गरुड पुराण अनुसार यस्ता व्यक्तिको घरमा खाना खानुहुँदैन

गरुड पुराणमा जीवन र जगतका बारेमा थुप्रै कुरा लेखिएका छन् । यो १८ पुराणमध्येको एक हो । यसमा २७९ अध्याय र १८ हजार श्लोक छन् । यसको रचना वेदव्यासले गरेका थिए । गरुड पुराणले गर्न हुने र नहुने कुरामा मार्गदर्शन गरेको छ । यसमा कस्ता व्यक्तिले पकाएको खानेकुरा खान उचित हुँदैन भनी उल्लेख गरेको छ […]

सम्बन्धित सामग्री

घरमा शंख किन राखिन्छ ? यस्ता छन् अद्भूत फाइदा

काठमाडौँ– हिन्दु संस्कृतिमा शंखलाई महत्त्वपूर्ण मानिन्छ । शंखमा ॐ ध्वनि प्रतिध्वनित हुन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश र लक्ष्मीको प्रतीक मानिन्छ । पुराण र शास्त्रमा शंख ध्वनिलाई अत्यन्त कल्याणकारी मानिन्छ । वास्तु शास्त्रमा समेत शंख ध्वनि अर्थात् शंखनादबाट कुनै पनि स्थानको नकारात्मकता नष्ट गर्न सकिन्छ । वास्तु शास्त्रकाअनुसार, शंखमा वास्तु दोष हटाउने अद्भुत […]

भीड जम्मा पार्ने मन्त्र

अचेल जताततै चुनावमा भिड्ने कुरा मात्रै सुनिन्छ । भीडबाट भिड्ने शब्दको व्युत्पत्ति भएकाले यो भिड्ने सिड्ने कुरामा जोसँग भीड हुन्छ, उसैले जित्ने हो । जोसँग भीड छैन, ऊ भीरबाट लड्छ । यस्ता भीड जुटाउन नसकेर भीरमा लड्नेलाई काँध थाप्नु त कता हो कता, कसैले रामराम पनि भन्नेवाला छैन । त्यसैले चुनावी पर्वमा भीडको निकै महत्व हुन्छ । आफ्नो सात पुस्ताले कुकर्म गरेपछि सुकर्मका लागि कुनै ‘स्वच्छ’ सरकारी अधिकारीहरूलाई पनि ब्यानरमा देखाउन सकिन्छ । भनिन्छ गफ लगाएर भीड तान्ने खुबी छ भने हेर्दाहेर्दै आफूलाई मन परेको कुर्सी पनि आफूतिर तानिइहाल्छ । विनाभीडको जीव अन्तमा भाडमा जान्छ । भलै हिजोआज बजारमा अचम्म किसिमका भीड भाडामा उपलब्ध छन् । तर पनि भीड जम्मा पार्न दिमाग चैं पूरै लगाउनुपर्छ । चुनावी वैतरणी पार गर्नका लागि भीड नै एकमात्र उपाय हो । नारा लगाउने वाला, जयजयकार गर्ने वाला, पोस्टर पम्प्लेट चाट्ने वाला, पुत्ला जलाउने वाला–सजाउने वाला, लाठीमुंग्री चलाउने वालादेखि लिएर फर्जी तरीकाबाट भोट हाल्ने वालासम्मका भीड सर्वत्र उपलब्ध छन् । बजारमा नाना प्रकारका भीड अटाएका छन् । ती भीडको फाइदा लिन रकमको जोहो भने आफै गर्नुपर्छ । गाँठ अनुसार भीड जम्मा गरिदिने भीड समेत सजिलै उपलब्ध छन् जान्ने र सक्नेहरूका लागि । अहिले बजारमा नयाँ नयाँ प्रकारको भीड पनि प्रकट भएका छन् । ह्वाट्सएप वा भाइबरमा सन्देश–शस्त्र चलाउने वाला, टिकटक वा फेसबुकमा भिडियो पुराण लगाउनेवाला र ट्वीटर देउतामा चुनावी ट्वीटबाजी गर्नेवाला भीड थोक वा खुद्रामा उपलब्ध छन् । साइबर स्याल र हनुमान्को त यहाँ भीडै छ, पार्टीपिच्छे, नेतैपिच्छे । यहाँ भीड जम्मा गर्न खल्ती चाहिँ अलिक मोटै हुनुपर्छ । पहिल्यैदेखि त्यसै ठूला बनेका भीडलाई त मिडियाले सित्तैमा प्रचार गरिदिएर अझ ठूलो भीड बनाउन मद्दत गरिरहेकै छन् । वैकल्पिक र विकल्पविहीन साना भीडवाला संगठनहरू जो केही सस्तोमा भीड जुटाउन चाहन्छन्, उनीहरूलाई म सित्तैमा यहाँ केही टिप्स दिन चाहन्छु । चुनाव जितिसकेपछि भने बदलामा मलाई पनि दुई–चारओटा सरकारी ठेक्कापट्टा मिलाइदिनुपर्छ है ! कुनै समिति वा आयोगको अध्यक्ष बनाइदिनुपर्दछ । वा कुनै बोर्ड वा कोषको गाडी र भत्ता पाउने गरी सदस्य नै भए पनि बनाइदिए पुग्छ । भीड बटुल्ने पहिलो सिद्धान्त हो, सामाजिक सञ्जाल हाइजेकीकरण । सामाजिक सञ्जाल नाममात्र सामाजिक हो । त्यसभित्र प्रायः कुरा असामाजिक नै हुन्छन् । र, यसलाई अपहरण गरेर मनले चाहेजति भीड जम्मा गर्नुस् । हेर्नुस्, हामी नेपालीहरू अरू केही गर्न नसके पनि टिकटक भिडियो