घरमा शंख किन राखिन्छ ? यस्ता छन् अद्भूत फाइदा

काठमाडौँ– हिन्दु संस्कृतिमा शंखलाई महत्त्वपूर्ण मानिन्छ । शंखमा ॐ ध्वनि प्रतिध्वनित हुन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश र लक्ष्मीको प्रतीक मानिन्छ । पुराण र शास्त्रमा शंख ध्वनिलाई अत्यन्त कल्याणकारी मानिन्छ । वास्तु शास्त्रमा समेत शंख ध्वनि अर्थात् शंखनादबाट कुनै पनि स्थानको नकारात्मकता नष्ट गर्न सकिन्छ । वास्तु शास्त्रकाअनुसार, शंखमा वास्तु दोष हटाउने अद्भुत […]

सम्बन्धित सामग्री

नेपाल संवत्, ऋणमुक्ति र ऋणको स्थिति

नेपाली इतिहासमा शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत् गरी चारओटा संवत् प्रचलनमा आएको इतिहास छ । सुमतितन्त्र नामक ज्योतिष ग्रन्थमा नेपालमा प्रचलित संवत्हरूको संक्षिप्त वर्णन गरिएको छ । नवौं शताब्दीतिर उत्तर भारतबाट व्यापार व्यवसायको खोजीमा नेपाल उपत्यकामा प्रवेश गरेका वैश ठकुरीहरू सैनिक सेवामा प्रवेश गरी क्षत्री बनेका र यिनै ठकुरी वंशका राजा मानदेव चतुर्थका छोरा राघवदेवले विसं ९३६ कार्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत् चलाएको कुरा पढ्न पाइन्छ । राजा श्रीराघवदेवले पशुपतिनाथलाई लक्षित गरी यो संवत् चलाएको गोपाल राजवंशावलीमा संक्षिप्त उल्लेख गरिएको छ । लिच्छविकालमा अंशुवर्माको समयदेखि पशुपति अंकित मुद्रा प्रचलनमा ल्याइएकोबाट पनि पशुपतिनाथको सम्मानमा यो संवत् चलाइएको अनुमान लगाउन सकिन्छ । चन्द्रमासको आधारमा शुरू हुने नेपाल संवत्मा तिथि टुटफुट हुने कारणले चन्द्र शमशेरले विसं १९६० तिर आएर जागीरदारलाई तलब दिन अप्ठ्यारो परेकाले यसलाई हटाई विक्रम संवत्लाई मान्यता दिए ।  भाषा वंशावलीमा नेपाल संवत्को प्रारम्भका बारेमा चर्चा गरिएको छ । राघवदेवको पालामा भक्तपुर ग्राममा एक समुद्रशास्त्र जान्ने व्यक्तिले सुवर्ण आकर्षणको योग, बार, साइतमा गोप्य रूपमा विष्णुमती र भद्रमतीको संगम लखुतीर्थमा गर्ई बालुवा बोकी ल्याउन भरियाहरूलाई पठाएको र भरियाहरूले अह्राए बमोजिम बालुवा बोकी ल्याउँदा कान्तिपुरवासी साख्वा नाम गरेका शुद्र जातले भरियाहरूलाई घरमा लगी सम्मान गरी खुवाई मलाई पनि बालुवा चाहिएकाले यो बालुवा मेरो घरमा खन्याई विष्णुमती गई बालुवा लैजाऊ भनी ज्यालासमेत दिई पठाएको थियो । भरियाहरूले बालुवा साख्वाको घरमा खन्याई फेरि विष्णुमती गई बालुवा बोकी भक्तपुरग्राम लगे । साख्वाको घरको सबै बालुवा चौथो दिनमा सबै सुवर्ण अर्थात् सुन भयो । साख्वाले यो धन त्यसै राख्नुभन्दा धर्मकीर्तिमा लगाउनु उपयुक्त सम्झी सबै सुवर्ण खर्च गरी नेपालका प्रजाहरूका ऋण सबै तिरी नेपाल संवत् नाम गरी संवत् फिरायो । साख्वा बुद्धिमान हुनाले नेपालमा ठूलो प्रख्यात पाए र पशुपतिनाथका दक्षिण दरबाजासामु आफ्नो शिलामूर्ति बनाई स्थापना गरी उद्धार भइगए । (भाषा वंशावली, भाग २, २०२३, पृष्ठ २४, २५)  वंशावलीमा वर्णित साख्वा भन्ने व्यक्ति नै शंखधर भएको इतिहासकारहरूको भनाइ छ । प्राडा पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार दुवै हात छातीसम्म पुर्‍याई शंख समातेको, कानमा कुण्डल, कपाल जुरो बनाएको, पेट अलि ठूलो देखिएको व्यक्ति साख्वालाई व्यापारीका रूपमा चित्रण गरिएको छ । (ख्वप: पौ, २०७९ पौष १५, पृष्ठ ८–१७) यिनै व्यापारीले लखुतीर्थबाट शुभ साइतमा झिकेको बालुवा सुन भएको र त्यही सुन बेचेर सम्पूर्ण नेपाली प्रजाको ऋण तिरिदिएको देखिन्छ । यही खुशीयालीमा नेपाल संवत् चलाएको भन्ने मान्यता अहिलेसम्म पनि रहिआएको छ । वंशावलीकारले लेखेको यस भनाइमा साख्वा भन्ने व्यक्ति बडो बुद्धिमान् रहेको पुष्टि हुन आउँछ । ऋणमुक्तिको उनको यस कार्यलाई समाजसेवाको उदाहरणीय कार्यको रूपमा लिन सकिन्छ । त्यसैले आजको दिनसम्म पनि सम्पूर्ण नेपालीले उनलाई सम्झिरहेका छन् । त्यसैले शंखधर साख्वालाई राष्ट्रिय विभूतिको मान्यता दिइएको छ ।  सम्भवत: नेपाल संवत् प्रचलनमा आउँदाको अघिल्ला दिनहरूमा प्रजाले साहूबाट ऋण लिने र तिर्न नसक्दा दासदासी बनाउने प्रथा प्रचलनमा रहेकाले साहूको ऋणबाट प्रजाको मुक्तिका लागि साख्वाले सुन खर्च गरेर ऋण तिरिदिएको हुन सक्छ । दासत्वको जीवन बिताइरहेका प्रजाको कति ऋण कसलाई तिरिदिए ? त्यतिबेला सम्पूर्ण नेपाली प्रजालाई ऋण दिन सक्ने सामन्ती व्यक्ति को थिए ? यस्ता प्रश्नका विषयमा वंशावलीहरूमा पनि केही उल्लेख नगरिएकाले खोज, अनुसन्धान हुनु जरुरी छ । ऋण लिने, दिने परम्परा विगतमा पनि थियो र आज पनि चलेकै छ । जनताले आफ्नो घरव्यवहार चलाउन साहूसँग ऋण लिने गरेका छन् । सहकारी संघसंस्था, बैंक तथा वित्तीय संस्था ऋण दिने कार्यमा अगाडि देखिन थालेका छन् । व्यक्ति विशेष पनि ब्याज खाने लालसामा ऋण दिने साहूकारका रूपमा देखिएका छन् । व्यापारी, व्यवसायी, उद्योगपतिहरूले आफ्नो उद्योग, व्यवसाय चलाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने गरेका छन् । ऋणमा निश्चित प्रतिशत ब्याजसमेत तिर्नुपर्ने कानूनी मान्यता छ । राष्ट्रिय जनगणना २०७८ अनुसार गरिएको घरपरिवार सर्वेक्षणअनुसार नेपालका कुल २५ प्रतिशत जनता ऋणमा परेको देखिएको छ । देश भरका कुल ६६ लाख ६० हजार ८ सय ४९ परिवारमध्ये २५ दशमलव ५९ प्रतिशत सहकारी संस्था वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको तथ्यांक रहेको छ । प्रदेशअनुसार हेर्दा सबैभन्दा बढी मधेश प्रदेशमा २८ दशमलव ८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २९ दशमलव ९६ प्रतिशत रहेको देखिएको छ । संघसंस्था, व्यक्ति विशेष सबैलाई ऋण उठाउनुपर्ने बाध्यता रहेको छ ।  