कुनै पनि देशको स्वर्णकाल भन्दासाथ तत्कालीन समयमा आर्थिक सामाजिक, सांस्कृतिक, शैक्षिक, सैनिक, प्रशासनिक, आध्यात्मिक, धार्मिक र दौत्यनीति नीतिहरू उत्कृष्ट खालका थिए भन्ने बुझ्नुपर्छ । यी सबै क्षेत्रमा अरूभन्दा विशेष राम्रा नीतिहरू अंगीकार गरेर नै लिच्छवीकालका शासकहरूले नेपालमा स्वर्णकाल ल्याउन सफल भएका हुन् । त्यसैले नेपालको आधुनिक इतिहासमा लिच्छवी काललाई स्वर्णकालका रूपमा लिइन्छ । लिच्छवी कालमा दरबारमा नै शास्त्रार्थको उत्कृष्ट वातावरण सृजना गरिएको थियो जहाँ हिमालयको दुवै पट्टिका विद्वान्, दार्शनिक र विचारकहरू शास्त्रार्थ गर्न लालायित हुन्थे । सारांशमा भन्नु पर्दा नेपालले उत्तर र दक्षिणको विद्वत् वर्गलाई अन्तरक्रियाका लागि साझा मञ्च प्रदान गरेको थियो । ती विद्वान्हरू आफ्नो विधामा मात्रै दक्षता राख्दैन थिए परन्तु आफ्ना देशका शासनप्रणालीमा पनि परोक्ष प्रत्यक्ष प्रभाव राख्थे । यही सफ्टपावर लिच्छवीकालमा स्वर्ण युग ल्याउनमा धेरै हदसम्म उपयोगी भएको इतिहासकारहरूको मत छ ।
अंशुवर्माले तत्कालीन नालन्दा विश्वविद्यालयका प्रकाण्ड विद्वान् तथा व्याकरणविद्हरूलाई दरबारमा अभिभावकत्व प्रदान गरेबाट यस विषयको पुष्टि हुन्छ । विशेषगरी बौद्धमतको अन्तरक्रियाको मिलनविन्दु तत्कालीन नेपाल नै थियो र हिमालयको उत्तरतर्फ बुद्धधर्मको विस्तारमा नेपालमा आधारित प्राज्ञिक शास्त्रार्थको ठूलो योगदान रहेको पाइन्छ ।
प्रजातान्त्रिक नेपालमा ढिलै भए तापनि सफ्टपावरमार्फत मुलुकको दीर्घकालीन हित प्रवर्द्धन गर्ने पक्षलाई महत्त्व दिन थालिएको छ । परराष्ट्र नीतिमा यस पक्षलाई पुष्टि गर्नेगरी केही व्यवस्थाहरू गरिएका छन् । नेपालको परम्परागत विशिष्टताहरूको प्रचारप्रसार गर्ने, लुम्बिनी र पाशुपत क्षेत्रलाई बौद्ध र हिन्दू दर्शन र सभ्यताको एक प्रमुख केन्द्रका रूपमा प्रवर्द्धन गर्ने, नेपालको विशिष्ट प्राचीन पहिचानलाई विश्वसामु उजागर गर्ने, नेपाललाई पूर्वीय दर्शनको गन्तव्य स्थलको रूपमा पहिचान दिलाउने तथा शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सम्बन्ध फराकिलो र सुदृढ बनाउने विषयहरूमा नीतिगत सम्बोधन सकारात्मक पक्ष हो ।
यी नीतिगत व्यवस्थाहरूलाई कार्यान्वयनमैत्री बनाउनु केही संस्थागत व्यवस्थाहरू गर्नुपर्ने हुन्छ । यी पक्षको पहिलो प्रस्थान विन्दु भनेको नेपाललाई पूर्वीय मान्यताहरूको मिलनविन्दुको स्थल बनाउने सोचको जग हाल्नु नै हो । यसका लागि प्रारम्भमा पूर्वीय सभ्यताका विविध पक्षहरू (सभ्यता, धर्म, संस्कृति, विधा, शास्त्र, ज्ञान, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, सांस्कृतिक सम्पदा, परम्परा