बनाउन वा फेसबुक चलाउनेमा भने कुशल नै छौं । यहाँ अनेक रंग ढंगका सामाजिक सञ्जालबाज छन् । यी सबै अदृश्य भीडका रूपमा बसेका छन् । यिनीहरूले चाहेको खण्डमा कुनै पनि उम्मेदवार वा नेताको चुनावी गाडी पार लगाउन सक्छन् वा खाल्टामा धकेल्न पनि सक्छन् । यस्तो डिजिटल भीड जम्मा गर्नेहरूमा केही गाउँमा गोबर सोहोर्नेहरू छन् वा शहरमा गाडीमा हिँड्नेदेखि खाडीमा पसिना बगाउनेहरूसम्म छन् । यिनले एकदमै रमाइलो र प्रभावशाली तरीकाले डिजिटल भीडबाट आफूले चाहेअनुसार काम फत्ते गराउन सक्छन् । न्यायिक फैसला पनि यही भीडले गर्छ, समाजसेवाको रकम पनि यसैले जोहो गरिदिन्छ र राष्ट्रवादीको पगरी पनि यसैले गुथाइदिन्छ । यसैले गूगलबाट भात वा रोटी डाउनलोड गर्न नसके पनि भोट भने डाउनलोड गर्न सकिन्छ । भीड बटुल्नेमा मनोरञ्जक सिद्धान्तको पनि खास महत्त्व छ । सर्वसाधारणहरू यसै पनि चुनावी सर्कसबाट मनोरञ्जन लिन्छन् नै । किनकि उनीहरूलाई थरी–थरीका छोटेबडे नेता भनाउँदाहरूको भाषणले नै मनोरञ्जन प्रदान गरिरहेका हुन्छन् । अनि अचेल त भाषणले मात्र नपुग्ने भएपछि नर्तकी ल्याएर नचाउने होड पनि चलेको छ । बूढा नेताका अगाडि भर्खरकी युवतीले कम्मर मर्काएपछि भीडको भोट पक्का ! अझ कुनै आइटम विशेषमा धेरै ताली हासिल गर्नु छ भने चाहिँ चलचित्र वा नाटक साटकमा नाच्ने, अभिनय गर्नेवालीहरूको बन्दोबस्त गर्नुपर्ने हुन्छ । उनीहरूको स्वागतमा ठूलै भीड जम्मा पारेर स्वागत भाषण गर्ने र सुन्ने आदि गर्न सकिन्छ । अझ भाषणबाजीको शुरू, मध्य र अन्त्यमा खुलामञ्चमा क्रान्तिकारी गीत घन्काएर, कम्मर मर्काएर, सरकार थर्काएर नृत्य, नाटक आदि प्रदर्शन गर्न सके फुर्सदिला नेपाली भीड जम्मा गर्न अरू केही गर्नै पर्दैन । अझ यसो एक दुई आइटम गर्लहरूलाई ल्याएर एक दुई आइटम गीतमा प्रदर्शन गर्न लगाउने हो भने त मशानघाटका भूतहरू पनि भीड बनेर भोट दिन आतुर भएका विगतमा देखिएकै हो । भीड भुसुक्क पारेपछि भोट त खुसुक्क पाइहालिन्छ नि । पाँच वर्षमा आउने चाडमा त्यति पनि नगरी भो त ? यता नयाँ ढंगले कठपुतलीका खेल देखाउनेवालाहरूको पनि बजारमा माग छ । आफ््नो सात पुस्ताले कुकर्म गरेपछि सुकर्मका लागि कुनै ‘स्वच्छ’ सरकारी अधिकारीहरूलाई पनि ब्यानरमा देखाउन सकिन्छ । त्यसो त कतिपय सरकारी हाकिमहरू, प्रहरी, प्रशासनमा रहेकाहरू आआफ्ना आराध्य देव नेताका आदेशानुसार कठपुतली बनेर काम गरि नै रहेका छन् । यसले पनि भीड जम्मा गर्ने सत्कर्ममा सहयोग नै पुर्‍याइरहेकै छ । हिजोआज त सामाजिक सञ्जालमा यति र उति ‘रीच’ बढाउन सक्छु भन्ने सोसल मिडियाबाज पनि थुप्रै आएका छन्, जसले उमेर समूह, भूगोल वा रुचि अनुसारका डिजिटल भीडलाई भोटमा बदल्ने ग्यारेन्टी लिँदै हिँडेका पनि देखिएका छन् । भीड छ त भाषण जे पनि दिन सकिन्छ । भाषणै दिन त के छ र ? जे मन लाग्छ ठोक्नै नै हो । मूल उद्देश्य नै भीड बटुल्ने नै त हो । यता सँगैको ठेलामा तातोतातो भीड उपलब्ध छ । यो भीड यता पासपोर्ट लिने लाइनमाा पनि छ, पेट्रोलियम किन्ने लाइनमा छ, सवारी लाइसेन्स लिने लाइनमा छ, जागीर खाने लाइनमा छ । यो भीड जताततै छ । त्यसैले छिटो आउनुहोस् । आफूलाई मनपर्ने भीड लिएरै जानुहोस् । एक्लै भीड जम्मा गर्न ल्याकत पुगेन भने गठबन्धन गर्नुस् । मै हुँ भन्नेले त एक्लै हिँड्ने आँट नगरिरहेका बेला साना साना भीड मिलाएपछि गतिलै भीड सृजना भैहाल्छ । तपाईंलाई कस्तो भीड बटुल्नु छ ? कि भीड बटुल्नुस् कि भीडको अंग बन्नुस् । नत्र तपाईंको जिन्दगी गयो खेर ! भीड बटुल्ने यी काइदाहरूको प्रयोग गर्नुहोस् । हेर्नुस् त, तपाईं अगाडिको कुर्सीले व्यग्र भएर तपाईंलाई कुरिरहेको छ !