अहिले यो देश नै ऋणमा रहेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ बराबर थियो । अहिले यो ऋण २१ खर्बभन्दा माथि पुगिसकेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ लाई आधार मान्दा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्र्दा प्रतिव्यक्ति ऋण ७४ हजार ५ सय १६ रुपैयाँ पर्न जान्छ । विगतमा साख्वाले झैं देश र जनताको टाउकोमा परेको ऋण तिरी दिने व्यापारी, व्यवसायी वा कोही समाजसेवी अहिले आउनेवाला छैनन् । भाषा वंशावलीअनुसार शंखधर साख्वा भन्ने व्यक्तिले नेपाल संवत्लाई जोडतोडका साथ अगाडि बढाएको देखिन्छ । यस संवत्लाई अगाडि बढाउनमा उनको देन अतुलनीय रहेको मान्न सकिन्छ । देशको सामाजिक तथा आर्थिक परिवर्तनसँग जोडिएको यस संवत्लाई सबै नेपालीले आत्मसात् गर्दै आएका छन् । देशको नाममा प्रचलनमा ल्याइएको नेपाल संवत् सबै नेपालीको मौलिक संवत् हो । यसलाई नेपाल सरकारद्वारा राष्ट्रिय संवत्का रूपमा मान्यता प्राप्त छ । यस संवत्को प्रचलनले ऋण तिर्नुपर्छ भन्ने कुरा पनि सिकाएको छ । लेखक अधिवक्ता हुन् ।

बजेट नामक भूत

यसै हप्ता अर्थमन्त्री (अम)ले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता पेश गरे । त्यसमा पर्न पर्ने वा पार्न पर्ने सबै विषय पारे । काम भन्या यस्तै हो, जनतालाई सुनाइदिनुपर्ने कुरा पनि सबै परेका छन् । अब अमले सुशासन पनि गर्दिने रे, आर्थिक वृद्धि पनि गर्दिने रे, नयाँ रोजगारी पनि सृजना गर्दिने रे, सबै सबै गर्दिने रे । तर कसरी भन्ने चाहिँ भन्नै परेन । यत्ति भएसि के चाहियो त ? अमले भनेका कुरा जनताले पत्याएकै छन् । पहिले पहिलेका अम र प्रमले पढ्ने यस्तै खालका निबन्धहरू पनि पत्याउँदै आएकै हुन् क्यारे ! निसास्सिएका व्यवसायी र अत्तालिएका उद्यमी सबैका आँखा नयाँ बजेटमा छ । तैपनि केही त्राण पाइन्छ कि भन्ने आश छ । यही आशमा अर्थतन्त्रको अड्किएको सास छ । तर नउड्ने जेटलाई बजेट भन्छन् गाउँ खाने कथामा । २००८ सालदेखि यस्तो जेट उडाएको उडायै छन् । उहिले यो बजेट सुन्न रैतीका कान रेडियोतिर तेर्सिन्थे । आज अखवार र टिभीतिर आँखा दौडिन्छन् । तर भन्ने र सुन्ने दुवैलाई थाहा छ यो बजेटबाट केही झर्नेवाला छैन । तर पनि न खजाञ्ची अड्डाका काजीहरू बजेट फलाक्न छोड्छन्, न जनताहरू के के न होला भन्दै कान र आँखा तेस्र्याउन नै छोड्छन् ।  तर मलाई भने यो आर्थिक वृद्धिदर अर्थात् जीडीपी भन्ने सुन्नेबित्तिकै डर पो लाग्न थाल्छ भन्या ⁄ किनकि मैले बुझेको जीडीपी भनेको ‘समस्त घरेलु उत्पादन’को रूपमा भोका, नांगा र पीडित जनताका डरलाग्दा अनुहार पो देखापर्छन् त । यिनीहरू कुनै न कुनै घरेलु उत्पादनका खरीदकर्ता नै लाग्छन् । सम्पूर्ण विश्व एउटा बजार हो र सबै जीवहरू यसका उत्पादन हुन् । विकास, बजेट घाटा, राजस्व घाटा आदि शब्दहरू जब बजेट वक्तव्यको कागजबाट हवाईजहाज बनेर अखवार र टिभी च्यानलहरूमा छाउँछन्, यी शब्दहरूले सर्वसाधारण त के भूत पनि डराउँछन् होला । नेपालमा बजेट भनेको सरकारी कर्मचारीको