहिले संस्था स्वयं नै जानीजानी संलग्न भएको पनि हुन सक्छ । संस्था, तिनका अधिकारी एवं काल्पनिक कर्मचारी गरी तीनै पक्षहरू छुट्टैछुट्टै रूपमा संलग्न हुनसक्ने भएकाले यस्तो प्रकृतिको ठगी पहिचान तथा नियन्त्रण गर्न तुलनात्मक रूपमा कठिन हुने गर्छ ।
यस्तै प्रकारको नभएका व्यक्तिलाई काल्पनिक रूपमा कर्मचारीको प्रस्तुत गरेर तथा गराएर ठगी गरिने प्रक्रियालाई नै छद्म कर्मचारीसम्बन्धी ठगी (घोस्ट इम्प्लोई फ्रड) भनेर बुझ्न सकिन्छ । यसलाई अहिले विश्वमा आम रूपमा प्रचलित व्यावसायिक ठगीका विभिन्न प्रकारमध्ये एक महत्त्वपूर्ण ठगी कला मान्न सकिन्छ । यस्तो छद्म कर्मचारीसम्बन्धी ठगीले कुनै निश्चित व्यक्ति तथा सम्बद्ध संस्था मात्र होइन, समग्र रूपमा राष्ट्रलाई नै आर्थिक रूपमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।
एक अध्ययनअनुसार सम्पूर्ण व्यवसायमध्ये करीब २७ प्रतिशत व्यवसायमा ठगीका घटना हुने गर्छन् र त्यसमा पनि १४ प्रतिशतजति ठगी चाहिँ १०० जनाभन्दा कम कर्मचारी भएका संस्थामा हुने गर्छ र यस्तो छद्म कर्मचारीको अस्तित्वचाहिँ सामान्यतया धेरै ठाउँमा फैलिएको तर मानव संसाधन तथा तलब व्यवस्थापन कार्य भने केन्द्रीय रूपमा हुने ठूला संस्थाहरूमा हुने धेरै सम्भावना रहन्छ ।
छद्म कर्मचारीको अवस्था सृजना हुनका लागि धेरै कुराले प्रोत्साहन गरिरहेका हुन्छन् । कुनै कुनै कार्यालयमा कर्मचारी भर्ना गर्नेदेखि लिएर उनीहरूलाई तलब भत्ता वितरण गर्नेसम्मको जिम्मेवारी दिएर कुनै निश्चित अधिकारीलाई असीमित अधिकार दिइएको हुन सक्छ । अझ उसको क्रियाकलापलाई अन्य माथिल्लो निकायले अनुगमन गर्ने वा आवधिक लेखा परीक्षणको माध्यमबाट निगरानी गर्ने परिपाटी छैन भने उसले काल्पनिक कर्मचारी खडा गरी उसको नामको तलब सुविधा आफैले उपभोग गरिरहेको हुनसक्छ । यसलाई व्यक्तिगत संलग्नतामा भएको छद्म कर्मचारीसम्बन्धी ठगी मान्न सकिन्छ ।
यसका अलावा कतिपय जटिल प्रकारका र व्यक्तिगत सम्बन्धभन्दा यान्त्रिक सम्बन्ध बढी भएका कार्यालयहरूमा यस प्रकारको ठगी हुने सम्भावना बढी रहन्छ । त्यसका लागि अधिकार प्राप्त व्यक्तिले मरिसकेको व्यक्ति वा आफ्नो परिवारको सदस्य वा साथीको नाममा छद्म कर्मचारी खडा गरी ठगी गर्ने गर्छन् । कहिले कहिले कुनै एक कर्मचारीले मात्र तलब–किताबमाथि पहुँच नपाउने अवस्थामा धरै जना कर्मचारी मिलेर पनि यस्तो ठगी हुने गर्छ । तर, उल्लिखित परिस्थितिहरू मात्र छद्म कर्मचारीसम्बन्धी ठगीका लागि अनुकूल पर्ने आवश्यक शर्तहरू भने होइनन् ।
व्यक्तिगत तवरमा हुने यस्तो छद्म कर्मचारीसम्बन्धी ठगीमा खास गरी तीन तरीका अपनाइने गरेको पाइन्छ । पहिलो त कर्मचारी स्वयं नै काल्पनिक रूपमा खडा गरिन्छ । त्यसबाहेक काल्पनिक कार्य विवरण र कार्य अवधिको माध्यमबाट पनि ठगी हुन सक्छ । साथै तेस्रो तरीकाअन्तर्गत काल्पनिक कर्मचारीको संलग्नतामा भुक्तानी लिने दिने गरेर पनि ठगी हुने गर्छ ।
जसरी भए पनि संस्थाभित्रकै अधिकार प्राप्त कर्मचारीहरूको मिलेमतोमा हुने यस्तो प्रकारको छद्म कर्मचारीसम्बन्धी ठगीको नकारात्मक प्रभाव सम्बद्ध संस्थाले नै प्रत्यक्ष रूपमा बेहोर्नुपर्छ ।