नेपालका बेवारिसे बौद्धिक सम्पत्तिहरू

विगत अंकमा अहिलेसम्म नेपालको कानूनी व्यवस्थाभित्र जसोतसो समेटिएका बौद्धिक सम्पत्तिबारे चर्चा गरिएको थियो । ती थिए, प्रतिलिपि अधिकार, सान्निध्य अधिकार (नेबोरिङ राइट), ट्रेडमार्क (व्यापार चिह्न), औद्योगिक डिजाइन र पेटेन्ट । ट्रिप्स सम्झौताअनुसार संरक्षण दिइनुपर्ने थप भौगोलिक संकेत, एकीकृत सर्किट डिजाइन, बालीनालीका नयाँ जात र व्यावसायिक गोपनीयताको पनि कुनै कानूनी व्यवस्था हुन सकेको छैन । यीबाहेक अरू परम्परागत ज्ञान, लोकसंस्कृति, उपयोगी नमूना, जैवी साधन र आनुवंशिक स्रोत, अस्वस्थ प्रतिस्पर्धा निवारण, डिजिटल डाटा, डोमिन नाम, इ–कमर्श, इन्टरनेट संरक्षण पनि मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि निकै सान्दर्भिक छन् । अतः आजको अंकमा आगामी दिनहरूमा कानूनी दायराभित्र ल्याउन उपयुक्त हुने प्रमुख बेवारिसे बौद्धिक सम्पत्तिबारे संक्षिप्त चर्चा गरिएको छ । बालीनालीका नयाँ जात सम्बन्धमा ट्रिप्स सम्झौताले त्यस्ता नयाँ जातलाई या त पेटेन्टबाट या त अन्य कुनै स्थानीय मौलिक पद्धतिबाट अथवा संयुक्त रूपमा दुवै तरीका अपनाएर संरक्षण प्रदान गर्नुपर्ने भनेको छ । व्यावसायिक गोपनीयताबारे पेरिस महासन्धिमा स्पष्ट उल्लेख नभए पनि यस सम्बन्धमा उक्त महासन्धिको धारा १० ख मा उल्लिखित अस्वस्थ प्रतिस्पर्धा सृजना हुने अवस्था गोपनीय सम्झौता उल्लंघनबाट पनि हुने भएकाले यसलाई औद्योगिक सम्पत्तिअन्तर्गत राख्न सकिन्छ । व्यावसायिक गोपनीयता भनेको कसैले आफ्नो गोप्य सूचना, प्रविधि वा जानकारीलाई व्यापार र उद्योग व्यवसायमा प्रयोग गरेर लाभ लिनु हो । यो व्यक्तिगत स्वतन्त्रताको विषय हो । व्यावसायिक गोपनीयता भन्नाले देहायका विशेषताहरू विद्यमान रहेको कुनै सूत्र, सम्मिश्रण, बनावट, प्रक्रिया, तरीका, विधि, सूचना वा यस्तै जानकारी सम्झनुपर्छ, (क) त्यस्तो जानकारी सहजै भेद नखुल्ने गरी गोप्य राख्न सकिने हुन्छ । (ख) त्यसमा गोपनीयताको कारणले औद्योगिक वा व्यापारिक महत्त्व हुन्छ । (ग) त्यसको गोपनीयता निर्वाह गर्न केही न केही कदम चालिएको हुन्छ । कोकाकोला कम्पनीले आप्mनो फर्मुलालाई व्यावसायिक गोपनीयताबाट संरक्षण गरेको छ । तारे होटेलका सेफहरूमध्ये कसैकसैले उस्तै परिकार पनि अरूको भन्दा बढी स्वादिलो बनाउने कारण यही हो । यसको संरक्षणलाई कुनै औपचारिकता पूरा गर्नु पर्दैन । उपयोगी नमूना भन्नाले नौलोपना र औद्योगिक प्रयोजन भएको तर आविष्कारको चरण नभएको सामान्य किसिमको आविष्कार हो । यसको स्वरूप वा संरचनाबाट कुनै प्राविधिक समस्या समाधान हुन सक्छ । जस्तो नौलो प्रकारका हाते औजार । यसलाई लघु पेटेन्ट पनि भनिन्छ । यसको संरक्षण अवधि पेटेन्टको भन्दा छोटो अवधिको हुन्छ । कुनै विधिमा होइन उपयोगी उपकरणमा मात्र उपयोगी नमूनालाई संरक्षण प्रदान गरिन्छ । एकीकृत सर्किट डिजाइन अधिकार वाशिङटन सन्धिमा आधारित छ । एकीकृत सरकिट डिजाइन भन्नाले कुनै इलेक्ट्रोनिक कार्य सम्पादन गराउने उद्देश्यले सिलिकन धातुसमेतका सानासाना टुक्राहरू मिलाएर छुट्टै वस्तुका रूपमा वा सम्बद्ध वस्तुमा नै केही वा सबै आन्तरिक रूपमा जडान गरेर बनाइएको र कम्तीमा एउटा तत्त्व सक्रिय रहेको तयारी अवस्थाको वा योजना खाका मात्र तयार पारिएको अर्ध तयारी अवस्थाको इलेक्ट्रोनिक सर्किट डिजाइन सम्झनुपर्छ । घडी, कम्प्युटर, टीभी, ल्यापटप, मोबाइलजस्ता उपकरणमा इलेक्ट्रोनिक काम सम्पादन गर्न यस्तो एकीकृत सरकिट डिजाइन प्रयोग हुन्छ । भौगोलिक संकेत (जोग्राफिकल इन्डिकेशन) भन्नाले कुनै भौगोलिक क्षेत्रमा उत्पादन भएको कारणले त्यहाँको जलवायु, स्थानीय शीप र माटोको प्रभावबाट कुनै उत्पादित वस्तुमा खास गुण वा विशेषता वा ख्याति विद्यमान रहेको विषयलाई संकेत गर्ने प्रयोजनको