लघुवित्तका उपलब्धि र चुनौती

लघुवित्तमा परम्परागत वित्तीय प्रणालीबाट विमुख जायजेथा धितो राख्न नसक्ने वर्गलाई समेटिन्छ । गरीब तथा विपन्न वर्गको घरदैलोमा पुगी वित्तीय सेवा दिने भएकाले नेपालमा ग्रामीण भेगका धेरै घरपरिवारमा लघुवित्तको सेवा पुगेको देखिन्छ । लघुवित्त कार्यक्रमले ग्रामीण भेगमा साहूमहाजनले अनौपचारिक रूपमा ऋण दिँदा लिने चर्काे ब्याज नियन्त्रण गर्न सफल भएको तथा ससानो बचत संकलन गरी ग्रामीण पूँजी निर्माणमा समेत योगदान पुर्‍याएको छ । हाम्रो देशको प्रमुख चुनौतीका रूपमा रहेको गरीबी र बेरोजगारी घटाउन एउटा सशक्त माध्यमका रूपमा लघुवित्त कार्यक्रम रहेको छ । २०५० को दशकमा पाँच विकास क्षेत्रमा स्थापित ग्रामीण विकास बैंकहरू, निजीक्षेत्रबाट स्थापित निर्धन, स्वावलम्बनलगायत हाल नेपालमा ६४ ओटा लघुवित्त संस्थाहरू र बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाहरूले समेत लघुवित्त सेवा प्रदान गरिरहेका छन् । नेपालको लघुवित्त विकासका लागि नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सरकारद्वारा सञ्चालन गरिएका लक्षित कार्यक्रमहरू तथा यस क्षेत्रका अग्रज लघुवित्तकर्मीहरूको ठूलो योगदान रहेको छ । लघुवित्त संस्थाहरूले विपन्न वर्गका महिलाहरूलाई लक्षित गरी विनाधितो सामूहिक जमानीमा लघु व्यवसाय सञ्चालन गर्न सहयोग पुर्‍याइरहेका छन् । यस वित्तीय प्रणालीबाट गरीबी निवारण, महिला सशक्तीकरण, पछाडि परेको क्षेत्रमा वित्तीय पहुँचको अभिवृद्धिका साथै समग्र आर्थिक र सामाजिक उत्थानमा उल्लेखनीय योगदान पुगेको छ । यस कार्यक्रममा धितो दिन नसक्ने परम्परागत बैंकिङ प्रणालीबाट उपेक्षित महिलाले ससाना व्यवसाय सञ्चालन गरी आयआर्जन गर्न सक्षम भएका छन् । बिहान झिसमिसेदेखि बेलुकी आधा रातसम्म निरन्तर श्रम गर्ने नेपाली महिलाले टीका, पोते किन्न पनि परिवारका पुरुष सदस्यसँग हात थाप्नुपर्ने नियतिलाई यसले तोडिदिएको छ । परिवारमा महिला सदस्यको आय हुँदा फजुल खर्च कम हुने, परिवारको आधारभूत आवश्यकताको परिपूर्ति, सरसफाई तथा स्वास्थ्य, बालबच्चाको पोषण र शिक्षामा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पारेको छ । यसले महिलालाई परिवारभित्रै र समाजमा सम्मानपूर्वक स्थापित गरेको छ । यस कार्यक्रमबाट लाखौं परिवारको जीवनस्तर उकास्न मद्दत पुुगेको छ । हाल नेपालमा वित्तीय पहुँच अभिवृद्धिमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरेको लघुवित्त कार्यक्रममा थुप्रै गुनासा, असन्तुष्टि र प्रश्नहरू पनि उठेका छन् । ब्याजदर धेरै भएको, शुल्कहरू पारदर्शी र ग्राहकमैत्री नभएको, ऋण असुलीमा असहिष्णुता अपनाएको, एउटै सदस्यलार्ई धेरै लघुवित्त संस्थाहरूले लगानी गरी क्षमताभन्दा बढी ऋणको भारी बोकाएको, ऋणको बोझले पारिवारिक कलह र विघटन निम्त्याएको, थातथलो छोडेर हिँड्नु परेकोदेखि लिएर आत्महत्यासम्म गर्नुपरेको विषयले यस कार्यक्रमको प्रभावकारितामाथि औंला उठाएको छ । लघुवित्तमा देखिएका विसंगति, कमीकमजोरी सुधार गर्नु अहिलेको टड्कारो आवश्यकता हो । यसको लागि लघुवित्त संस्था र सदस्य दुुवैले सजगता अपनाउनुपर्छ । लघुवित्त संस्थाले सदस्यलाई ऋणी बनाउने होइन, व्यवसायी बनाउनुपर्छ । नेपालका लघुवित्त संस्थाहरूले बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता प्रोफेशर डा.