असार १५, काठमाडौं । महिला उद्यमी महासंघ नेपालले भदौ १७ गतेदेखि २१ गतेसम्म ५ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै उक्त मेला भर्चुअल माध्यमबाट हुने आयोजकले बताएको छ ।
उक्त व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि लिएर महिला निर्यातकर्ताका साथै विदेशका उद्यमी महिलाहरुको पनि सहभागिता रहने छ ।
मेलाको उद्यदेश्य नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रबर्द्धन गर्ने रहेको छ । मेलामा अन्तरराष्ट्रिय श्रम संगठन, फिन चर्च एड, द एशिया फाउन्डेशन (भिसा) लगायतका संस्थाहरुले सहयोग गर्ने बताइएको छ ।
मेलामा हस्तकलाका सामानहरु, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, काष्ठजन्य वस्तुहरु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाहरुका स्टलहरु हुनेछन् ।
अन्तरराष्टिय महिला उद्यमी व्यापार मेलाले महिला उद्यमीहरुको श्रम र सृजनालाई अगाडी ल्याएर राष्ट्रिय र अन्तरराष्ट्रिय बजारमा पनि उनीहरुको पहिचान बनाउन सघाउ पुर्याउनुका साथै उनीहरुलाई अगाडी बढन प्रोत्साहित गर्ने महिला उद्यमी महासंघ नेपालले बताएको छ ।
मेलामा ३०० भन्दा बढी भर्चुअल स्टल रहने बताइएको छ ।