भौगोलिक नाम र त्यससँगै प्रयोग हुने चिह्न भन्ने बुझिन्छ । अर्को तरीकाले भौगोलिक संकेत भनेको तीन ‘ज’ जमीन, जलवायु, जनताको भिन्नताका कारणले कुनै खास वस्तुमा देखिने भिन्न गुणलाई भौगोलिक नाम वा चिन्ह दिनु हो । अतः भौगोलिक संकेतका लागि निम्न तीन शर्त पूरा हुनुपर्छ– भौगोलिक नाम हुनुपर्छ, त्यही नामबाट उपभोक्ताबीच वस्तुको पहिचान हुनुपर्छ र उत्पादित वस्तुको गुणस्तरमा भौगोलिक वातावरणको प्रभाव परेको हुनुपर्छ । भौगोलिक वातावरणको प्रभाव भन्नाले जलवायु, जमीन, जनता अर्थात् ‘३ ज’ प्रभाव नै सम्झनुपर्छ । दार्जिलिङ चिया भौगोलिक संकेतको एक उदाहरण हो । बालीनालीका नयाँ जातहरू सम्बन्धमा ट्रिप्स सम्झौताले त्यस्ता नयाँ जातलाई या त पेटेन्टबाट या त अन्य कुनै स्थानीय मौलिक पद्धतिबाट अथवा संयुक्त रूपमा दुवै तरीका अपनाएर संरक्षण प्रदान गर्नुपर्ने भनेको छ । पेटेन्ट वा पेटेन्ट मिश्रित पद्धतिबाट भन्दा कुनै स्थानीय पद्धति (स्वी जेनरिस) बाट नयाँ जातको संरक्षण गरेर बाली प्रजननकर्तालगायत स्थानीय समुदाय र कृषकको अधिकार एवं हकहितको संरक्षण गर्न सकिन्छ । यस्ता जात लैङ्गिक विधिबाट वा जैवी प्रविधिबाट जेजसरी विकसित गरिएको भए पनि नवीनता, भिन्नता, एकरूपता र स्थिरता गरी चार गुण प्रमाणित भएमा मात्र त्यो नयाँ जात मानिन्छ । जस्तो सृजना वर्णसंकर गोलभेडाको नयाँ जात हो । जैविक साधन र जैवी विविधता भन्नाले मुलुकको विभिन्न हावापानी, पर्यावरण, धरातŒव, जलाशय, माटो र यिनको सहारामा जीवन चक्र सञ्चालन गर्ने जीवित पशुपक्षी कीटपतंगलगायत प्राणी, सूक्ष्म जीवाणु, वनजंगल र वनस्पति, र तिनीहरूको जात प्रकार वंशजस्ता विषयको भिन्नता वा अनेकता भन्ने बुझिन्छ । यो जैवी विविधता अभिसन्धि, १९९२ बाट पनि यसको संरक्षणमा बल पुगेको छ । सानो मुलुक भए पनि नेपालमा जैविक स्रोत प्रचुर मात्रामा रहेको छ र विश्वमा नेपाल ३२औं स्थान रहेको छ । जैविक विविधताको संरक्षणका लागि चाल्नुपर्ने प्रमुख कदमहरूमा समुदाय स्तरको जैवी साधनमा एक वा बहुसमुदायको हक पहिचान गर्ने, तिनको कानूनी हक र कर्तव्य सुनिश्चित गर्ने, न्यायोचित ढङ्गले जैवी साधनमा पहुँच वृद्धि गर्ने तथा लाभको बाँडफाँट गर्ने, दिगो उपयोग गर्ने र जैविक विविधताको संरक्षण सुनिश्चित गर्ने नै हो । परम्परागत ज्ञान भनेको परापूर्वकालदेखि श्रुति परम्पराको रूपमा पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएका वेद, उपनिषद्, स्मृति, आयुर्वेद पद्धति, जैवी विविधताको ज्ञान, परम्परागत प्रविधि, जडीबुटी उपचार पद्धति, कृषि पद्धति, लोकसंस्कृति, लोकसहित्यजस्ता विषयमा कुनै समुदायमा निहित ज्ञान हो । नेपाली जनजीवनमा परम्परादेखि नै पुर्खाहरूले चलाउँदै आएको र पुस्ताहरूमा हस्तान्त्रित हुँदै गएको, विभिन्न जनजाति र स्थानीय समुदायहरूको पनि आफ्नै मौलिक खालको चालचलन रीतिरिवाज, पद्धति, संयन्त्र, प्रणाली र व्यवहार तथा अभ्यासहरू जस्तो : लोककथा, लोकनृत्य, लोकलय, लोकगीत, उखान, जडीबुटी तथा झारफुक उपचार पद्धति, आयुर्वेदिक पद्धति, गाउँखाने कथा, दन्त्यकथा, धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक पहिचान र मूल्यमान्यता, जात्रा, चाडपर्व कृषि पद्धति, स्थानीय भाषा, हस्तकला, वास्तुकला, ललितकलाजस्ता धेरै विषय समेटिएको ज्ञानको क्षेत्र पम्परागत ज्ञान हो । यिनीहरूको स्पष्ट पहिचान र अभिलेखीकरण हुन सकेको छैन । लोकसंस्कृति परम्परागत ज्ञानको एक अंश हो । यसअन्तर्गत जनजीवनमा प्रचलित धार्मिक कथा वा पुराण, साहित्यिक र सांस्कृतिक कलात्मक, लोकलय, लोकगीत, नृत्य, उखान टुक्का किस्सा जस्ता विषय पर्छन् । परम्परागत ज्ञानका कतिपय विषय प्रविधि र आविष्कारसँग पनि सम्बद्ध हुन्छन् । परम्परागत ज्ञान र लोकसंस्कृतिको स्पष्ट विभाजन रेखा