बढेको तलब र जनतालाई थोपरिदिएको थप करबाहेक अरू थोक के नै पो हुन्छ र ? त्यसैले जब जब सरकारले नीति तथा कार्यक्रम ल्याउँछ वा बजेट पढ्छ, तब तब चारै दिशामा महँगीको गीत सुनिन थाल्छ । चुरोट, मदिरामा थप अन्तःशुल्क, गाडीमा थप भन्सार, साडीमा थप करको संसार, आदि आदि । तर जताबाट जे गरे पनि सरकारको खातापातामा केवल घाटै घाटा मात्र देखिन्छ । अनि सर्वसाधारण मानिसको जिन्दगीको घाटा एउटा ठूलै घटनाको रूपमा घटित हुन थाल्छ । सूचकांक, नेप्से, पूँजीबजार, भुक्तानी सन्तुलन, कर्पोरेट ट्याक्स, पूँजीगत लाभकर, मूल्य अभिवृद्धि कर, शोधनान्तर घाटा, रेमिट्यान्स आदि जस्ता शब्दहरू यस्ता भयंकर सुनिन्छन् कि कुनै पनि पनि अपराधी र हत्याका आरोपीलाई आफ्नो अपराध स्वीकार गराउनका लागि यातनाको रूपमा प्रयोग गर्न सकिन्छ । अझ अर्थमन्त्रीले विकास बजेट, राजस्व संकलन, आर्थिक विकास जस्ता शब्दहरू संसद्मा बोलिरहँदा यस्तो लाग्छ कि उनलाई पखाला लागिरहेको छ, तर उनी शंख फुक्न विवश छन् । शंख पनि बजाइरहनै पर्‍या छ, अनि पखाला पनि रोक्नु परिराछ । यही नै हो बजेटको जादू । बजेटमा प्रयोग हुने शब्दहरू बुझ्न र मर्नमा कुनै एउटा चैं छान्नुपर्‍यो भने म त बाजागाजाका साथ श्मशान घाट जान धेरै उचित सम्झन्छु । यो नीति तथा कार्यक्रम वा बजेटमा प्रयुक्त हुने शब्दहरू सुन्दा सुन्दा यस्तो लाग्छ कि बजेटीय संसार एकदम बुद्धिमान् छ र म चाहिँ एउटा मूर्ख, दुष्ट र अधम टाइपको जन्तु हुँ । यदि जंगलमा कुनै मान्छे भूतको फेला पर्‍यो भने त्यसबेला अर्थमन्त्रीले बोल्ने र बजेटमा प्रयोग हुने शब्दहरू उसले उच्चारण गर्दियो भने भूत आफ्ना अदृश्य खुट्टाहरू टाउकामाथि राखेर पक्कै कुलेलाम ठोक्छन् होला । त्यसैले त बजेट भन्नासाथ सर्वसाधारण पनि भूत आयो भनेर तर्सिने अवस्था छ । जस्तै, बजेटमा प्रयोग हुने इनकमको मतलब ‘पैसा इन हुन्छ कम’ भन्ने बुझिन्छ । आयकरको अर्थ यस्तो ध्वनित हुन्छ कि ‘आयो र कर गरी गरी रकम लिएर गयो ।’ तर दुवै शब्दमा जनतासँग भएको रुपियाँ पैसा जाने कुरा नै हुन्छ । अझ भनौं बजेटको मतलब करको भारले लादिएको ब्रिफकेसभित्रको किताब हुन्छ । त्यसभित्र झटपट तयार गरिएका कर्मकाण्डी, भट्किलो र जनतालाई अझ लाचार बनाउने, महँगी बढाउने सरकारी दस्ताबेज भन्ने भाव आउँछ । अझ बजेटलाई यसरी परिभाषित गर्दा उचित होला । बजेट भनेको गफैगफको पोको रहेछ  थोरै तल–वितलमै फुट्ने फोको रहेछ यो गर्छु र त्यो गर्छु भन्दा भन्दै सकिने  वास्तविकता कम धेरै मनको धोको रहेछ ।

काठमाडौं–२ का उम्मेदवार राम मणि (दास) नेपालका यस्ता छन् चुनावी एजेण्डा

काठमाडौं, २४ कार्तिक । आगामी निर्वाचनको लागि काठमाडौं–२ का प्रतिनिधिसभाका उम्मेदवार राम मणि (दास) नेपालले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । शंख चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका नेपालले आफू नेपाली युवाहरुको आवाजको प्रतिनिधित्व गर्न र सो क्षेत्रको विकासको लागि चुनावी मैदानमा खडा भएको बताएका छन् । उनले आफ्नो चाहना भनेको सांस्कृतिक समृद्धि नै […]

