नेपालमा एक अर्ब ३ करोड रुपैयाँको लगानीमा थप दश औषधि उद्योग स्थापना हुने भएका छन् । गत आर्थिक वर्षमा औषधि विभागले दश औषधि उद्योगलाई उत्पादनको अनुज्ञापत्र दिएको छ । औषधि उत्पादनको अनुमति पाएका उद्योगहरूमध्ये तीन आयुर्वेदिक र सात एलोप्याथिक छन् । गत आर्थिक वर्षमा विभागबाट अनुज्ञापत्र लिने उद्योगको संख्या अघिल्लो वर्षको तुलनामा घटेका छ । आर्थिक वर्ष २०६५/६६ मा विभागबाट २४ कम्पनीले औषधि उद्योग स्थापनाको अनुमति लिएका थिए ।
त्यसमध्ये ९१ करोड रुपैयाँको बृहद लगानीमा स्थापित आर्या पेटेन्ट्सले औषधि उत्पादन सुरु गरिसकेको छ ।
विभागबाट अनुमति लिनेमध्ये सोपान फर्मास्युटिकल्स प्रालिले ४१ करोड ५१ लाख रुपैयाँको लागतमा नवलपरासीमा औषधि उद्योग स्थापना गर्ने भएको छ । फर्मास्युटिकल्सका सञ्चालक कमल पौडेलका अनुसार उद्योग विभागबाट स्थापनाको स्वीकृति हुने बित्तिकै कम्पनीले उद्योग स्थापनाको काम शुरु गर्नेछ । त्यस्तै, ललितपुरमा स्थापना हुने जेनिथ रिभेनिज प्रालिले पनि पूर्वधार निर्माणको तयारी गरेको छ । चितवनको ग्लासियर फर्मास्युटिकल्स प्रालिले भने पूर्वाधार निर्माणको काम सुरु भइसकेको बताएको छ । उद्योगले डेढ वर्षभित्र आफ्ना उत्पादनहरू बजारमा ल्याउने तयारी गरेको सञ्चालक शेखर श्रेष्ठले बताए । ललितपुरमा स्थापना हुने रोडोडेन्ड्रम ब्रोटेक प्रालिले भने ओआरएस लगायतका पाउडरको निर्माण गर्ने सञ्चालक अरुणकुमार चौधरीले जानकारी दिए ।
वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३