कोर्न सकिँदैन । यी चर्चा गरिएकाबाहेक इन्टरनेटसँग सम्बद्ध अन्य बौद्धिक सम्पत्तिहरू पनि छन् जस्तो डिजिटल डाटा, डोमिन नाम, ई–कमर्श आदि । यी पनि मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि निकै सान्दर्भिक छन् । बौद्धिक सम्पत्ति जेसुकै होऊन् तिनमा केही न केही नवीनता वा मौलिकता हुन्छ । कुनै पनि व्यवसायको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न, उत्पादित वस्तु वा सेवाको गुणस्तर वृद्धि गर्न, आकर्षण वृद्धि गर्न तथा मूल्य अभिवृद्धि गर्न बौद्धिक सम्पत्तिले ठूलो योगदान पु¥याउँछन् । त्यही कारणले गर्दा आधुनिक उद्योग व्यवसायमा बौद्धिक सम्पत्तिको व्यापक उपयोग गर्ने चलन बढेको छ । विश्व बौद्धिक सम्पत्ति संगठन खडा गरिएको छ र विश्व व्यापार संगठनमा पनि ट्रिप्सले व्यापार सरोकारका बौद्धिक सम्पत्तिहरूको संरक्षणलाई अनिवार्य गरेको छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

देश विकास किन भएन

प्रायः व्यक्तिहरूको जीवन संघर्षमय हुन्छ तापनि उसले आफ्नो जीवनमा मेहनत गरी प्रायः सबै कुरा प्राप्त गरेको हुन्छ । फरक यत्ति हो, जसले गलत तरीकाले सम्पत्ति कमाएको हुन्छ, त्यो क्षणिक हुन सक्छ । आफ्नो रगत पसिनाले कमाएका चिजहरू लामो समयसम्म रहिरहने हुन्छ । हामीले हाम्रो मुलुकमा यही सोचलाई फैलाउनु जरुरी छ । यसो भएमा हामीले विदेशीसँग लोकतन्त्र आएर पनि सधैं हात फैलाउन पर्नेछैन । अन्यथा मगन्ते मानसिकताको अन्त कहिल्यै हुन सक्दैन । हाम्रो देशमा राजनीतिक अन्योलले यहाँका मानिसले लोकतन्त्रको सही आनन्द लिन सकेका छैनन् । एउटा तथ्य सत्य कुरा के छ भने हाम्रो मुलुकमा सरकार बन्छ अनि शुरू हुन्छ, अहम् भावना । आफ्नो मान्छे चाहिने, भिजनको कमी, अल्झने वातावरण, कार्यकर्ताको चिन्तामा सत्ता अड्किन्छ । हाम्रो मुलुकमा सबथोक छ । विकासका लागि तापनि सधैं देश द्रुत विकासमा जान नसक्नु अचम्मको कुरा हो । यसका मुख्य कारण सरकार लापरवाही हुनु, अल्छी हुनु तर उसमा इच्छा शक्ति नहुनु नै हो । हामी भगवानसँग प्रार्थना गर्छौं कि यिनीहरूलाई शक्ति देऊ । सरकार मात्र होइन, मुलुकमा प्रतिपक्षी पनि कम छैन । जब देशमा सत्तापक्षको राज हुन्छ, तब प्रतिपक्षको जिउ चिलाउन शुरू हुन्छ । डाह, झगडा, खुट्टा टान्ने आदि रोगले गरेर उसले सरकारलाई ढलाई छोड्छ, यसरी बाँदर फरमुलाको अन्त्य हुन्छ र प्रतिपक्ष सफल हुन्छ, जुन हामीले प्रत्यक्ष रूपमा देखिराखेका छौं । शिक्षाको कमी, धैर्यको कमी आदिले यसो भएको हो । त्यसैले अब यस्तो कुसंस्कारको अन्त्य हुनु जरुरी छ । पार्टीहरू आलु पार्टी जस्तो भइराख्ने हो भने मुलुकको द्र्रुत विकास कसरी हुन्छ र लोकतन्त्र आएको के औचित्य भयो र ? हिमाल पहाड तराई यी तिनै भागका प्रदेशहरूमा मुलुक हाक्नेहरू कलह नगरी राम्रो सोच लिएर अघि बढ्ने हो भने यी सुन फल्ने ठाउँ हुन् । हिमाल पहाडमा जलविद्युत, पर्यटन, फलपूmल तथा जडीबुटी व्यवसाय आदीले मात्र अर्बौं रकम आर्जन गर्न सक्छौं । यसका लागि सरकारले सोच्ने नै राजमार्ग र जलविद्युत्को द्रुत विकास गर्नु हो, जुन अभैm अलपत्र परिराखेका छन् । अब तराई क्षेत्रको कुरा गर्ने हो भने यो क्षेत्रमा कृषि तथा उद्योग विकासको सम्भावना छ , धेरै समथल भूमि, कृषिजन्य बीउ तथा उद्योगका लागि कच्चा पदार्थ आयातजस्ता कुराहरू सुलभ हुनुका कारणले गर्दा यी ठाउँबाट पनि पर्याप्त आम्दानी गर्न सकिन्छ । यसका लागि तराईका प्रदेश सरकारहरू नै फुर्तिलो हुन जरुरी देखिन्छ । हुन त हाम्रो देशमा राम्रा नेताहरू पनि नभएका होइनन् । साथै, राम्रा पढेलेखेका बुद्धिजीवीहरू पनि थुप्रै छन्, तर केही खराब संस्कारले गर्दा मुलुक गलत दिशातर्पm गइराखेको छ । मुलुक जसरी द्रुत विकासमा जानुपर्ने हो त्यो गइराखेको छैन । अन्यथा ऋणभार, सरकार