र वेशभूषा) का बारेमा अन्तरक्रियाका लागि मञ्च उपलब्ध हुने व्यवस्था गरिनुपर्छ । सगरमाथा संवाद यी तमाम क्रियाकलाप सञ्चालनका लागि उपयुुक्त मञ्च बन्न सक्ने देखिन्छ । सगरमाथा संवादअन्तर्गत पूर्वीय सभ्यताका उपर्युक्त विविध पक्षहरूमा पूर्वीय सभ्यतासँग सरोकार पक्षहरूको सहभागितामा नियमित रूपमा शास्त्रार्थ र प्रवचनहरू सञ्चालन हुनुपर्छ । विद्वान्हरूका दुईओटा आवश्यकता (सम्मान र भरणपोषण)हरूलाई सम्बोधन गर्नेगरी सगरमाथा संवादलाई सक्रिय पार्न सकेको खण्डमा निश्चय नै यो नेपालको सप्mटपावरमार्पmत प्रभाव विस्तारको उपयुक्त माध्यम बन्न सक्छ ।
नेपाल संस्कृत विश्वविद्यालय विश्वभरका संस्कृतसम्बन्धी क्रियाकलापहरूको केन्द्रका रूपमा विकास गर्न सकिने देखिन्छ । यस्तै, विश्वभरका बौद्ध दर्शन र शास्त्रहरूको अध्ययन र अध्यापनको केन्द्रका रूपमा बौद्ध विश्वविद्यालयको आधारशिला पनि देशभित्र उपलब्ध छ । विश्वभरिका नेपाली भाषीहरूलाई एकआपसमा भावनात्मक रूपमा जोड्ने गरी नेपाली भाषा केन्द्रीय विभागलाई सक्रिय तुल्याउन सकिन्छ । नेपाललाई पूर्वीय कला र संस्कृतिको मिलनविन्दुका रूपमा विकास गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विषयगत प्रज्ञा प्रतिष्ठानहरूलाई परिचालन गर्न सक्ने देखिन्छ ।
नेपालमा मूल भएका भाषाहरूमा पनि सोहीअनुरूप व्यवस्था गर्न सकिन्छ ताकि ती सबै भाषाको प्रशासन पनि नेपालमा स्थित नेपाली केन्द्रहरूले नै सञ्चालन गर्न सकून् ।
नेपाललाई शाक्त, शैव, तन्त्र, मष्टो बन्डाली, किरात, बोनलगायत पन्थहरूको केन्द्रका रूपमा विकास गर्न सम्बद्ध पीठ, मन्दिर र मठअन्तर्गत आध्यात्मिक क्रियाकलापहरूमार्फत विश्वव्यापी सञ्जाल तयार गर्न सकिन्छ ।
हिन्दू धर्मको व्यवस्थापन अर्को सम्भावना भएको क्षेत्र हो । यसका लागि छुट्टै प्रतिष्ठान, न्यास आदिको व्यवस्था गरी विश्वव्यापी सञ्जाल स्थापना गर्न सकिन्छ । हिन्दू धर्म सम्बद्ध सबै प्रकारका क्रियाकलापहरू वेद, पुराण, कर्मकाण्ड अध्ययन, अध्यापन, धार्मिक अनुष्ठानको विधि पद्धतिको निर्धारण र निरूपणलगायत क्षेत्राधिकार रहने यस प्रबन्धले नेपाललाई यस क्षेत्रको प्राधिकारका रूपमा विकास गर्न सक्ने देखिन्छ । संस्कृत अध्ययन विशुद्ध प्राज्ञिक विधाका पृथक् क्षेत्रका रूपमा विकास गर्दै हिन्दू धर्म सम्बद्ध क्रियाकलापहरू अलग्गै न्यासका रूपमा सञ्चालन गरिँदा यसले उद्देश्य र लक्ष्यहरूमा थप स्पष्टताहरू ल्याई संस्कृत भाषा र हिन्दू धर्मको विश्वव्यापी रूपमा समानान्तर रूपमा निर्विवाद विकास हुने देखिन्छ ।