मोहम्मद युनुसद्वारा प्रतिपादित सफल रूपमा बंगलादेश र संसारका धेरै देशमा सञ्चालन हुँदै आएको ग्रामीण बैंकिङ पद्धति अपनाएका छन् । यस मोडलमा महिला सदस्यहरूलाई ऋण दिनुअघि १ हप्ता अवधिको समूह प्रवेश तालीम दिइन्छ । उक्त तालीममा लघुवित्त संस्थाको उद्देश्य, संस्थाबाट प्रदान गरिने सेवाहरू र ती सेवाहरू सञ्चालनको तरीका ग्राहक सदस्यको काम, अनुशासन र जिम्मेवारी सम्बन्धमा अवगत र अभ्यस्त गराइन्छ । साथै फजुल खर्च नियन्त्रण, सरसफाई, बचत, बीमा, कर्जा, ब्याजदर, कर्जा सदुपयोगिता, कर्जा भुक्तानी आदिबारे प्रशिक्षण दिई सदस्यहरूलाई समूहमा आबद्ध गराई बचत तथा ऋणको कार्यक्रम सञ्चालन गरिन्छ । कुन सदस्यले कुन व्यवसायका लागि कति ऋण लिने भन्ने विषय समूहले ऋण लिने सदस्यको शीप, अनुभव, ज्ञान, पूर्वाधार, व्यवसायका पूरक सेवाहरूको उपलब्धताबारे अध्ययन गरी लघुवित्त संस्थामा सिफारिश गर्छन् । लघुवित्त संस्थाले समूहको सिफारिशलाई स्थलगत अध्ययन गरी उपयुक्त देखेमा ऋण प्रवाह गर्छ र तत्पश्चात् समय समयमा ऋणको सदुपयोगिताको निरीक्षण अनुगमन गर्छ । लघुवित्त सञ्चालनका यी अति महत्त्वपूर्ण विषयलाई लघुवित्त सञ्चालन गर्ने संस्थाहरूले कडाइका साथ कार्यान्वयन गर्न अग्रसर हुनुपर्छ । केही लघुवित्त संस्थाले कर्मचारीहरूलाई सदस्य वृद्धि तथा ऋण वृद्धिको अत्यधिक लक्ष्य दिई उनीहरूको वृत्ति विकासमा त्यसलाई आबद्घ गराउँदा समस्या भएको छ । कर्जा रकम थोरै भएमा आँटेको व्यवसाय गर्न रकम पुग्दैन र धेरै भएमा अनुत्पादक क्षेत्रमा खर्च हुन सक्छ । सदस्यले कर्जा माग गरेको व्यवसायको सम्भाव्यता अध्ययन गरी सम्भाव्य परियोजनामा मात्र लगानी गर्ने, लगानीपश्चात् कर्जाको सदुपयोग भए नभएको निगरानी गर्ने, ऋणीले किस्ता तिर्दा आफ्नै व्यवसायको आम्दानीबाट तिरेको छ कि अन्य संस्थासँग ऋण लिएर वा सरसापटबाट तिरेको छ कि भन्ने कुरा लगानी गर्ने संस्थाले बुझ्नुपर्छ । त्यसैगरी लघुवित्त संस्थाका लगानीकर्ताले यो एउटा सामाजिक व्यवसाय हो, यसबाट छोटो समयमा धेरै मुनाफा आर्जन हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ । लघुवित्तमा काम गर्ने कर्मचारी, लघुवित्तका लक्षित वर्गका बारेमा र कार्यक्रम सञ्चालन गर्ने तौरतरीकाबारे प्रशिक्षित नहुँदा पनि धेरै समस्या देखापरेका छन् । यी समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले कर्मचारी क्षमता अभिवृद्धिको लागि संस्थाहरूलाई पे्ररित गर्न नीतिगत व्यवस्था गरेको छ । यसमा नियामक निकायले व्यवस्था गर्नुभन्दा संस्थाहरू आफै अग्रसर हुनुपर्ने हुन्छ । लघुवित्त कार्यक्रमलाई हाम्रो समाजको पीँधमा रहेको अत्यन्त गरीब र पिछडिएको वर्गमा पुर्‍याउनु पनि चुनौतीपूर्ण रहेको छ । यस्तो वर्गमा कर्जा मात्र दिएर हुँदैन, कर्जाको साथमा शीप, प्रविधि, बजार, बीमालगायत पूरक सेवाहरूसहितको समष्टिगत प्याकेजका रूपमा सेवा दिनुपर्छ । समाजका सबैभन्दा निम्छरो वर्गलाई संरक्षण गर्नुपर्ने प्रमुख दायित्व सम्झी राज्य नै यसतर्फ अग्रसर हुनुपर्छ । लघुवित्तमा हाल देखिएका समस्याको प्रमुख कारणमध्ये संस्थाका ग्राहक सदस्यको संस्थाप्रतिको अपनत्व भावना कम हुनु पनि एक हो । यसका लागि ग्राहक सदस्यहरूलाई नै संस्थाको मालिक बनाउनु उपयुक्त हुने देखिन्छ । लेखक आरएमडीसी लघुवित्तका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् ।