पुरा नटिक्नु, बेरोजगार समस्या उस्तै हुनु आदि कारण नै यो देशको ठूलो समस्या हो । देश चलाउनेहरू बलियो हुने हो भने यो समस्या खासै ठूलो होइन । यिनीहरू देशका लागि परिवर्तन हुनुप¥यो भनाइको मतलब नेताहरू सधंै कलहमा अल्झिरहनु भएन । हाम्रो देशमा नेताहरू ठूला सोच राख्छन्, पूर्वाधारका कुराहरू गर्छन्, तर कामहरू उति हुन सकेको छैन । निजीक्षेत्रबाट भने अलिअलि विकास भएको देखिन्छ । अहिले देशमा संघीय, प्रदेश र स्थानीय तहका सरकारी कर्मचारीहरूले काम गरेर देखाउनु जरुरी छ । यी क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, गरीबी निवारण तथा राजमार्गमा यिनीहरूको योगदानको खाँचो छ । मुलुकमा केही विकास भएकै छैन भन्नचाहिँ मिल्दैन । यसमा कसैले सकारात्मक सोच राखिराखेको हुन्छ भने कसैले नकारात्मक सोच राखेको हुन्छ । देशमा जुनसुकै सरकारले राज गरे पनि जब सरकारले सानोतिनो काममा ध्यान दिँदै जान्छ र गर्छ त्यो सरकार अवश्य पनि प्रिय हुन्छ । महँगी नियन्त्रण, बाटोघाटो निर्माण, फोहोर व्यवस्थापन, फ्रि पार्क, शौचालय आदि कुरामा ध्यान दिएर समस्याको समाधान गर्न सक्नुपर्छ । सरकारहरू यस्तो समस्याको समाधान गर्ने क्षमता देखिएको छैन । सरकारमा बसेर देश चलाउनेहरू आफ्नो मान्छे र पराइ भन्ने अनि कलह मात्र अल्झेर बस्ने हो भने यो क्षेत्रमा आउनुुको कुनै औचित्य छैन । तर, यिनीहरूलाई जति सुनाए पनि बैरो भालुलाई पुराण सुनाए जस्तो हो । हुन त हाम्रो काम यिनीहरूलाई सुझाव दिनु हो । नेताहरू परिवर्तन भएर राम्रो काम गरे भने उनीहरूलाएै आत्म गौरव हुनुका साथै आनन्द पनि आउँछ । तर, गलत काम गरेर सम्पत्ति मात्र आर्जन गर्ने हो भने न त आफ्नो भविष्य राम्रो हुन्छ न त आउने पुस्ताको भविष्य राम्रो हुन्छ । त्यो त समयले बताउने कुरा हो । नेताहरूले यसबारे सोेचविचार गर्नुपर्ने हो । देशमा लोकतन्त्र ल्याउन संघर्ष गरेको नेताहरूले यो मनमा राख्नुपर्छ कि हामीले यो मुलुकको लागि जति गर्नुपर्ने गरिसक्यौं तापनि सर्वसाधारणका लागि हामी दलहरू केही परिवर्तन हुनु जरुरी छ, अन्यथा हामी सधैं फोहोर ढल जस्तो भएर बस्नुपर्ने हुन्छ । हाम्रो मुलुकमा राम्रो मानिस, रकम भएका लगानीकर्ता, शीप भएका व्यक्तिहरू छन् । जुनसुकै सरकार आए पनि यिनीहरूलाई सक्दो सहयोग गरेर हौसला दिने हो भने विकास र सुशासनको सम्भावना छ । अन्य देश पनि हामीजस्तै अवस्थाबाट गुज्रिएका हुन् । अन्योल, द्वन्द्व, रोग, भोकमरीजस्ता समस्या अहिले विकसित भनिएका देशले पनि भोगेका हुन् । तर, उनीहरूले समस्यालाई सम्बोधन गर्न र थिति बसाल्न निकै शक्ति लगाए । हामीले भने त्यसो गर्न सकेका छैनौं । नेताहरू राम्रो गर्नुभन्दा नराम्रो गर्न प्रतिस्पर्धा गरिरहेको जस्तो लाग्छ । नेताहरू एकअर्कालाई गाली गर्नमा व्यस्त देखिन्छन् । उनीहरूको गालीको शब्द सुन्दा सर्वसाधारणलाई लाजसमेत लागेर आउँछ । तर, यस्ता नेताको पछि लाग्न कार्यकर्ताकोे भीड छ । तिनकै बोलवाला छ । त्यसैले देशमा कुशासन बढेको हो ।

सफ्टपावर प्राप्तिका संरचनागत पक्षहरू

कुनै पनि देशको स्वर्णकाल भन्दासाथ तत्कालीन समयमा आर्थिक सामाजिक, सांस्कृतिक, शैक्षिक, सैनिक, प्रशासनिक, आध्यात्मिक, धार्मिक र दौत्यनीति नीतिहरू उत्कृष्ट खालका थिए भन्ने बुझ्नुपर्छ । यी सबै क्षेत्रमा अरूभन्दा विशेष राम्रा नीतिहरू अंगीकार गरेर नै लिच्छवीकालका शासकहरूले नेपालमा स्वर्णकाल ल्याउन सफल भएका हुन् । त्यसैले नेपालको आधुनिक इतिहासमा लिच्छवी काललाई स्वर्णकालका रूपमा लिइन्छ । लिच्छवी कालमा दरबारमा नै शास्त्रार्थको उत्कृष्ट वातावरण सृजना गरिएको थियो जहाँ हिमालयको दुवै पट्टिका विद्वान्, दार्शनिक र विचारकहरू शास्त्रार्थ गर्न लालायित हुन्थे । सारांशमा भन्नु पर्दा नेपालले उत्तर र दक्षिणको विद्वत् वर्गलाई