विद्वानहरूका दुईओटा आवश्यकता (सम्मान र भरणपोषण)हरूलाई सम्बोधन गर्नेगरी सगरमाथा संवादलाई सक्रिय पार्न सकेको खण्डमा निश्चय नै यो नेपालको सफ्टपावरमार्फत प्रभाव विस्तारको उपयुक्त माध्यम बन्न सक्छ ।
नेपाली मौलिक पोशाकहरूको प्रवर्द्धनमा पनि सोहीअनुरूपका संस्थागत व्यवस्थाहरू गर्न सकिन्छ । यी पोशाकको विश्वव्यापीकरणले नेपालमा र नेपाल बाहिर पोशाकसम्बन्धी एउटा सञ्जाल तयार हुने देखिन्छ ।
यस्ता संस्थाहरूको निरन्रताका लागि आवश्यक पर्ने साधनस्रोतका लागि विश्वव्यापी रूपमा तीनओटा प्रचलनहरू (दान, सरकारी सहयोग र शुल्क) विद्यमान छन् । नेपालले पनि यस्ता संस्थाहरू र ती संस्थाका क्रियाकलापहरू उपर्युक्त तीनओटै आडमा सञ्चालन गर्ने नीति अंगीकार गर्नुपर्छ । यसो गर्न सकेको खण्डमा उपर्युक्त क्रियाकलापहरू सञ्चालन गर्न साधनस्रोतको पनि अभाव हुने देखिँदैन । सम्बद्ध भाषाका लागि सम्बद्ध भाषीहरू, सम्बद्ध धर्मका लागि सम्बद्ध धर्मावलम्बीहरू तथा इच्छुक दाताका व्यक्तिगत न्यासहरूको स्थापनामार्फत साधनस्रोतको यथोचित व्यवस्था गर्न सकिने सम्भावना छ । संस्थाहरूका सेवाहरूमार्फत पनि नियमित आयआर्जनको व्यवस्था गर्न सकिने देखिन्छ । जस्तै नेपाली भाषाको विकासका लागि नेपाली भाषाको व्याकरण र शब्दकोशको विक्रीबाट हुने आय संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण स्रोतका रूपमा रहन सक्छ । कुनै दाताले नेपाली शब्दकोशको पुनर्लेखन र संशोधनजस्ता क्रियाकलाप सञ्चालन गर्न अक्षयकोष नै स्थापना गर्न सक्छन् । संस्कृत भाषाको कुनै विषयको अध्ययन र अध्यापनका लागि यस्तै अक्षयकोषहरूको व्यवस्था गरी दिन दाताहरू अगाडि आउन सक्छन् । अक्सफोर्ड विश्वविद्यालयमा स्थापित बोडेन चेयर अफ संस्कृत यसको उदाहरण हो । यसका लागि चाहिने अक्षय कोषको व्यवस्था तत्कालीन इस्ट इन्डिया कम्पनीका लेप्mिटनेन्ट कर्नेल जोसेफ बोडेनले गरेका थिए । सफ्टपावरको क्षेत्रमा क्रियाशील संस्थाहरूको आर्थिक स्रोतको यो मोडल विश्वव्यापी रूपमा प्रचलित छ ।
सारमा भन्नुपर्दा उपर्युक्त क्षेत्रहरूको परिचालनमा साधनस्रोतको व्यवस्था त्यत्ति अहम् प्रश्न होइन । आजको सर्वाधिक महत्त्वको विषय भनेको ती संस्था उद्देश्यबमोजिम सञ्चालन गर्न सक्ने क्षमतावान र इमानदार जनशक्तिको हो । पश्चिमले हरेक क्षेत्रमा गरेको आश्चर्यचकित विकासका पछाडि संस्थाको नेतृत्वमा योग्य इमानदारको चयन, साधनस्रोतको पर्याप्त व्यवस्था र राजनीतिक अहस्तक्षेपयुक्त निरन्तरता नै प्रमुख कारणहरू हुन् । यी तीनओटा मान्यतालाई अंगीकार गर्दै नेपाललाई पूर्वीय ज्ञानको केन्द्रका रूपमा विकास गर्ने हो भने लिच्छवीकाल जस्तै नेपालमा अर्को स्वर्णकाल आउन सक्छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।