छद्म कर्मचारीसम्बन्धी ठगीमा कहिले कहिले संस्था स्वयं नै जानीजानी संलग्न भएको पनि हुन सक्छ । संस्था, तिनका अधिकारी एवं काल्पनिक कर्मचारी गरी तीनै पक्षहरू छुट्टैछुट्टै रूपमा संलग्न हुनसक्ने भएकाले यस्तो प्रकृतिको ठगी पहिचान तथा नियन्त्रण गर्न तुलनात्मक रूपमा कठिन हुने गर्छ । यसरी संस्थागत संलग्नतामा छद्म कर्मचारी राख्नुको प्रमुख उद्देश्यचाहिँ कर छली गरी राज्यलाई ठग्नु नै हो ।
यस्ता ठगीमा भने सम्बद्ध संस्थाका कर–परामर्शदाताहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । बेलायतको हिथ्रो विमानस्थलमा करीब २ वर्षअगाडि करीब ७० लाख पाउन्डसहित यस्तै एक कर–परामर्शदातालाई पक्राउ गरिएको थियो । उसले आफ्नो कुनै ग्राहक कम्पनीलाई यस्तै छद्म कर्मचारीको माध्यमबाट कर छल्ने उपायहरू सुझाएको रहेछ । यस्ता ठगीका घटनाहरूबाट मात्र बेलायती राज्य कोषले वर्षेनि करीब ३८ अर्ब पाउन्डजतिको घाटा व्यहोरिरहेको तथ्य पनि हालै सार्वजनिक भएको छ ।
त्यसैले अहिले विश्वका धेरै देशहरूका लागि छद्म कर्मचारीमार्पmत हुने ठगीको घटना टाउको दुखाइको कारक बनेको छ ।
प्रमाणित ठगी–अनुसन्धाताहरूको संगठन (एशोसिएशन अफ सर्टिफाइड फ्रड एक्जामिनर)का अनुसार लेखा प्रणालीमार्फत गरिने ठगीमा सबैभन्दा अग्रपंक्तिमा यस्तै छद्म कर्मचारीसम्बन्धी ठगी नै पर्छ ।
एक अप्रमाणित प्रतिवेदनअनुसार क्यामरुनले प्रत्येक वर्ष करीब सवा करोड डलरजति रकम यस्तै छद्म कर्मचारीसम्बन्धी ठगीका कारण गुमाइरहेको छ ।
हालै मात्र नाइजेरिया सरकारले संघीय मन्त्रालयहरूमा गरेको मानव संसाधनसम्बन्धी लेखापरीक्षणले ४३ हजार यस्ता छद्म कर्मचारीहरूको सूची नै फेला पारेको थियो ।
केन्यामा पनि करीब ५ वर्ष अगाडि गरेको एक अध्ययनले वर्षेनि १० लाख डलर बराबर घाटा हुनुमा यस्तै छद्म कर्मचारीसम्बन्धी ठगी नै प्रमुख रूपमा रहेको थियो । पछि कर्मचारीको हाजिरीमा बायोमेट्रिक प्रविधिको प्रयोग गरेपछि त्यहाँ १२ हजार ५ सय यस्ता छद्म कर्मचारीहरू रहेको तथ्य उजागर भएको थियो ।
अझ घानामा त अहिले पनि निजी तथा सरकारी कार्यालयहरूले मासिक रूपमा भुक्तानी गर्ने सम्पूर्ण तलब भत्ताको १० प्रतिशत बराबर रकम हरेक महिना हराउने गरेको तथ्य पनि सार्वजनिक भएको छ ।
यस्ता छद्म कर्मचारीसम्बन्धी ठगीलाई पहिचान तथा नियन्त्रण गर्न प्रविधि सँगसँगै प्रक्रिया पनि सोहीअनुरूप विकास गर्नु जरुरी हुन्छ । जागीर छोडिसकेपछि पनि विद्यमान कर्मचारीको सूचीमा नाम यथावत् रहेको पूर्वकर्मचारीको माध्यमले उसैको नाममा ठगी गर्ने सम्भावना प्रबल रहन्छ । यस्तो जोखिमबाट मुक्ति पाउन अपनाउनुपर्ने पहिलो उपाय भनेको आफ्ना कर्मचारीहरूको सूचीलाई अद्यावधिक राख्नु नै हो । अझ यसका लागि कर्मचारीहरूको अभिलेख तथा हाजिरीका लागि विद्युतीय माध्यमको प्रयोग गर्ने हो भने त्यसले यस्तो ठगीलाई न्यून गर्न मद्दत पुग्छ ।
लेखको प्रारम्भमै उल्लेख गरिएझैं कतिपय अवस्थामा कहिले सेनाका रूपमा, कहिले शिक्षकका रूपमा त कहिले उच्च अधिकारीको छद्म परिचयमा ठगी भइरहेका घटना बग्रेल्ती सार्वजनिक भएबाट धेरै चर्चामा नआए पनि छद्म कर्मचारीसम्बन्धी ठगी नेपालमा पनि आम रूपमा चल्तिमै रहेको छ भन्न सकिन्छ ।
लेखक बैंकर हुन् ।