कानूनी व्यवस्थाभित्र बौद्धिक सम्पत्ति

बौद्धिक सम्पत्तिका विधिलाई देहायअनुसारका तीन समूहमा राखी अध्ययन गर्न सकिन्छ, औद्योगिक सम्पत्ति, प्रतिलिपि अधिकार र उदीयमान नयाँ स्वरूपहरू । पेरिस महासन्धिद्वारा व्यवस्थित गरिएका बौद्धिक सम्पत्तिहरू जस्तै पेटेन्ट, उपयोगी नमूना, औद्योगिक डिजाइन, व्यापार चिह्न, सेवा चिह्न, व्यापारिक नाम, भौगोलिक संकेत, व्यावसायिक गोपनीयता र गैरप्रतिस्पर्धी क्रियाकलाप र नियन्त्रण समेतलाई औद्योगिक सम्पत्ति भनिन्छ । यिनीहरूको कानूनी संरक्षण प्रायः दर्ताबाट गरिन्छ । वर्न महासन्धिले व्यवस्थित गरेका बौद्धिक सम्पत्तिहरूमा प्रतिलिपि अधिकार र सान्निध्य अधिकार हुन् । यी अधिकार कुनै विचारका लागि नभएर मौलिक अभिव्यक्तका लागि प्रदान गरिन्छ । यिनीहरूको कानूनी संरक्षणका लागि दर्ता अनिवार्य गरिँदैन । उदीयमान नयाँ स्वरूपहरूअन्तर्गत स्टकहोम अभिसन्धि पछि विकसित भएका बौद्धिक सम्पत्तिहरू जस्तै एकीकृत सर्किट डिजाइन, बालीनालीका नयाँ जात परम्परागत ज्ञान, लोक संस्कृति, जैवी साधन र आनुवंशिक स्रोत आदि पर्छन् । व्यापार सरोकारका मात्र होइन, राष्ट्रिय सरोकार र जन सरोकार भएका तर वर्तमान कानूनले नसमेटेका अरू धैरै बौद्धिक सम्पत्ति छन् । तिनीहरूको संरक्षणको पनि कुनै कानूनी व्यवस्था भएको छैन । बौद्धिक सम्पत्तिसम्बन्धी कानूनी व्यवस्थाको कुरा गर्ने हो भने पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ कै अभ्यासमा छौं । यो अवस्थाबाट अगाडि टसमस हुन सकेका छैनौं । यी तीन बौद्धिक सम्पत्तिकोे सवालमा हामी राजा महेन्द्रको पालामा भन्दा अगाडि बढ्न सकेका छैनौं । सोही वर्ष जारी भएको प्रतिलिपि अधिकार ऐन, २०२२ स्थानमा भने प्रतिलिपि अधिकार ऐन, २०५९ कार्यान्वयनमा रहेको छ । कानूनी व्यवस्थाको स्तर जस्तोसुकै भए पनि जेनतेन मुलुकभित्र यी दुवै ऐनको सहायताबाट पेटेन्ट, डिजाइन, टे«डमार्क र प्रतिलिपि अधिकार तथा सान्निध्य अधिकार (नेबोरिङ राइट) को मात्र कानूनी व्यवस्था छ । ट्रिप्स सम्झौताअनुसार थप कार्यान्वयन गरिनुपर्ने भौगोलिक संकेत एकीकृत सर्किट डिजाइन, बालीनालीका नयाँ जात व्यावसायिक गोपनीयताजस्ता बौद्धिक सम्पत्तिको नाम मात्रको कानूनी व्यवस्था पनि हुन सकेको छैन । व्यापार सरोकारका मात्र होइन, राष्ट्रिय सरोकार र जन सरोकार भएका तर वर्तमान कानूनले नसमेटेका अरू धेरै बौद्धिक सम्पत्ति छन् । तिनीहरूको संरक्षणको पनि कुनै कानूनी व्यवस्था भएको छैन । परम्परागत ज्ञान, लोक संस्कृति, उपयोगी नमूना, जैवी साधन र आनुवंशिक स्रोत, अस्वस्थ प्रतिस्पर्धा निवारण, डिजिटल डाटा, डोमिन नाम, इ–कमर्श, इन्टरनेट