अन्तरक्रियाका लागि साझा मञ्च प्रदान गरेको थियो । ती विद्वान्हरू आफ्नो विधामा मात्रै दक्षता राख्दैन थिए परन्तु आफ्ना देशका शासनप्रणालीमा पनि परोक्ष प्रत्यक्ष प्रभाव राख्थे । यही सफ्टपावर लिच्छवीकालमा स्वर्ण युग ल्याउनमा धेरै हदसम्म उपयोगी भएको इतिहासकारहरूको मत छ । अंशुवर्माले तत्कालीन नालन्दा विश्वविद्यालयका प्रकाण्ड विद्वान् तथा व्याकरणविद्हरूलाई दरबारमा अभिभावकत्व प्रदान गरेबाट यस विषयको पुष्टि हुन्छ । विशेषगरी बौद्धमतको अन्तरक्रियाको मिलनविन्दु तत्कालीन नेपाल नै थियो र हिमालयको उत्तरतर्फ बुद्धधर्मको विस्तारमा नेपालमा आधारित प्राज्ञिक शास्त्रार्थको ठूलो योगदान रहेको पाइन्छ ।   प्रजातान्त्रिक नेपालमा ढिलै भए तापनि सफ्टपावरमार्फत मुलुकको दीर्घकालीन हित प्रवर्द्धन गर्ने पक्षलाई महत्त्व दिन थालिएको छ । परराष्ट्र नीतिमा यस पक्षलाई पुष्टि गर्नेगरी केही व्यवस्थाहरू गरिएका छन् । नेपालको परम्परागत विशिष्टताहरूको प्रचारप्रसार गर्ने, लुम्बिनी र पाशुपत क्षेत्रलाई बौद्ध र हिन्दू दर्शन र सभ्यताको एक प्रमुख केन्द्रका रूपमा प्रवर्द्धन गर्ने, नेपालको विशिष्ट प्राचीन पहिचानलाई विश्वसामु उजागर गर्ने, नेपाललाई पूर्वीय दर्शनको गन्तव्य स्थलको रूपमा पहिचान दिलाउने तथा शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सम्बन्ध फराकिलो र सुदृढ बनाउने विषयहरूमा नीतिगत सम्बोधन सकारात्मक पक्ष हो । यी नीतिगत व्यवस्थाहरूलाई कार्यान्वयनमैत्री बनाउनु केही संस्थागत व्यवस्थाहरू गर्नुपर्ने हुन्छ । यी पक्षको पहिलो प्रस्थान विन्दु भनेको नेपाललाई पूर्वीय मान्यताहरूको मिलनविन्दुको स्थल बनाउने सोचको जग हाल्नु नै हो । यसका लागि प्रारम्भमा पूर्वीय सभ्यताका विविध पक्षहरू (सभ्यता, धर्म, संस्कृति, विधा, शास्त्र, ज्ञान, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, सांस्कृतिक सम्पदा, परम्परा र वेशभूषा) का बारेमा अन्तरक्रियाका लागि मञ्च उपलब्ध हुने व्यवस्था गरिनुपर्छ । सगरमाथा संवाद यी तमाम क्रियाकलाप सञ्चालनका लागि उपयुुक्त मञ्च बन्न सक्ने देखिन्छ । सगरमाथा संवादअन्तर्गत पूर्वीय सभ्यताका उपर्युक्त विविध पक्षहरूमा पूर्वीय सभ्यतासँग सरोकार पक्षहरूको सहभागितामा नियमित रूपमा शास्त्रार्थ र प्रवचनहरू सञ्चालन हुनुपर्छ । विद्वान्हरूका दुईओटा आवश्यकता (सम्मान र भरणपोषण)हरूलाई सम्बोधन गर्नेगरी सगरमाथा संवादलाई सक्रिय पार्न सकेको खण्डमा निश्चय नै यो नेपालको सप्mटपावरमार्पmत प्रभाव विस्तारको उपयुक्त माध्यम बन्न सक्छ । नेपाल संस्कृत विश्वविद्यालय विश्वभरका संस्कृतसम्बन्धी क्रियाकलापहरूको केन्द्रका रूपमा विकास गर्न सकिने देखिन्छ । यस्तै, विश्वभरका बौद्ध दर्शन र शास्त्रहरूको अध्ययन र अध्यापनको केन्द्रका रूपमा बौद्ध विश्वविद्यालयको आधारशिला पनि देशभित्र उपलब्ध छ । विश्वभरिका नेपाली भाषीहरूलाई एकआपसमा भावनात्मक रूपमा जोड्ने गरी नेपाली भाषा केन्द्रीय विभागलाई सक्रिय तुल्याउन सकिन्छ । नेपाललाई पूर्वीय कला र संस्कृतिको मिलनविन्दुका रूपमा विकास गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विषयगत प्रज्ञा प्रतिष्ठानहरूलाई परिचालन गर्न सक्ने देखिन्छ । नेपालमा मूल भएका भाषाहरूमा पनि सोहीअनुरूप व्यवस्था गर्न सकिन्छ ताकि ती सबै भाषाको प्रशासन पनि नेपालमा स्थित नेपाली केन्द्रहरूले नै सञ्चालन गर्न सकून् । नेपाललाई शाक्त, शैव, तन्त्र, मष्टो बन्डाली, किरात, बोनलगायत पन्थहरूको केन्द्रका रूपमा विकास गर्न सम्बद्ध पीठ, मन्दिर र मठअन्तर्गत आध्यात्मिक क्रियाकलापहरूमार्फत विश्वव्यापी सञ्जाल तयार गर्न सकिन्छ । हिन्दू धर्मको व्यवस्थापन अर्को सम्भावना भएको क्षेत्र हो । यसका लागि छुट्टै प्रतिष्ठान, न्यास