पुस १४, काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई झुक्याएर बीमा नगर्न तथा प्रलोभनमा पार्ने खालका आकर्षक विज्ञापन नगर्न चेतावनी दिएका छन् ।
कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले प्रलोभन देखाएर बीमा गर्ने तर बीमा दाबी भुक्तानी नदिने गरेको, धेरै कमिसन आउने धनी व्यक्तिको बीमा गराउन बीमा अभिकर्ता तथा एजेन्ट जाने तर न्यून आय भएका विपन्न बर्गलाई भने वास्ता नगरिएको गुनासो गरेपछि अध्यक्ष सिलवालले यस्तो चेतावनी दिएका हुन् ।
साथै उनले कृषि तथा पशुपन्छी बीमालेखमा सरलीकृत गरिने भन्दै कृषि तथा पशुपन्छीसहित सबै बीमाको दाबी भुक्तानी तत्काल गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइसकेको बताए।
मंगलवार वीरगञ्जमा आयोजित बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रममा उनले बीमाको पहुँच विस्तारका लागि बीमासम्बन्धी विद्यमान व्यवस्थामा के कस्ता सुधार गर्नुपर्छ र बीमालेखमा कस्तो किसिमको परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा स्थानीय सरकारहरुबाट सुझाव लिने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको बताए ।
अध्यक्ष सिलवालले जेष्ठ नागरिकहरुलाई समेत बीमाको दायरामा ल्याउन आग्रह बीमा नीति निर्माणमा सहयोग गर्न समिति तयार रहेको बताए । उनले बीमा कम्पनीहरुले गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औंल्याउदै नगरपालिका महासँघ र गाउँपालिका महासंघसँग पनि बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने बताए ।
कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा बीमा समितिले वडा - वडामा कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए । उनले कृषि बीमा लागतमा मात्र आधारित नभई बाली काटेपछि समेतको सबै सुविधासहित आएमा कृषि बीमाप्रति आकर्षण बढ्ने उल्लेख गरे ।
साथै, उनले कृषि बीमाको प्रिमियममा अनुदान दिए जस्तै निजी सम्पत्ति बीमाको प्रिमियममा पनि सरकारले अनुदान दिनुपर्ने र अनलाइनबाट बीमा प्रिमियम संकलन तथा बीमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । परम्परागत बीमालेखको सट्टामा हालको आवश्यकता अनुसारको बीमालेख ल्याउन, अतिरिक्त रकम नपाई काम नगर्ने बीमा सर्भेयरलाई कारवाही गर्न र शहरी क्षेत्रमा मात्र सिमित नभई गाउँ टोलसम्म बीमा कम्पनीहरु अनिवार्यरुपमा जाने व्यवस्था गर्न बीमा समितिसँग उनले आग्रह गरे ।
कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको दायरा विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषय समेटिएको बीमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल, वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष, सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरु, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता थियो ।