आदि । यिनीहरूमा पनि औचित्य हेरी व्यक्ति वा समुदायको बौद्धिक सम्पत्ति सुनिश्चित हुनुपर्छ । यसका लागि पनि उचित कानूनी व्यवस्था हुन आवश्यक छ । अब आजको बाँकी छलफल विद्यमान कानूनले व्यवस्था गरेका बौद्धिक सम्पत्तिको परिचयमा केन्द्रित रहेको छ । प्रतिलिपि अधिकार विभिन्न साहित्यिक, वैज्ञानिक, सांगीतिक र कलात्मक रचनाका स्रष्टाहरूलाई प्रोत्साहित गर्न निश्चित अवधिका लागि दिइने एकलौटी कानूनी अधिकार हो । यस्ता रचनाहरूमा पुस्तक पुस्तिकाहरू, कविता, कथा, उपन्यास, नाटक श्रव्यदृश्य सामग्री विभिन्न कलाकौशल, वास्तुकलाका डिजाइन, फोटोग्राफी, चित्रकला, वैज्ञानिक लेख रचना, कम्प्युटर प्रोग्राम आदि पर्छन् र तिनमा रहने एकलौटी अधिकार भनेको स्रष्टाले आप्mनो चाहनाअनुसार रचनाको उत्पादन, पुनरुत्पादन, प्रसारण, संयोजन, अनुवाद, परिमार्जनजस्ता कामहरू गर्दा स्वीकृतिविना अरूलाई त्यस्ता काम गर्न निषेध गर्न सक्ने अधिकार हो । प्रतिलिपि अधिकार कुनै विचारका लागि नभएर मौलिक अभिव्यक्तिका लागि प्रदान गरिन्छ । प्रतिलिपि अधिकार र सान्निध्य अधिकारको अन्तरराष्ट्रिय संरक्षण वर्न महासन्धिद्वारा व्यवस्थित गरिएको छ । सान्निध्य अधिकारमा प्रस्तोताको अधिकार, ध्वनि अंकन उत्पादकको अधिकार र प्रसारण संस्थाहरूको अधिकार पर्दछन् । उक्त तीनै प्रकारका अधिकारसँग सम्बद्ध कार्य गर्दा प्रतिलिपि अधिकार निहित रचनामा आधारित भएर गर्नुपर्ने भएकाले सान्निध्य अधिकार भनिएको हो । ट्रिप्स सम्झौताले यसलाई सम्बन्ध जनित अधिकार (रिलेटेड राइट) भोको छ । जस्तो प्रस्तोताको अधिकार भनेको गायक, वाद्यवादक, नृत्यकार, अभिनयकर्ता जस्ता कलाकारको अधिकार हो भने यस्तो अधिकार कुनै कविता, गीत, नाटक, संगीत लेखनजस्ता प्रतिलिपि सामग्रीसँग आबद्ध वा सम्बन्ध स्थापित भएको हुन्छ । विनाप्रस्तोताको काम बन्दैन । प्रतिलिपि अधिकारविना सान्निध्य अधिकारको स्वतन्त्र अस्तित्व दुर्लभ हुन्छ । ट्रेडमार्क (व्यापार चिह्न) विस्तृत क्षेत्र समेट्नका लागि यसलाई केवल चिह्न (मार्क) मात्र पनि भन्न सकिन्छ । चिह्न भन्नाले उद्योग ब्यापार तथा सेवा कार्यमा कुनै निश्चित विषयको पहिचानका लागि प्रयोग गरिने जुनसुकै चिह्नलाई समेत जनाउन सक्छ । ऐनले ट्रेडमार्क भन्नाले कुनै व्यावसायिक व्यक्ति वा संगठनले उत्पादन वा विक्रीवितरण गर्ने वस्तुलाई अरूको भन्दा बेग्लै रूपमा पहिचान गराउन स्पष्ट देखिने गरिने प्रयोग गरिने संकेत वा तिनको मेल सम्झनुपर्छ भनेको छ । यस्ता संकेतमा व्यक्तिगत नाम, शब्द, अक्षर, अंक, चित्र, ठोस आकृति, रंगहरू, लोगो वा यिनीहरूको कुनै संयोजन हुन सक्छ । जस्तो, नेपालको कानूनअनुसार ट्रेडमार्क शब्दले वस्तु र सेवा चिह्न दुवैलाई समेटेको छ । प्रायःजसो मुलुकमा ट्रेडमार्क भन्नाले वस्तुमा प्रयोग हुने चिह।