आदिको व्यवस्था गरी विश्वव्यापी सञ्जाल स्थापना गर्न सकिन्छ । हिन्दू धर्म सम्बद्ध सबै प्रकारका क्रियाकलापहरू वेद, पुराण, कर्मकाण्ड अध्ययन, अध्यापन, धार्मिक अनुष्ठानको विधि पद्धतिको निर्धारण र निरूपणलगायत क्षेत्राधिकार रहने यस प्रबन्धले नेपाललाई यस क्षेत्रको प्राधिकारका रूपमा विकास गर्न सक्ने देखिन्छ । संस्कृत अध्ययन विशुद्ध प्राज्ञिक विधाका पृथक् क्षेत्रका रूपमा विकास गर्दै हिन्दू धर्म सम्बद्ध क्रियाकलापहरू अलग्गै न्यासका रूपमा सञ्चालन गरिँदा यसले उद्देश्य र लक्ष्यहरूमा थप स्पष्टताहरू ल्याई संस्कृत भाषा र हिन्दू धर्मको विश्वव्यापी रूपमा समानान्तर रूपमा निर्विवाद विकास हुने देखिन्छ । विद्वानहरूका दुईओटा आवश्यकता (सम्मान र भरणपोषण)हरूलाई सम्बोधन गर्नेगरी सगरमाथा संवादलाई सक्रिय पार्न सकेको खण्डमा निश्चय नै यो नेपालको सफ्टपावरमार्फत प्रभाव विस्तारको उपयुक्त माध्यम बन्न सक्छ । नेपाली मौलिक पोशाकहरूको प्रवर्द्धनमा पनि सोहीअनुरूपका संस्थागत व्यवस्थाहरू गर्न सकिन्छ । यी पोशाकको विश्वव्यापीकरणले नेपालमा र नेपाल बाहिर पोशाकसम्बन्धी एउटा सञ्जाल तयार हुने देखिन्छ । यस्ता संस्थाहरूको निरन्रताका लागि आवश्यक पर्ने साधनस्रोतका लागि विश्वव्यापी रूपमा तीनओटा प्रचलनहरू (दान, सरकारी सहयोग र शुल्क) विद्यमान छन् । नेपालले पनि यस्ता संस्थाहरू र ती संस्थाका क्रियाकलापहरू उपर्युक्त तीनओटै आडमा सञ्चालन गर्ने नीति अंगीकार गर्नुपर्छ । यसो गर्न सकेको खण्डमा उपर्युक्त क्रियाकलापहरू सञ्चालन गर्न साधनस्रोतको पनि अभाव हुने देखिँदैन । सम्बद्ध भाषाका लागि सम्बद्ध भाषीहरू, सम्बद्ध धर्मका लागि सम्बद्ध धर्मावलम्बीहरू तथा इच्छुक दाताका व्यक्तिगत न्यासहरूको स्थापनामार्फत साधनस्रोतको यथोचित व्यवस्था गर्न सकिने सम्भावना छ । संस्थाहरूका सेवाहरूमार्फत पनि नियमित आयआर्जनको व्यवस्था गर्न सकिने देखिन्छ । जस्तै नेपाली भाषाको विकासका लागि नेपाली भाषाको व्याकरण र शब्दकोशको विक्रीबाट हुने आय संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण स्रोतका रूपमा रहन सक्छ । कुनै दाताले नेपाली शब्दकोशको पुनर्लेखन र संशोधनजस्ता क्रियाकलाप सञ्चालन गर्न अक्षयकोष नै स्थापना गर्न सक्छन् । संस्कृत भाषाको कुनै विषयको अध्ययन र अध्यापनका लागि यस्तै अक्षयकोषहरूको व्यवस्था गरी दिन दाताहरू अगाडि आउन सक्छन् । अक्सफोर्ड विश्वविद्यालयमा स्थापित बोडेन चेयर अफ संस्कृत यसको उदाहरण हो । यसका लागि चाहिने अक्षय कोषको व्यवस्था तत्कालीन इस्ट इन्डिया कम्पनीका लेप्mिटनेन्ट कर्नेल जोसेफ बोडेनले गरेका थिए । सफ्टपावरको क्षेत्रमा क्रियाशील संस्थाहरूको आर्थिक स्रोतको यो मोडल विश्वव्यापी रूपमा प्रचलित छ । सारमा भन्नुपर्दा उपर्युक्त क्षेत्रहरूको परिचालनमा साधनस्रोतको व्यवस्था त्यत्ति अहम् प्रश्न होइन । आजको सर्वाधिक महत्त्वको विषय भनेको ती संस्था उद्देश्यबमोजिम सञ्चालन गर्न सक्ने क्षमतावान र इमानदार जनशक्तिको हो । पश्चिमले हरेक क्षेत्रमा गरेको आश्चर्यचकित विकासका पछाडि संस्थाको नेतृत्वमा योग्य इमानदारको चयन, साधनस्रोतको पर्याप्त व्यवस्था र राजनीतिक अहस्तक्षेपयुक्त निरन्तरता नै प्रमुख कारणहरू हुन् । यी तीनओटा मान्यतालाई अंगीकार गर्दै नेपाललाई पूर्वीय ज्ञानको केन्द्रका रूपमा विकास गर्ने हो भने लिच्छवीकाल जस्तै नेपालमा अर्को स्वर्णकाल आउन सक्छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

गरुण पुराण अनुसार यस्ता व्यक्तिको घरमा भोजन गर्नु हुँदैन

हाम्रो पौराणिक शास्त्रहरुमा जीवन र जगतको बारेमा धेरै अमूल्य कुरा छन् । त्यस्तै उपयोगी शास्त्र हो, गरुड पुराण । गरुण पुराण त्यस १८ पुराणमा एक हो, जसको रचना वेद व्यासले गरेका थिए । यसमा २ …