सम्बन्धित सामग्री

महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्ः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौती पनि रहेको उल्लेख गरेकी छिन्।

सरकारको एक वर्षे उपलब्धि सार्वजनिक (पूर्ण पाठ)

सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको जनाएको छ ।

नेपालमा प्रजनन् स्वास्थ्य:  उपलब्धि र चुनौती

सामूहिक बसाइ- सराइ,  वृद्धावस्था, र ग्रामीण क्षेत्र विकासका क्षेत्रमा चुनौतीहरू पनि खडा गरेको छ। साथै, आज नेपालले कोभिड-१९ का सामाजिक-आर्थिक प्रभावहरूका साथै आर्थिक अस्थिरता, र २०२६ मा अति- कम विकसित राष्ट्रहरूको समूहबाट स्तरोन्नति सम्बन्धित विविध चुनौतीहरूको सामना गरिरहेको छ।

नेपाललाई पुरानै प्रदर्शन दोहोर्‍याउन चुनौती

४ असार, काठमाडौं । नेपालले खेल्ने मध्येकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो साफ च्याम्पियनसिप ।  १३ पटक यो प्रतियोगिता खेलेको नेपालका लागि एक चोटी फाइनल पुग्नु नै अहिलेसम्मकै ठूलो उपलब्धि हो । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने यस प्रतियोगिताको गत संस्करणमा नेपाल फाइनल पुगेको थियो । सन् २०२१ मा माल्दिभ्समा भएको १३औं संस्करणको साफमा […]

संसार आर्थिकमन्दीमा जाँदैछ, नेपाललाई जोगिने चुनौती छ : गभर्नर

२४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको मन्दी र शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने बताएका छन् । उनले विश्वभरमै पर्नसक्ने आर्थिकमन्दीको असरबाट जोगिनु नै नेपालका लागि उपलब्धिपूर्ण हुने बताए । बैक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै अधिकारीले संसार मन्दीको वातावरणमा गएको बताए […]

प्रिन्सलाई वरीयता जोगाइ राख्न चुनौती

बुवाले खेलेको देखेर सानैदेखि उनी पनि ब्याडमिन्टन खेल्न थाले । विद्यालय स्तरदेखि नै ब्याडमिन्टनमा उनको लगाव बढ्यो । यसले उनलाई अहिले विश्वकै नम्बर एक खेलाडी बनायो । उनी अर्थात् प्रिन्स दाहाल अहिले विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा छन् । नेपाली ब्याडमिन्टन खेलाडीले पाएको यो उपलब्धि इतिहासकै गौरव गर्न लायक क्षण हो । शीर्ष वरीयतामा पुग्दासम्म प्रिन्सको मिहिनेत त छ नै, साथै पारिवारिक वातावरण पनि ब्याडमिन्टनमय छ ।  प्रिन्सका बुवा नारायण दाहाल दार्चुलामा हुने जिल्लास्तरीयदेखि धे

‘उपलब्धि रक्षा गर्नु सबैभन्दा ठूलो चुनौती’

पोखरा । नेपालको संविधान २०७२ जारी भएको छ वर्ष पुगेको छ । स्थानीय, प्रदेश र संघको चुनाव भएर संविधान कार्यान्वयनको चरणमा गएको भने ४ वर्ष भएको छ । यस अवधिमा के उपलब्धि भयो, चुनौती के आएर र ती चुनौतीको समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा पोखरमा शनिबार वृहत छलफल भएको छ ।

बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि खोसिनु हुँदैन : पूर्व मन्त्री पुन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवं पूर्व मन्त्री वर्षमान पुनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि खोसिन नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शनिवार दमौलीमा आयोजना गरेको कार्यक्रममा पूर्व मन्त्री पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौती भएको बताए । ५ वर्षका लागि जनादेश प्राप्त पार्टी सडकमा आउला भनेर कसैले नसोचेको चर्चा गर्दै पूर्व मन्त्री पुनले राजनीति विचार र सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्ने टिप्पणी गरे । पार्टीले ५ वर्षका लागि प्राप्त गरेको मतको...