्न जनाउँछ भने सेवा चिह्नले सेवा कार्यमा प्रयोग हुने चिह्न जनाउँछ । जस्तै टोक्ला चिया ट्रेडमार्क हो भने नेपाल दूरसञ्चारले सञ्चार सेवाका प्रयोग गर्ने शंख सेवा चिह्न हो । बौद्धिक सम्पत्ति विधामा चिह्नको कुरा गर्दा समूहचिह्न, सुपरिचित चिह्न, प्रमाण चिह्नलाई र व्यावसायिक नामलाई पनि बिर्सनु हुँदैन । ऐनले यस्ता महत्त्वपूर्ण चिह्न संरक्षणको व्यवस्था गर्न सकेको छैन । ट्रिप्सको मान्यताअनुसार कुनै पनि चिह्नलाई संरक्षणका शर्त पूरा भएसम्म सदाका लागि संरक्षण दिनुपर्छ । औद्योगिक डिजाइन भन्नाले नाङ्गो आँखाले हेरेर मूल्याङ्कन गर्न सकिने कुनै पनि समतलीय वा ठोस आकृतिको रूपमा रहेको र औद्योगिक प्रयोजन र नवीनता भएको औद्योगिक वस्तुको स्वरूप हो । त्यस्ता औद्योगिक डिजाइनहरू धेरै थरीका विधि अपनाएर तय भर गर्न सकिन्छ । जस्तै रेखाहरूको संयोजन वा रंगहरूको संयोजनबाट, चित्र कोरेर, छापेर वा फोटो खिचेर, रंग र रेखा दुवैको संयोजनबाट, कुनै सामग्री जडेर, ढालेर वा बुनेर, माटो, ढुंगा, काठ वा धातुजस्ता ठोस पदार्थमा कुँदेर आदि । ट्रिप्सको मान्यताअनुसार औद्योगिक डिजाइन संरक्षण कम्तीमा १० वर्षलाई दिनुपर्छ । हाम्रो ऐनमा बढीमा १५ वर्षको लागि संरक्षण दिन सकिने व्यवस्था छ । यसले ग्राहकहरूलाई लोभ्याएर बजारमा सामानको माग सृजना र विक्री प्रवद्र्धन गर्नमा औद्योगिक डिजाइनको ठूलो हात हुन्छ । पेटेन्ट गर्ने सामग्री नै आविष्कार हो । आविष्कार भन्नाले प्रविधिको क्षेत्रमा कुनै आविष्कारकले पत्ता लगाएको खास समस्याको व्यावहारिक समाधान दिन सक्ने प्राविधिक उपाय हो । प्रविधिक हिसाबले नवीनता, उपयोगिता, र आविष्कारको चरण भएका र कानूनी दृष्टिमा उपयुक्त रहेका आविष्कार मात्र पेटेन्ट स्वीकृति दिइने विश्वव्यापी मान्यता छ । हाम्रो ऐनमा पूर्ण रूपमा यस सिद्धान्तको पालना नभए तापनि पेटेन्ट कानून नै छैन भन्न मिल्दैन । मुलुकमा आविष्कार र पेटेन्टको विकास नभई प्रविधिको विकास हुँदैन । प्रविधिको विकासका लागि पेटेण्न्टको विशेष महत्त्व रहन्छ । ट्रिप्सको मान्यताअनुसार पेटन्ट संरक्षण कम्तीमा २० वर्षलाई दिनुपर्छ । हाम्रो ऐनमा बढीमा २१ वर्षका लागि संरक्षण दिन सकिने व्यवस्था छ । यसरी पाँच प्रकारका बौद्धिक सम्पत्तिहरू मात्र वर्तमान कानूनमा समेटिएको छ । तिनको विषयवस्तु र दायरा पनि अधुरो, अपुरो छ । अपर्याप्त रहेको हुँदा भएको कानून पनि अन्तरराष्ट्रिय स्तरको छैन । तर, बौद्धिक सम्पत्तिको संरक्षणको दायरा भने अन्तरराष्ट्रिय स्तरको हुने हुँदा ऐन कार्यान्वयनको अवस्था ज्यादै कमजोर रहेको छ । फेरि राष्ट्रिय सरोकार र जनसरोकार भएका तर वर्तमान कानूनले नसमेटेका अरू धैरै बौद्धिक सम्पत्तिहरू छन् । तिनीहरूको संरक्षणको पनि कुनै कानूनी व्यवस्था भएको छैन । त्यसैले नेपालले बौद्धिक सम्पत्ति कानूनतर्फ धेरै सुधार गर्न बाँकी छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन्  ।