असार ११, काठमाडौं । नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन गर्नका लागि सरकारसँग समझदारी गरेको छ ।
परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा सरकारले आफ्नो साझेदारी प्रस्तुत गरेको हो ।
बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको एक कार्यक्रममा सरकारका मुख्य सचिव शंकरदास बैरागीले देशलाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न यो अभियानसँगको साझेदारी कोसेढुंगा साबित हुने बताए ।
कार्यक्रममा परिसंघका अध्यक्ष सतीशकुमार मोरले स्वदेशी वस्तुको उत्पादनका लागि यो अभियान महत्वपूर्ण रहेको बताए । त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समझदारीपछि अभियानका लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए ।
नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि तथा प्रवद्र्धन गरी निर्यात गर्नका लागि यो अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २४ गते गर्नुभएको थियो ।
यो अभियानको मुख्य उद्देश्य नेपाली उत्पादन वृद्धि गरी आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माण गर्न सहयोग गर्नु, नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनको उपभोग गर्न प्रोत्साहन गर्नु र नेपाली उत्पादनको बजारीकरण गरी विश्व बजारमा नेपाली वस्तु र सेवाको उपलब्धता बढाउनु, देशभित्रै रोजगारीको पर्याप्त अवसर सिर्जना गर्नु र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिमा सहयोग गर्नु रहेको बताइएको छ ।