सुनसरी(अस) । जनप्रतिनिधिले स्थानीय सरकार सञ्चालन गर्न थालेपछि इटहरी उपमहानगरपालिकामा ४ वर्षको अवधिमा १०५ किलोमिटर सडक कालोपत्र गरिएको छ । इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार अबको १ वर्षमा थप १०० किलोमिटर बाटो कालोपत्र हुनेछ ।
इटहरीको गाउँ गाउँका सडकहरू कालोपत्र भइसकेको र कतिपयमा अहिले धमाधम काम भइरहेको उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले बताए । गत आर्थिक वर्षमा सम्झौता भएका धेरै योजना सम्पन्न हुने चरणमा रहेको उनको भनाइ छ । अघिल्लो वर्ष शुरू भएका ११ ओटा बहुवर्षे योजनामा रहेका सडकमध्ये सातओटा निर्माण सम्पन्न भएको र चारओटा लामो रहेकाले केही समय लाग्ने उनले बताए । यद्यपि बाँकी रहेका सडक निर्माण आगामी दशैंअघि नै सक्नेगरी काम भइरहेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७७/७८ का ४० ओटा बहुवर्षे योजनामा पनि धमाधम काम भइरहेको उपमहानगरपालिकाले बताएको छ । वरिष्ठ इन्जिनियर घिमिरेले सबै प्राविधिक जनशक्ति बाँकी सडक निर्माणमा केन्द्रित भएकाले दशैंअघि नै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । गत आर्थिक वर्षमा कोरोनाका कारण बेलैमा ती योजना शुरू हुन सकेका थिएनन् । गाउँलाई शहरसँग जोड्नेगरी इटहरीका सबै मूलबाटोहरू कालोपत्र हुने चरणमा रहेको उनले बताए ।
४ वर्षको अवधिमा चारओटा पक्की पुल निर्माण सम्पन्न भएको छ । यस्तै तीनओटा ठूला पुलको निर्माण शुरू भएको छ । वडाका आप्mनै भवन निर्माण भइरहेकाले एक वर्षभित्र १६ ओटा वडाका आप्mनै कार्यालय हुने र प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइने बताइएको छ ।