राम्रो वर्षा भए पनि र रोपाइँ राम्रो भएको भनिए पनि यस वर्ष नेपालमा धानको उत्पादन ८ दशमलव ७४ प्रतिशत घटेको छ । समग्र जीडीपीमा कृषिक्षेत्रको योगदान करीब २५ प्रतिशत रहेको मानिन्छ । कृषिमा धेरै अंश ओगट्ने धान नै हो । त्यसैले धानको उत्पादन घट्नु चिन्ताको विषय हो ।
नेपालमा धानको उत्पादन र उत्पादकत्व दुवै बढाउने खालका प्रभावकारी कार्यक्रम आवश्यक देखिन्छ । तर, सरकारले अव्यावहारिक नीति लिएका कारण खेती गर्ने क्रम नै घटिरहेको छ ।
नेपालमा धानखेती हुने क्षेत्रफल घट्दो छ भने उत्पादकत्वचाहिँ बढ्दो क्रममा नै रहेको देखिन्छ । शहरीकरण र वैदेशिक रोजगारीका कारण धेरै मलिला फाँटहरूमा घाँस उम्रिरहेको देखिन्छ । खेती गर्ने क्रम मात्र घटेको होइन पशुपालन पनि घटेकाले कृषिको उत्पादन घटेको देखिन्छ । नेपालमा उन्नत जातको बीउको प्रयोग तथा रासायनिक मल आदिका उपयोगका कारण धानको उत्पादकत्व बढे पनि धानचामलको आयात भने बढ्दो छ । यातायातको पहुँच, बढ्दो आर्थिक स्तरलगायत कारण मानिसहरूले गहुँ, मकै, आदि खाद्यान्न छाडेर भात खानतिर लाग्दा पनि धानचामलको आयात बढेको हो ।
त्यसैले नेपालका धानको उत्पादन र उत्पादकत्व दुवै बढाउने खालका प्रभावकारी कार्यक्रम आवश्यक देखिन्छ । तर, सरकारले अव्यावहारिक नीति लिएका कारण खेती गर्ने क्रम नै घटिरहेको छ । यस वर्ष धानको उत्पादन बढ्ने र त्यसको प्रभावले जीडीपी नै राम्रो हुने सरकारको आकलन थियो । कोरोनाका कारण मानिसहरू वैदेशिक रोजगारीमा जान नपाएको लगायत कारण यस वर्ष बढी क्षेत्रफलमा धानखेती भएको सरकारको अनुमान थियो । तर, धानमा चामल पसाउने बेला आवश्यक पर्ने मलको प्रबन्ध गरिदिन सकेन । साथै, अनपेक्षित रूपमा बढी वर्षा भई आएको बाढीले काटिएको धान पानीमा भिजेर बिग्रियो । त्यसैको परिणति धान उत्पादन घटेको देखिन्छ ।
नेपालले मौसम भविष्यवाणी गर्न पछिल्लो समय राम्रै सफलता पाएको देखिन्छ । तर, मौसम भविष्यवाणी गर्न सक्ने क्षमता भएर पनि समयमै सही तरीकाले सूचना दिन नसक्दा किसानले काटेको धान क्षति हुन पुगेको देखिन्छ । वर्षा हुन्छ भन्ने थाहा पाएर पनि कत्तिको ठूलो हुन्छ र धान काट्न उपयुक्त हुन्छ कि हुँदैन भनेर मौसमको भविष्यवाणीसँगै जानकारी दिन नसक्दा बढी क्षति पुगेको देखिन्छ । त्यस्तै काटिसकेको धान वर्षा भएमा जोगाउन सकिने प्रविधि नभएको होइन । तर, किसानहरूलाई सिकाउन सकिएन । धान सुकाउन राख्ने बलोमा धान झुन्ड्याएर राख्न सकिने सजिलो तरीका छ तर यति सामान्य जानकारी पनि समयमा दिन नसक्दा ठूलो क्षति बेहोर्नुपर्यो । खेतमा डुबेको धान मुठा बनाएर ओत लाग्ने ठाउँसम्म ल्याउन सक्ने अवस्था भएन ।
यो वर्ष बाढीले बालीमा क्षति पुर्यो तर अर्को वर्ष धानखेती नै घट्न सक्ने सम्भावना देखिन्छ । युवा वैदेशिक रोजगारीमा जान थालेकाले अर्को वर्ष धानखेतीको क्षेत्रफल घट्ने निश्चितप्रायः नै छ, जुन विगतका वर्षहरूमा देखिँदै आएको थियो । यसलाई रोक्ने हो भने कृषि पेशालाई आकर्षक बनाउन आवश्यक छ । बजारप्रणाली भुक्तानी संकलन गर्ने प्रणाली, यान्त्रीकरणमा सहजीकरणजस्ता कुरामा सुधार ल्याएर कृषितर्फ आकर्षित गर्न सकिन्छ ।
धानखेती गर्दा कृषकहरूलाई नोक्सान भयो । उसले तुरुन्तै त्यही जमीनमा केही खेती गर्न सकेको भए धान बालीमा गुमेको अवसरको क्षतिपूर्ति केही मात्रामा पाउन सक्थ्यो तर त्यस्तो हुन सकेन । यस्तो सुझाव कतैबाट पनि दिइएन । कृषिबीमा पनि प्रभावकारी छैन । यसरी क्षति भोगेका किसानलाई सरकारले राहत दिने भनेर तथ्यांक संकलन गरे पनि अहिलेसम्म उपलब्ध गराएको पाइन्न । यस्तो अवस्थामा कसरी युवालाई कृषितर्फ आकर्षित गर्न सकिन्छ र ? कृषिक्षेत्रको विकासका लागि सरकारले दर्जर्नौं कार्यक्रम र योजनाहरू बनाएको छ । तर, तिनले किसानले भोग्नुपरिरहेका समस्या सम्बोधन गर्न नसक्दा नै खेतीलाई पेशा बनाउन मानिसको संख्या घटेको छ र जमीन बाँझो रहन थालेको छ । यो प्रवृत्ति रोक्न सहज कृषि औजार र भरपर्दो बजार व्यवस्था आवश्यक हुन्छ ।