असार २४, काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्न गत असार २३ गते अनुमति पाएको हो । कम्पनीले अनुमति पाएसँगै ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले विसं २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
आवेदन दिएको तीन वर्ष ९ महीनामा कम्पनीले बल्ल आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । यो आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको यो आईपीओलाई इक्रा नेपालले सबैभन्दा कमजोर संकेत गर्ने ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ ।
आयोजना प्रभावित स्थानियलाई यस अघिनै शेयर जारी गरिसकेको कम्पनीले कमजोर रेटिङ्ग पाएपनि आईपीओ निष्कासनको अनुमति पाएको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले विसं २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।
नियामक निकायले कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएपनि लगानीकर्ताहरुले कम्पनीको अवस्था हेरेर लगानी गर्न सुझाव दिएको छ । आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी निष्कासनको अनुमति पाएको उक्त कम्पनीमा लगानी गर्ने या नगर्ने निर्णय भने लगानीकर्ता आफ्नै रहेको नियामकको भनाइ छ ।
कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ ।