नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को गत आर्थिक वर्षमा कुल आम्दानी ६.२ प्रतिशतले घटेर ३४ अर्ब ५७ करोड ६७ लाखमा सीमित भएको छ । कम्पनीले आघिल्लो वर्ष २०७५÷०७६ मा ३६ अर्ब ८६ करोड आम्दानी गरेको थियो । शुक्रबार सार्वजनिक पछिल्लो त्रैमासिक वित्तीय विवरण अनुसार वैशाखदेखि असार मसान्तसम्ममा कम्पनीले ९९ करोड ४० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यही अवधिमा गत वर्ष टेलिकमले २ अर्ब ५५ करोड ८७ रुपैयाँ लाख खुद नाफा आर्जन गरेको थियो । टेलिकमले यो अवधिमा गरेको खुद नाफा गत वर्ष सोही अवधिको ३८ प्रतिशत मात्रै हो ।
कोभिड–१९ महामारीका कारण रोमिङ सेवाबाट हुने आय घटेको, सरकारको निर्देशनअनुसार भ्वाइस र डेटा सेवामा लकडाउन अवधिभर ३० प्रतिशत छुट दिएका कारण आम्दानी र नाफामा कमी आएको टेलिकमको विश्लेषण छ । वैशाखदेखि असार ३० गतेसम्म ९ अर्ब २२ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा छ । गत वर्ष यही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीका अनुसार भ्वाइस सेवाको आम्दानीमा गत आर्थिक वर्षमा २ अर्ब १६ करोड रुपैयाँ र अन्तर्राष्ट्रिय रोमिङलगायत सेवाबाट हुने आम्दानीमा ५४ करोड रुपैयाँले कमी आएको छ । यही कारण गत आर्थिक वर्षको चौथो त्रैमासिकमा आयतर्फ मात्रै करिब २ अर्ब रुपैयाँले कमी आएको कम्पनीको दावी छ । गत आर्थिक वर्षमा डेटा सेवातर्फको आम्दानी भने ७५ करोड रुपैयाँ वृद्धि भएको कम्पनीले जनाएको छ ।
चालू आर्थिक वर्षमा सेवाबापत हुने आम्दानी ६ प्रतिशत मात्रै कमी भएको टेलिकमको तथ्यांक छ । सेवातर्फ टेलिकमले गत आर्थिक वर्षमा ३४ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा टेलिकमको कमाइ ३६ अर्ब ८६ करोड रुपैयाँ थियो । टेलिकमले दिइरहेको सेवामध्ये फाइबर टू दी होम, लिज्ड लाइन र डेटातर्फबाट अरू सबै आयमा कमी आएको टेलिकमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । लिज्ड लाइन र फाइबर टू दी होमको आय बढे पनि यसको कारोबार परिमाण निकै कम रहेकाले अन्य सेवाको आम्दानी परिपूर्ति हुन नसकेको टेलिकमको विश्लेषण छ ।
टेलिकमले ०७५ चैतदेखि आफ्नो रिचार्ज कार्ड बिक्रेतालाई कमिसनको सट्टा डिस्काउन दिन सुरु गरेको थियो । “कमिसन कुल बिक्री हिसाब गरिसकेपछि दिइने भए पनि डिस्काउन्ट सुरुमै दिने भएकाले आयमा कमी देखिएको हो,” विज्ञप्तिमा भनिएको छ । गत आर्थिक वर्षमा करिब ८० करोड रुपैयाँ डिस्काउन्ट दिइएको टेलिकमको भनाइ छ । सरकारको निर्देशनअनुसार लकडाउन अवधिमा रिचार्जमा शतप्रतिशत बोनसबापत् ५३ करोड ४० लाख रुपैयाँभन्दा बढी रिचार्ज बोनस दिइएको टेलिकमको भनाइ छ । यस्तै डेटातर्फ ३० प्रतिशत छुट दिँदा करिब २३ करोड बराबरको सेवा निःशुल्क गरिएको थियो ।